काठमाडौं। मुलुकमा जारी अर्थतन्त्र सुधारका लागि निर्णायक निर्णय लिने उद्धेश्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको गोलमेच सम्मेलन अहिले सिंहदरबारमा चलिरहेको छ।
राजनीतिक दलका प्रतिनिधिहरुसहित मन्त्रिपरिषदका सदस्यहरु, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगलगायत सम्पूर्ण सरकारी निकायहरुसहित निजी क्षेत्रको प्रतिनिधिहरुको उपस्थितिमा अर्थतन्त्रमा देखिएको समस्या समधानका लागि छलफल भइरहेको छ।
नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लकाअनुसार अहिले विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव लिने काम भइरहेको छ। जारी अर्थतन्त्रको समस्या समधानका लागि के के गर्न सकिन्छ भन्ने विषयको सुझाव लिएपछि प्रधानमन्त्री दाहालले निर्देशनात्मक सम्बोधन गर्ने छन्।
यसअघि विभिन्न चरणमा भएका छलफलमा दिइएका सुझावलाई नै निजी क्षेत्रले पुनः प्रधानमन्त्री दाहाल समक्ष सुझाव पेश गरेका छन्। पटक पटक सुझाव दिइए पनि हालसम्म सरकारी स्तरबाट समस्या समधानका लागि ठोस निर्णय आइनसकेको अवस्थामा धेरैले यो गोलमेच सम्मेलनलाई पनि औपचारिकताको रुपमा मात्र लिएका छन्।
‘जबसम्म कर्मचारीस्तरमा सुधारका लागि दिइएका सुझावहरुलाई कार्यन्वयनका लागि प्रतिबद्ध हुदैन तबसम्म जतिसुकै सम्मेलन गरे पनि निर्णयमा पुग्न सकिदैन,’ नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले भने, ’प्रधानमन्त्रीले बोलाएपछि जानु परिहाल्यो तर, निष्कर्ष निस्किएला जस्तो लाग्दैन।’
पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकमा सामान्य सुधार देखिए पनि आन्तरिक सूचक अरू अझै संकटग्रस्त छन। सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारी हुन नसक्नु, न्यून पूँजीगत खर्च, कर्जा प्रवाहमा कमी तथा चर्को ब्याजदर, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायत समस्या अहिले देखिइरहेका छन।