लघु, घरेलु तथा साना उद्योगीलाई बैंकले पहिले पनि ऋण दिइरहेका थिएनन्। गएको दुई–तीन वर्षदेखि हामीलाई यसमा विभिन्न किसिमको प्रेसर दिने काम हुँदै आएको छ। बैंकबाट ऋण लिएपछि त्यो ऋण तिर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। ब्याजमा छुटको कुरा हामीले उठाइरहेका छौं। विगतका वर्ष र कोरोना महामारीका समयमा पनि हामीले महासंघबाट संस्थागतरूपमा ब्याज छुटको माग गराएका थियौं। अहिले पनि त्यो कुरा उठाइरहेका छौं।
तर, एकैपटक ऋण तिर्नुपर्दैन भन्ने विषय गलत हो। त्यसको पक्षमा हामी छैनौं। यसमा रिसेडुलिङ गर्नू भनेर हामीले बैंकलाई भनेका हौं। हामीलाई सहजरूपमा ऋण चाहिन्छ र त्यो हामी तिर्छौं। यस्तो वातावरण सिर्जना हामी गर्दै थियौं। यसैबीच दुर्गा प्रसाईंले ऋण नै तिर्नुपर्दैन भनेपछि विभिन्न बैंकले ऋणमा कडाइ गरेको देखिन्छ। अर्थात, ऋण दियो भने भोलि आन्दोलन गर्छ भनेर पनि यसमा बैंकले कडाइ गरेको देखिन्छ।
यसको ज्वलन्त उदाहरणका रूपमा मिटरब्याजी आन्दोलन पनि रहेको छ। त्यतिबेला आवश्यक पर्यो र मिटरब्याजीकोमा जानुपर्ने अवस्था बन्यो। त्यसबाट ऋण लिएर छोराछोरी विदेश पठाउने, बिहे गराउने काम भयो। तर, आज मिटरब्याजी भनियो। यो पनि अहिलेका लागि घाँडो भएको छ। आफैं गएर ऋण माग्ने काम भयो, पछि तिर्ने बेलामा भने मिटरब्याजी भनियो। यद्यपि, यो मिटरब्याजीभन्दा आज सहकारी अझ ठूलो मिटरब्याजी भएको छ।
अहिले सहकारीमा जति पनि मानिसले पैसा राखेका छन्, त्यो पैसा पाएका छैनन्। ब्याजको ब्याज, ब्याजको ब्याज सहकारीले लिएको छ। यसविरुद्ध आन्दोलन हुनुपर्ने थियो, तर भएन। मिटरब्याजीको भने आन्दोलन भयो र सरकारले राम्रो कानुन ल्यायो। बैंकले पनि ऋण नदिने, उता सहकारी र अन्य ठाउँबाट पनि ऋण लिन नपाउने भनेपछि अब हामीजस्ता व्यवसायी कहाँ जाने? उद्योगीहरूले पैसा कहाँबाट ल्याउने? यसको असर व्यवसायमा परेको छ।
हामीलाई ऋण पहिला पनि दिइएको थिएन। तर, बिस्तारै हामीले वातावरण बनाउँदै थियो। त्यो वातावरण पनि बिग्रिएको छ। अर्थात, ऋणको पैसा तिर्नुपर्दैन भनेपछि बैंकहरूले झन् पैसा दिन छाडेका छन्। यसले हामी ठूलो मर्कामा परेका छौं। यसर्थ, यो पैसा तिर्नु नपर्ने भन्ने विषय कानुनविपरीत हो। सबैले आफूले लिएको ऋण तिर्नुपर्छ। ब्याजको कुरा छ, जुन ब्याज कम गर्ने विषयमा हामीले प्रधानमन्त्री तथा सरोकारवालासँग विभिन्न चरणमा वार्ता गरेका छौं।
तर, बैंकबाट लिएको पैसा तिर्नुपर्दैन भन्ने कुरा गलत हो। यसको पक्षमा हामी छैनौं। यस्तो माग हामीले गरेका छैनौं। जुन उद्योगीहरू आज आर्थिक संकटमा परेका छन्, जसले ऋण पाएका छैनन् अब उनीहरूलाई कसले अगाडि बढाउने? के यो आवाज उठाउनेले यस्ता उद्योगहरूलाई पाल्छन्? यसर्थ संकटमा पैसा लिने ठाउँ भनेको बैंक नै हो। बैंकले ऋण दिन छाड्यो र उद्योगीले उद्योग बन्द गरे भने भोकमरी चल्छ। यस्तो अवस्था भएमा के हुन्छ? सबै मानिस कतार, अरब जाँदैनन्। उनीहरूका लागि भए पनि यो वातावरण बिगार्नु हुँदैन।
भोलिका दिनमा उद्योग बन्द भए अहिले उद्योग सञ्चालन गरिरहेका मानिस कहाँ जाने? के हामीले त्यो अरबको चर्को तापक्रममा गएर काम गर्न सक्छौं? त्यसैले गर्दा यो गलत कदम हो। यसलाई रोक्नुपर्छ। बैंकबाट पैसा लिएको भए त्यसलाई तिर्नुपर्छ। ब्याज मिनाहा गराउने विषयमा माग गर्नु र आन्दोलन गर्नु भनेको अर्को ठाउँमा छ। तर, ऋण नै तिर्नु नपर्ने भन्नु भनेको समग्र व्यवसायलाई नै असर पुर्याउनु हो। यसर्थ, बैंकको पैसा तिर्नु पर्दैन भन्ने विषय गलत छ। यसमा कुनै सम्झौता हुन सक्दैन। यसले साना तथा मझौला उद्योगमा असर परिसकेको छ।
हिजोका दिनमा ठूला बैंकलाई एकैपटकमा एकै दिनमा ऋण दिने गरिन्थ्यो। साना उद्योगीलाई भने ५ लाख ऋण लिन दुई महिना, तीन महिना कुर्नुपर्ने अवस्था थियो। यो अवस्था कम भइरहेको अवस्थामा झन् यस्तो गलत अभियान चलाइनु र वातावरण बिगार्नु गलत छ। गलत नारा दिएर अन्यायमा मानिसलाई फसाउने, बैंकलाई तर्साउने काम गलत छ। यो हाम्रो हकमा हुँदैन। यसमा हामी समर्थन गर्न सक्दैनौं। यसमा सम्बन्धित पक्ष नै सचेत बन्नुपर्ने पनि देखिन्छ।
हामीले यस काममा नलाग्नू भनेर उद्योगीहरूलाई भनिरहेका छौं। ब्याज छुट गराउने पहल हामी आफैंले पहिलादेखि नै गरेका कारण अहिले त्यस्तो अभियानमा नलाग्न हामीले भनेका छौं। हाम्रा साथीहरू यसमा लागेका पनि छैनन्। महासंघसँग लागेका मानिस यसमा लागेका छैनन्। हाम्रो पहुँचभन्दा बाहिरका मानिस पनि हुन सक्छन्। दुर्गा प्रसाईंको अभियानमा हाम्रा मानिस लागेको खण्डमा हामी त्यसमा नलाग्न आग्रह गर्छौं। हामीले लिएको पैसा तिर्नुपर्छ र त्यस्तो अभियानमा नलाग्न भनेर भनिरहेका छौं।