महेन्द्रनगर। कञ्चनपुरदेखि दार्चुला उत्तरी नाका जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटान आदेश नआउँदा समस्या भएको छ।
योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नुअघि रूख कटान आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्याकेजको कटान आदेश अझै आइसकेको छैन। कञ्चनपुर ब्रह्मदेवदेखि दार्चुला उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म ४ सय १३ किलोमिटर सडक करिडोर १३ वर्षदेखि निर्माणाधीन छ।
पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रूख कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भएको हो।
सडक आयोजनाअन्तर्गत कञ्चनपुर ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य बिन्दुमा ट्र्याक खोल्न ५ करोड ५० लाखको ठेक्का सम्झौता भएको थियो। उक्त प्याकेजको ट्र्याक खोल्ने काम सकिएको छ।
महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेवदेखि डडेल्धुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिएको जानकारी दिए।
‘करिडोरअन्तर्गत चारवटै जिल्लामा गरेर १९ हजार ६६ रूख÷पोल पर्छन्,’ जोशीले भने, ‘डडेल्धुरामा ३८ देखि ६९ किलोमिटरभित्र पर्ने ३१ किलोमिटरमा पर्ने रूख कटानको आदेश आइसकेको छैन।’
लामो समय रूख कटानको आदेश नआउँदा करिडोरको ट्र्याक खुलाउने काम प्रभावित थियो। ‘३१ किलोमिटर खण्डमा ६ हजार ९४ रूख कटान बाँकी छ,’ उनले भने, ‘पूरै गरेर १ सय किलोमिटर ट्र्याक खुलाउने काम अझै बाँकी छ।’
करिडोरअन्तर्गत ३ सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले लिएको छ। गत आर्थिक वर्षको तुलनामा बजेटसमेत घटेर आएकाले निर्माण गरेवापत रकम दिनेलगायत काम प्रभावित हुने अवस्था छ।
चालू आर्थिक वर्ष आयोजनालाई काम गर्न २९ करोड ६ लाखमात्रै बजेट विनियोजन भएको छ। गत आवमा भने ४० करोड बजेट आएको जोशीको भनाइ छ।
उनका अनुसार करिडोरअन्तर्गत अहिले पाँच प्याकेजमा ट्र्याक खुलाउने काम भइरहेको छ। करिडोरअन्तर्गत डडेल्धुरामा १० हजार ४ सय ७६, बैतडीमा ४ हजार ५ सय ९६ र दार्चुलामा २ हजार ४३ रूख कटान गर्नुपर्छ।