काठमाडौं। राष्ट्रिय गौरवको ‘भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को म्याद एक वर्ष थपिएको छ। गत साउनमा आयोजनाको म्याद सकिएपछि एक वर्ष बढी अर्थात ३ सय ७० दिन म्याद थप भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं सूचना अधिकारी पवन अधिकारी बताउँछन्।
उनका अनुसार कोरोना संक्रमणका बेला निर्माण कार्य प्रभावित भएकाले एक वर्ष म्याद थप भएको हो। म्याद थपिएसँगै आयोजनाको म्याद २०८१ साउन पुगेको छ। हालसम्मको म्याद आधार मान्ने हो भने आयोजनाले अबको नौ महिनामा ३५ प्रतिशत काम गर्नुपर्छ।
किनकि, हालसम्म आयोजनाको भौतिक प्रगति ६५ प्रतिशतमात्रै छ। तर, सूचना अधिकारी अधिकारीले नौ महिनामा सबै काम नसकिने बताए। ‘अहिले कोभिडमा काम प्रभावित हुँदाको समय आधार मानेर म्याद थपिएको हो, त्यसैले बाँकी काम सम्पन्न गर्न फेरि म्याद थप्नुपर्छ,’ अधिकारीले क्यापिटल नेपालसँग भने।
२०६८ भदौमा आयोजना कार्यालय स्थापना भएको थियो। तर, निर्माण कार्य भने २०७०/७१ बाट सुरु भयो। निर्माण सुरु गर्दा सरकारले २०७९/८० मा भेरी–बबईको काम सक्ने योजना बनाए पनि लक्ष्यअनुसार काम हुन नसक्दा एक वर्ष म्याद थपिएको छ। साथै, आयोजना सम्पन्न हुने समय अनिश्चित छ।
आयोजनाको कुल लागत यसअघि ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ थियो। गत जेठको एक मन्त्रिपरिषद बैठकले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट एउटा पाटो छुट्ट्याएर छुट्टै कार्यालय गठन गरेको छ।
बहुउद्देश्यीय आयोजनाबाट ‘भेरी करिडोर सिँचाइ विकास आयोजना’ का रूपमा ३ अर्ब बढी बजेट भएको कार्यालय सञ्चालनमा छ। उक्त कार्यालयले आयोजनाको तटीय क्षेत्रका बासिन्दालाई परेका समस्या कुलो बनाउने, सुक्खा ठाउँमा विद्युत प्रयोग गरेर सिँचाइ पुर्याउनेलगायत सामाजिक काम गर्ने अधिकारीको भनाइ छ।
भेरी करिडोर सिँचाइ विकास आयोजनाले ३ अर्ब बढी बजेट लगेपछि डाइभर्सनसँग ३३ अर्ब १९ करोड रुपैयाँ बाँकी छ। जसमध्ये हालसम्म १५ अर्ब खर्च भएको उनको भनाइ छ।
आयोजनाका लागि चालू आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बर्खा र चाडबाड सकिएर निर्माण कार्य भर्खरै सुरु हुन लागेकाले चालू आवमा बजेट माग्नुपर्ने वा नपर्ने विषयमा अहिले नै भन्न नसकिने अधिकारी बताउँछन्।
भेरी–बबईले कृषिकलाई सिँचाइ सुविधा पुर्याएर ४६ मेगावाट विद्युत पनि उत्पादन गर्ने छ। सोहीअनुसार आयोजनाले विभिन्न कामका लागि गरेको ठेक्काको म्याद अझै दुई वर्ष छ। ठेक्काको म्याद दुई वर्ष र समग्र आयोजनाको म्याद एक वर्षमात्रै हुँदा फेरि म्याद थप गर्नुपर्ने बाध्यता आयोजनालाई छ।
आयोजनाको म्याद सकिने तर त्यसभित्रका ठेक्काको म्याद बाँकी रहँदा कसरी काम हुन्छ भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘यो विषयमा आयोजना कार्यालय जानकार छ र म्याद थपका लागि छलफल हुँदैछ। तर, कहिलेसम्म पुनः म्याद थप हुन्छ भन्ने यकिन छैन।’
विद्युतको काम ४५ प्रतिशत
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट ४६ मेगावाट विद्युत उत्पादन हुनेछ। नेपालका सिँचाइ आयोजनाबाट उत्पादन हुन लागेको यो सबैभन्दा ठूलो परिणामको विद्युत हो।
हाल विद्युतको बाँध र पावर हाउसतर्फ ४५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ। त्यस्तै हाइड्रो मेकानिकलको करिब ३० प्रतिशत र इलेक्ट्रोमेकानिकलको करिब १५ प्रतिशत काम भएको जनाइएको छ।
आयोजनाबाट सुर्खेत, बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुग्ने छ। सिँचाइ सुविधा पुगेसँगै कृषि उत्पादन बढेर देशको आर्थिक पक्षमा सकारात्मक प्रभाव पर्ने अपेक्षा आयोजनाको छ।
कृषि उत्पादन बढ्दा वार्षिक ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष र विद्युतबाट ४ अर्ब ३ करोड रुपैयाँ (१०.५० रुपैयाँ प्रतियुनिटका दरमा) प्रत्यक्ष गरी वार्षिक ७ अर्ब १३ करोड रुपैयाँ फाइदा हुने अनुमान छ।
आयोजनामा नेपालमै पहिलोपटक सुरुङ खन्न अमेरिकी प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) प्रयोग गरिएको थियो। आयोजनाको सुरुङ १२.२ किलोमिटर लामो र ४.२ मिटर गोलाइको छ।
भेरी–बबईमा टिबिएम मेसिन प्रयोग सफल भएपछि राष्ट्रिय गौरवकै सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न पनि सोही मेसिन प्रयोग गरिएको छ। टिबिएम मेसिन प्रयोग नेपालमा सफल पनि मानिएको छ।
सुरुङमार्फत भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घनमिटरले बबई नदीमा खसाल्ने तयारी छ। सुरुङ खन्ने काम चाइना इन्जिनियरिङ कम्पनी (कोभेक) ले १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार रुपैयाँमा लागतमा २०७८ चैत २५ मा सम्पन्न गरेको थियो।
आयोजनाले सुर्खेत भेरीगंगा नगरपालिका चिप्लेस्थित भेरी नदीमा करिब १ सय १४ मिटर लामो ब्यारेजसहित ‘डिसेन्डिङ बेसिन’ र ‘टनेल पोर्टल’ निर्माण गर्ने छ।
नेपालमा सिँचाइ विभागबाट पहिलोपटक एउटा नदीको पानी अर्को नदीमा खसाल्ने (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाका रूपमा भेरी–बबई डाइभर्सन निर्माण भएको हो। त्यस्तै सुनकोसी–मरिण डाइभर्सन पनि सोही प्रकृतिको आयोजनाका रूपमा निर्माणाधीन छ।