काठमाडौं। आइतबार बिहानै विराटनगरबाट काठमाडौं हिँडेका सुप्रिम आचार्य कलंकी झर्दा रातको १२ बजेको थियो। बाटोमा तिहारका कारण गाडीको चाप हुँदा जाममा फसेका उनी मध्यरातमा काठमाडौं पुग्दा कोठासम्म कसरी पुग्ने भन्ने अन्योलमा परे।
गाडीबाट झर्दाझर्दै एक जना हेलमेट लगाएका युवाले उनको झोला तान्दै सोधे ‘दाइ, पठाओ चाहिएको हो?’ चाहिँदैन भन्ने भावमा उनी सडक किनामा गएर उभिए।
अफलाइन जान जोखिम हुन्छ ठानेर उनी अनलाइनमा इन्ड्राइभ र पठाओ एपमार्फत् राइडर खोज्न थाले। आफू टीकाथली जानपर्ने भए पनि खासै सामान नभएकाले ट्याक्सीभन्दा पठाओ/इन्ड्राइभमै जाँदा सजिलो हुने उनको सोचाइ थियो। तर उनले सोचेजस्तो सुलभ थिएन राइड सेयरिङ सुविधा। कुनै पनि चालकले उनको रिक्वेस्ट एसेप्ट गरेनन्।
त्यसपछि हेलमेट लगाएका अर्का व्यक्ति आएर उनलाई भने ‘अहिले अनलाइनबाट कसैले एसेप्ट गर्दैनन्। बरु म मिलाएर लगिदिउँला।’
सुप्रिमले भाडा सोधे। ती राइडरले टीकाथलीसम्मको भाडा ८५० रुपैयाँ बताए।
एपमा भाडा २३५ देखाए पनि चालकले ८५० रुपैयाँ मागेपछि उनी झस्किए। त्यहाँबाट अन्य चालक खोज्न यताउता डुले। तर सबैले लगभग उस्तैउस्तै भाडा भने। केही सिप नलागेपछि एउटा चालकलाई अन्तिमा ५ सय रुपैयाँमा मनाए, र गन्तव्यमा पुगे।
यो सुप्रिमले भोगेको मात्रै घटना होइन। यो एक प्रतिनिधि घटना मात्रै हो। जडिबुटी, कलंकी, बल्खु, गोंगबु लगायत काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकामा दैनिक सयांै मानिस यसरी अफलाइन राइडिङबाट ठगिन बाध्य बनेका छन्।
यति मात्र नभइ चोक–चोकमा सयौंको संङ्ख्यामा यात्रु कुर्ने चालकहरुले रात छिप्पिएपछि कसैले पनि अनलाइनमार्फत् रिक्वेस्ट एसेप्ट नगर्ने भद्र सहमति भएको एक राइडरले परिचय नखुलाउने शर्तमा बताए।
‘सबै ठाउँमा आ–आफ्नो टोली हुन्छ। हामी बसपार्कहरुमा बस्ने राइडरहरु सामान्यतया अफलाइनमै हिँड्छौं। यसरी अफलाइनमा हिँड्दा दिउँसोभन्दा राती फाइदा हुन्छ,’ ती चालकले भने ‘त्यस्तै, राती बसपार्कमा धेरै प्यासेन्जर आएको बेलामा सबै राइडरलाई जानकारी दिन र राइडरलाई समस्या परेको खण्डमा जानकारी दिन हाम्रो ह्वाट्स एप ग्रुप पनि छ।’
केही वर्षअघि ट्याक्सी चालकको यस्तै रबैयाका कारण फस्टाएको राइड सेयरिङ सेवा अहिले मोटरसाइकल राइडरको सोही क्रियाकलापका कारण बदनाम हुँदै गएको छ।
तर कम्पनीले भने यस्ता यात्रुलाई कारबाही गर्दै आएको दाबी गरेको छ। अनलाइनबाट यात्रु बोलाएर पनि बार्गेनिङ गर्ने, अफलाइनमा जाने लगायतका गतिविधि गर्ने चालकलाई तुरुन्तै निलम्बन गर्ने गरेको पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममानसिंह बस्न्यातले बताए।
‘अफलाइनमा बार्गेनिङ गरेर यात्रु बोक्ने अघिकांश लाइसेन्स, ब्लु बुक नभएका वा रिन्यु नभएका हुने रहेछन्। जसको पठाओमा आबद्ध हुने मापदण्ड पुग्दैन, उनीहरु यस्तो क्रियाकलापमा संलग्न भइरहेकाले कम्पनीमा आबद्ध नभएका कारण हामीले केही गर्न मिल्दैन,’ उनले भने ‘यदि पठाओमा आबद्ध भएका राइडरले बार्गेनिङ गरेको थाहा पाए हामी तुरुन्त निलम्बन गर्छौँ र कुनै आपराधिक क्रियाकलाप भएको भए हामी प्रहरीलाई खबर गर्छौँ। कम्पनीमार्फत् प्रहरीलाई सबै प्रकारको सहयोग गर्छौँ।’
आम नागरिकबाट यस्ता गुनासा आइरहेकाले गत असोजमै अफलाइन राइड नलिन र नदिन सूचना निकालिएको श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
‘मापदण्डविपरीत काम गर्नेलाई कानुनबमोजिम कारबाही गर्न हामीले ट्रफिक प्रहरीलाई पत्र पनि पठाइसकेका छौँ,’ उनले भने।
यसरी अफलाइनमा बार्गेनिङ गरेर यात्रु बोक्ने राइडरहरुलाई कारबाहीको दायरामा ल्याइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बताए।
‘अफलाइनमा यात्रु उठाउनु अपराध हो। हामीले केही समयअघि पनि सिभिल पोसाकमा बसेर केहीलाई समातेर जनपथ प्रहरीको जिम्मा लगाएका थियौं। यो कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिन्छाैँ,’ उनले भने, ‘ट्राफिक प्रहरी पोसाकमा बस्दा राइडर भाग्ने तथा मेरो आफन्तलाई लिन आएको भन्दै बचेर जाने भएकाले सिभिल पोसाकमा प्रहरी खटाइरहेका छौँ।’
यो समस्या हटाउन आधिकारिक पठाओ कम्पनीले धेरै पटक आग्रह पनि गरेको र कम्पनीका तर्फबाट सक्दो सहयोग पनि प्राप्त गरिरहेको पोखरेलले जानकारी दिए।