काठमाडौं। अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ। बुधबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.६८ रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
नेपाल राष्ट्र बैंकले बुधबारलाई १ डलरबराबर १३३.६८ रुपैयाँ बिक्रीदर तोकेको छ। कात्तिक २६ गते डलर महंगिएर १३३.६५ रुपैयाँ पुगेको थियो। एक वर्षयता केही सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलरबराबर १३३.५७ रुपैयाँ कायम भएको थियो। असोजदेखि डलरको भाउ १३४ रुपैयाँ नजिक पुग्न लागेको छ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मंगलबार १ डलरबराबर ८३.३० भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबिआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको छ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।
नेपाल र भारतमा मात्र होइन, विश्व बजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन्। विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ। डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन पुगेको छ।
राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा असोजमा डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ। असोजमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत छ। डलर बलियो हुँदा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ।
रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरायलले गाजामा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ।