काठमाडौं। टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइका लागि न्यायाधीश कुमार चुडालकाे इजलासमा पेसी परेकाे छ। टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयविरूद्ध परेका १० रिटकाे साेमबार न्यायाधीश चुडालकाे एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो।
सरकारकाे उक्त निर्णयविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा पर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर छन्।
रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ। यता टिकटक प्रतिबन्ध भएपछि माइतीघर मण्डलामा त्यसको विरुद्धमा प्रदर्शन समेत भएको छ।
प्रदर्शनमा \जनताको बोल्ने अधिकारको सुनिश्चित गर', 'टिकटक होइन जाजरकोटलाई ध्यान दे', 'टिकटक प्रतिबन्ध खारेज गर' लगायतका नारा लेखिएको प्लेकार्ड देखाएर विरोध गरेका छन्।