काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका छन्। बुधबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन (इफाप्का) को ४६औं सम्मेलने उद्घाटन कार्यक्रम सिंहले नेपालमा प्रचुर सम्भावना रहेको बताउँदै लगानी वृद्धि गर्न आग्रह गरेका हुन्।
नेपालको पश्चिमी क्षेत्रमा कात्तिकमा गएको विनाशकारी भूकम्पमा परेकालाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको अध्यक्ष सिंहले बताए। महासंघका सल्लाहकार तथा इफाप्का महासचिव वीरेन्द्रराज पाण्डेले इफाप्कालाई गतिशील संगठन बनाउन सदस्य राष्ट्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताए।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधार क्षेत्रमा लागेकाले विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्।
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधार विकाससँगै यससँग सम्बन्धित् अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताए।
इफाप्कामा आबद्ध देश बढी मात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा संगठनले मौसम परिवर्तनको अजेन्डालाई प्राथमिकतासाथ उठान गर्नुपर्ने राष्ट्रपति पौडेलेको भनाइ छ।
संयुक्त राष्ट्र संघका महासचिवले नेपाल भ्रमणमा पनि मौसम परिवर्तनको अजेन्डालाई उच्च महत्व दिएका कारण सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने राष्ट्रपति पौडेलले बताए।
‘पृथ्वी रहेमात्र हामी रहन्छौं’ भन्ने मान्यता आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ। पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने पनि बताए। साथै, संकटग्रस्त अर्थतन्त्र सही ट्र्याकमा ल्याउन निर्माण व्यवसायीहरूबाट आफूले सकारात्मक भूमिकाको अपेक्षा राखेको बताए।
सम्मेलन उद्घाटनमा देश–विदेशका पूर्वाधारविदहरूको लेख रचना समेटिएको स्मारिका सार्वजनिक गरिएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण उद्योगसँग सम्बन्धित् समसामयिक विषयमा ४६औं इफाप्का सम्मेलनमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे। सदस्य राष्ट्रबीचको सम्बन्ध विस्तारमा इफाप्काको भूमिका प्रसंशनीय रहेको मन्त्री ज्वालाको भनाइ थियो।
कार्यक्रममा इफाप्काको परिचय झल्काउने भिडियो, नेपालको मौलिक संस्कृति झल्काउने झाँकीलगायत प्रदर्शनी गरिएको थियो। साथै, इफाप्का सदस्य मुलुकका चिफ अफ डेलिगेटहरू आ-आफ्नो संस्थाको झण्डासहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए।
शनिबारसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीसहित पूर्वाधारविद तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी हुने महासंघ महासचिव रोशन दाहालले जानकारी दिए।
सम्मेलनकै अवसरमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो। दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित सुरु सम्मेलनमा विदेशका २ सय ४० सहित ४ सय ५० भन्दा बढी सहभागी छन्। यसअघि नेपालले सन् १९९९ मा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो।