काठमाडौं। मोबाइल बैंकिङ प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइएको हो।
तथ्यांकअनुसार असोजसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या २ करोड २२ लाख ८४ हजार २ सय २२ पुगेको छ। यस्तै भदौसम्म यस्तो प्रयोगकर्ता संख्या २ करोड १९ लाख ५७ हजार ६ सय ९२ थियो।
गत आर्थिक वर्ष २०७९/८० को असोजसम्म भने यो संख्या १ करोड ९१ लाख २ हजार ६ सय ५२ मात्रै थियो। यसरी हेर्दा यो एक वर्षमा ३१ लाख ८१ हजार ५ सय ७० नयाँ प्रयोगकर्ता थपिएको देखिन्छ।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङबाट हुने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। यस वर्ष असोजमा ३ करोड २७ लाख ७२ हजार ८ सय ३९ पटकमा कुल २ खर्ब ७७ अर्ब ८२ करोड रुपैयाँबराबर कारोबार भएको छ।
यस्तै भदौमा भने ३ करोड ४४ लाख ९३ हजार २ सय ५२ पटक गरी कुल २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँबराबर मोबाइल बैंकिङबाट कारोबार भएको थियो।
अघिल्लो वर्ष असोजमा भने २ करोड ९ लाख ९ हजार ३ सय ६१ पटकमा कुल १ खर्ब ६२ अर्ब १३ करोड रुपैयाँबराबर मात्रै कारोबार भएको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल बैंकिङबाट भएको कारोबार करिब दोब्बरले वृद्धि भएको छ।
मोबाइल बैंकिङ प्रयोगकर्ताका साथमा वालेट प्रयोकर्ताको संख्या पनि वृद्धि भएको छ। तथ्यांकअनुसार यस वर्ष असोजसम्मको वालेट प्रयोगकर्ता संख्या २ करोड २ लाख ७६ हजार १ सय ६१ छन्। अघिल्लो महिना भदौसम्म १ करोड ९९ लाख २२ हजार ४ सय ४३ प्रयोगकर्ता थिए।
तर, अघिल्लो वर्ष असोजसम्म भने वालेट प्रयोकर्ता संख्या १ करोड ४८ लाख ३९ हजार ८ सय २० थियो। यस्तै वालेटबाट हुने गरेको कारोबार रकममा पनि वृद्धि भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस वर्ष असोजमा २ करोड २६ लाख २२ हजार १ सय ७० पटकमा कुल २२ अर्ब ७९ करोड रुपैयाँबराबर कारोबार भएको छ।
यस्तै अघिल्लो महिना भदौमा वालेटबाट २ करोड २४ लाख १४ हजार ५ सय ७६ पटकमा कुल २१ अर्ब ९ करोडको कारोबार भएको थियो। तर, गत आर्थिक वर्ष असोजमा भने १ करोड ५७ लाख ३ हजार ४२ पटकमा कुल १६ अर्ब ५६ करोड रुपैयाँबराबर कारोबार भएको थियो।
तथ्यांकअनुसार यस वर्ष असोजमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ८० करोड, क्युआरबाट ३६ अर्ब २१ करोड र रियल टाइम गेट सेटलमेन्ट (आरटिजिएस) बाट सबैभन्दा बढी २७ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।