एजेन्सी। विश्वचर्चित विद्युतीय सवारीसाधन (इभी) ब्रान्ड टेस्ला इंकले २७ हजार अमेरिकी डलर अर्थात करिब ३५ लाख ९० हजार रुपैयाँ मूल्य पर्ने गाडी बनाउने तयारी गरेको छ।
बेलायतको डेलिमेल पत्रिकाका अनुसार यी गाडीको निर्माण जर्मनीको बर्लिन नजिकै टेस्ला कारखानामा गरिने निकटतम स्रोतले रोयटर्सलाई जनाएको हो।
उत्पादन कहिलेदेखि सुरु हुने भने यकिन भइसकेको छैन। कम्पनीले यो योजना सुरु गरेका खण्डमा टेस्लाको गाडी आधा मूल्यमा झर्ने छ। हाल टेस्ला गाडीको औसत मूल्य करिब ४८ हजार डलर छ।
सवारीसाधन प्रयोगकर्ताले गाडीका लागि उच्च मूल्य तिर्न नसक्ने अवस्था आएका कारण कम्पनीले यो योजना बनाएको अनुमान गरिएको छ।
गत महिना फोर्ड मोटर कम्पनीले चुनौतीपूर्ण इभी बजारका कारण १२ अर्ब डलरबराबर लगानी स्थगन गरेको थियो भने सस्तो इभीका लागि होन्डा र जनरल मोटर्सबीच भएको ५ अर्ब डलरको सम्झौता पनि रद्ध भएको थियो।
रोयटर्सको समाचारबारे टेस्लाले प्रतिक्रिया दिन भने अस्विकार गरेको छ।
हाल टेस्लाको सबैभन्दा सस्तो गाडी मोडेल ३ हो, जसको सुरुवाती मूल्य ३८ हजार ९ सय ९० डलर छ।
यद्यपि, यसमा लगाइएको ७ हजार ५ सय डलरको करका कारण यसको मूल्य घटाएर करिब ३० हजार डलर बनाइएको छ।
अटो रिसर्च फर्म जाटो डायनामिकका अनुसार सन् २०२३ को पहिलो ६ महिनामा युरोपमा विद्युतीय गाडीको खुद्रा औसत मूल्य ६५ हजार युरो छ, जबकि चीनमा ३१ हजार युरो छ।
यसबाहेक इभी सञ्चालन खर्चबारे पनि चिन्ता सुरु भएको छ। यसको बिमा शुल्क महँगो भएको गुनासो बढिरहेको छ।
त्यस्तै अमेरिका इभीका लागि अत्यावश्यक चार्जिङ स्टेसनको भौतिक संरचनाको पनि समस्या भोगिरहेको छ।
विज्ञहरूले डेलिमेललाई बताएअनुसार इभीका उपभोक्ताले आफ्नो लगानी उठाउन करिब १० वर्ष कुर्नुपर्छ।
टेस्ला मालिक इलन मस्कले लामो समयदेखि सस्तो गाडी बनाउन प्रयासरत थिए। २०२२ मा मस्कले प्राविधिक पक्षमा तयारी नपुगेका कारण यो योजना स्थगित गरिएको बताएका थिए।
तर, गत सेप्टेम्बरमा स्रोतले रोयटर्सलाई बताएअनुसार गाडीको भित्री भागका लागि नयाँ प्रविधि विकास गरिरहेको छ, जसले गाडीलाई सस्तो बनाउन मद्दत गर्छ।
मस्क केही समय अगाडि जर्मनीको ग्रुएनहाइडस्थित प्लान्ट अवलोकन गरेर कर्मचारीलाई उनीहरूको कडा मिहिनेतका लागि धन्यवाद पनि दिएका थिए।
उक्त अवलोकनमा उनले प्लान्टमा २५ हजार युरोबराबर मूल्यको इभी निर्माण गरिने घोषणा गरेको स्रोतले जनाएको छ।
जर्मन प्लान्टले हाल युरोपको सबैभन्दा धेरै बिक्री हुने इभी ‘मोडेल वाई’ उत्पादन गर्छ।
अहिले विश्वभरी विद्युतीय गाडी उत्पादन बढीरहेको छ। ठूला कम्पनीहरुले पेट्रोल र डिजल गाडी उत्पादन कम गर्दै विद्युतीय सवारीसाधनमा जोड दिन थालेका छन्।