काठमाडौं। आर्थिक मन्दी चपेटामा परेका इन्टरनेट सेवा प्रदायक (आइएसपी) अझै पनि समस्यामा छन्।
मन्दीका कारण ठूलो संख्यामा ग्राहकले इन्टरनेट नवीकरण गर्न छाडेपछि र नयाँ ग्राहक थपिने क्रममा पनि ब्रेक लागेसँगै सेवा प्रदायकको व्यवसायमा लामो समयदेखि सुस्तता छाएको छ।
यो सुस्तता अन्त्य गर्दै व्यवसाय चलायमान बनाउन सेवा प्रदायकले दसैंतिहार लक्ष्यित आकर्षक योजना घोषणा गरेका थिए।
नेपालीको प्रमुख चाडपर्वका रूपमा रहेका दसैं, तिहार र छठ लक्ष्यि गरी अफर घोषणा गर्नु केही समयअघि सेवा प्रदायक कम्पनीबीच प्रतिस्पर्धा नै चल्यो।
यी कम्पनीले नयाँ इन्टरनेट जडान गर्न चाहने र नवीकरण गर्न चाहनेका लागि विशेष छुटसहित अफर योजना ल्याएका थिए।
तर, यस्ता योजना र अफरले पनि इन्टरनेट नवीकरण गर्न र नयाँ इन्टरनेट जडान गर्नेतर्फ ग्राहक आकर्षित गर्न नसकेको सेवा प्रदायकले जानकारी दिएका छन्।
चाडपर्व लक्ष्यित योजनाले केही नयाँ ग्राहक थपिने र इन्टरनेट नवीकरण नगरेका ग्राहकले नवीकरण गर्ने अपेक्षा लिए पनि त्यस्तो अवस्था नबनेको सुबिसु केबुल नेटका अध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुली बताउँछन्।
‘म्याद सकिएर नवीकरण नगरेकाले नवीकरण गर्ने र छुट दिएपछि नयाँ ग्राहक पनि थपिने हाम्रो अनुमान थियो,’ अध्यक्ष पराजुलीले क्यापिटल नेपालसँग भने, ‘तर, मन्दीको असरले यस वर्ष सोचेजस्तो भएन।’
पराजुलीका अनुसार पहिले इन्टरनेट जडान भएका २५ देखि ३० प्रतिशत व्यापारिक सटर हाल बन्द भएकाले ती पुनः सञ्चालनमा नआएसम्म ग्राहक संख्या पहिलेको अवस्थामा पुग्दैन।
मानिसले घरमा र कोठामा प्रयोग गर्ने इन्टरनेट पनि आफ्नो आम्दानीका स्रोत गुमेसँगै प्रयोग गर्न छाडेकाले त्यो अवस्था सुधार हुनुपर्ने पराजुलीले बताए।
दसैंतिहार अफरमा पनि पुराना ग्राहकले सेवा नवीकरण नगर्ने र नयाँ ग्राहक नथपिने क्रमले इन्टरनेट सेवा प्रदायकको व्यवसायले गति लिन समय लाग्ने देखिएको उनको भनाइ छ।
केही समय अगाडि नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभरि ३५ प्रतिशत व्यवसायीले सटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको थियो। उक्त तथ्यांकमा काठमाडौं उपत्यकामा मात्रै १५ देखि २० प्रतिशत सटर खाली रहेको उल्लेख थियो।
ती सटर बन्द भएसँगै त्यहाँ सञ्चालनमा रहेका इन्टरनेट नवीकरण भएका छैनन्। साथै, व्यवसाय खोसिएसँगै मानिसले घरमा जडान गरेको इन्टरनेटसमेत नवीकरण नगरेको अवस्था छ।
‘लागतको तुलनामा नेपालमा इन्टरनेट धेरै सस्तो भइसकेको छ। त्यसैले यस वर्ष हामीले दसैंतिहार भनेर अफर ल्याएनौं,’ इस्ट लिंकका अध्यक्ष पुष्करसिंह बडालले भने, ‘यद्यपि, यस्ता चाडपर्व लक्ष्यित अफर ल्याएका सेवाप्रदायकमा पनि ग्राहक थपिने र पुराना ग्राहकले नवीकरण गर्ने गरेको खासै पाइएको छैन।’
उनले इन्टरनेट नवीकरण नगर्ने ग्राहक संख्या बढ्दै गएको, नयाँ ग्राहक पनि नथपिएको र लागतभन्दा धेरै सस्तोमा इन्टरनेट प्रदान गर्ने कार्यले सेवा प्रदायक अप्ठ्यारोमा परेको बताए।
इन्टरनेट सेवा प्रदायकले घोषणा गरेका चाडपर्व लक्ष्यित योजना
सुबिसु
सुबिसुले आफ्ना ग्राहकलाई ८० एमबिपिएस इन्टरनेट चार महिनाको प्याकेज ५ हजार र १२ महिनाको ११ हजार रुपैयाँमा उपलब्ध गराउने योजना ल्याएको थियो। यस्तै २ सय एमबिपिएस १२ महिनाको इन्टरनेट प्याकेज १३ हजार र ३ सय एमबिपिएस १२ महिनाको १७ हजार रुपैयाँमा दिने सुबिसुले जनाएको थियो।
डिसहोम
डिसहोमले चाडपर्व लक्ष्यित गर्दै ५० एमबिपिएसलाई १ सय एमबिपिएसमा बढोत्तरी गर्ने जनाएको थियो। यसको मूल्य वार्षिक ७ हजार ७ सय ९८ रुपैयाँ तोकिएको थियो। यसले १ सय एमबिपिएसलाई २ सय एमबिपिएस बनाउँदै वार्षिक ९ हजार ६ सय ९८ रुपैयाँमा उपलब्ध गराउने बताएको थियो। १ सय ५० एमबिपिएसलाई ३ सय एमबिपिएसमा बढोत्तरी गर्दै १० हजार ५ सय ७४ रुपैयाँमा दिने कम्पनीले योजना ल्याएको थियो।
वर्ल्डलिंक
वर्ल्डलिंकले पनि चाडपर्व लक्ष्यित योजना सार्वजनिक गरेको थियो। जसमा वर्ल्डलिंकको तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद गर्ने वा पुराना ग्राहकले भने रिन्यु गर्नुपर्ने थियो। अफरअन्तर्गत आफ्ना ग्राहकलाई सामसङका उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गर्ने योजना थियो। कम्पनीले ३७ हजार ८ सय बजार मूल्य रहेको २ सय ३० लिटर क्षमताको सामसङ सिंगल डोर रेफ्रिजिरेटरमा ६ हजार ३ सय रुपैयाँ छुट दिने योजना पनि सार्वजनिक गरेको थियो। मोबाइलतर्फ ३१ हजार ९ सय ९९ रुपैयाँको आठ जिबी ¥याम तथा १ सय २८ जिबी स्टोरेज भएको सामसङ ए२४ एलटिई स्मार्टफोनमा ३ हजार ९ सय ९९ रुपैयाँ छुटपछि २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
क्लासिक टेक
क्लासिक टेकको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकले २ सय एमबिपिएस ९ सय ७ रुपैयाँ र ३ सय एमबिपिएस १ हजार १ सय ७७ रुपैयाँमा पाउने योजना ल्याएको थियो। अफरअन्तर्गत जेडटिईको ५ गिगाहर्ज राउटर र स्मार्ट सेटटप बक्स निःशुल्क पाउने सुविधा थियो। कम्पनीले आफ्ना विद्यमान प्रयोगकर्तालाई समेत दसैंलक्ष्यित अफर ल्याएको थियो। त्यस्ता ग्राहकले २ सय ५० एमबिपिएसको वार्षिक नवीकरणमा ५ सय एमबिपिएस इन्टरनेट पाउने कम्पनीले जनाएको थियो। यस्तै १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सक्ने थिए।
सिजी नेट
सिजी नेटले ह्याट्रिक दक्षिणा अफर ल्याएको थियो। सिजी नेटले ट्रिपल स्पिड, क्यासब्याक र टिभीमा ५० प्रतिशत छुट दिने योजना थियो। कम्पनीले दैनिक क्यास टपअप, साप्ताहिक स्मार्टवाच र बम्पर उपहारमा ४३ इन्चको स्मार्ट टिभी जित्न सक्ने अफर ल्याएको जनाएको थियो। सिजी नेटले बम्पर विजेतालाई टिभीसहित इन्टरनेट दिने बताएको थियो।
नेपाल टेलिकम
नेपाल टेलिकमले एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड १ सय ५० प्रतिशतसम्म बढोत्तरी गरिने जनाएको थियो। यस्तै ४० एमबिपिएस गतिको सुविधा प्रयोग गरिरहेकाले सोही मूल्यमा १ सय एमबिपिएस र ८० एमबिपिएस सेवा लिइरहेकालाई पुरानै दरमा १ सय ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको थियो। साथै, हाल उपलब्ध फेयर युजेज पोलिसी सीमासमेत बढोत्तरी गरिएको थियो।
भायनेट
भायनेटले आफ्ना नयाँ र पुराना दुवै ग्राहकलाई दसैं लक्ष्यित अफर सार्वजनिक गरेको थियो। कम्पनीले तीन महिना वा १२ महिनाको इन्टरनेट जडान गर्ने वा नवीकरण गर्ने पुराना ग्राहकका लागि अफर ल्याएको हो। कम्पनीले १ सय २५ एमबिपिएस इन्टरनेट ८ हजार ४ सय, २ सय एमबिपिएसको १० हजार ८ सय र ३ सय एमबिपिएस १३ हजार २ सय रुपैयाँमा उपलब्ध हुने जनाएको थियो। भायनेटको इन्टरनेट खरिदमा हिमस्टार टिभी, अल्टिमा इयरबड, हिमस्टार रेफ्रिजिरेटर, वासिङ मेसिनलगायतमा छुट हुने बताएको थियो। तीन महिना वा १२ महिनाको भायनेटको इन्टरनेट खरिदमा हिमस्टार ४३ इन्चको टिभी २७ हजार ५ सय रुपैयाँमा र ५५ इन्चको ५४ हजार रुपैयाँमा उपलब्ध हुने योजना पनि सार्वजनिक गरेको थियो।