एजेन्सी। नेपालको अरुण नदीमा दुई ठूला जलविद्युत आयोजना बनाइरहेको भारतीय सतलज हाइड्रो कम्पनी (एसजेभीएन)ले भारतमा दुई ठूला आयोजना बनाउने भएकाे छ। कम्पनीले ४ खर्ब लगानीमा निर्माण गर्ने दुई आयोजनाकाे विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भारत सरकारले स्वीकृत गरेको छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले अरुणाञ्चल प्रदेशमा रहेको ३ हजार ९७ मेगावाट क्षमताको इटालिन जलविद्युत र ६ सय ८० मेगावाटको अटुन्ली जलविद्युत आयोजनाको डीपीआर स्वीकृत गरेको एसजेभीएनले जनाएको छ। दुई आयोजनाको जडित क्षमता ३ हजार ७ सय ७७ मेगावाट र लगानी ४ खर्ब भारु लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ। सन् २०२२ को मूल्यअनुसार इटालिन आयोजना बनाउन ३ खर्ब २८ अर्ब १३ करोड रुपैयाँ लगानी हुने भएको छ।
यस्तै अटुन्लीको ६८ अर्ब ६६ करोड भारु रहेको एसजेभीएनले जनाएको छ।
केन्द्रीय विद्युत प्राधिकरण र त्यहाँको ऊर्जा मन्त्रालयले इटालिन र अटुन्लीको डीपीआर एसजेभीएनलाई हस्तान्तरण गरेको छ। आयोजनाको डीपीआरले वैधता प्राप्त गरेको एसजेभीएनले जनाएको छ।
सञ्चालनमा आएपछि, इटालिनले वार्षिक १२ अर्ब ७५ करोड २० लाख युनिट विद्युत उत्पादन गर्नेछ। यस्तै अटुन्लीबाट २ अर्ब ८१ करोड ४० युनिट विद्युतीय ऊर्जा उत्पादन गर्नेछ। दुवै आयोजनाको लेभलाइज्ड महसुल प्रतियुनिट ४.५१ भारु रहेकाे छ।
‘सम्पन्न परियोजनाहरूले अरुणाञ्चल प्रदेश राज्यमा सडक, पुल, सामुदायिक सम्पत्ति, स्वास्थ्य सेवा, महिला सशक्तिकरण, सीप विकास र शिक्षा जस्ता पूर्वाधारहरू सुदृढ पारेर समग्र सामाजिक आर्थिक विकासको युगको सुरुवात गर्नेछ। रोजगारी, दिगो विकास आदिका साथै परियोजना सम्बद्ध परिवारहरूलाई थप लाभ दिनेछ’ एसजेभीएनले भनेको छ।
सरकार स्वामित्वको एसजेभीएनले अरुणाञ्चल प्रदेशमा ५ सय मेगावाट इमिनी, ४ सय २० मेगावाट अमुलिन र ४ सय मेगावाटको मिहुम्दोन जलविद्युत आयोजना बनाउने तयारी गरेको छ। यि आयोजनाको काम अघि बढ्न बाँकी छ। पाँच आयोजनाको जडित क्षमता ५ हजार १ सय मेगावाट छ।
एसजेभीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी हो। प्रस्तावित ती आयोजनाको निर्माणमा ५ खर्ब भारु लगानी हुने भएको छ। प्रस्तावित आयोजनाबाट वार्षिक २० अर्ब ६५ करोड २० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुने एसजेभीएनले जनाएको छ।
एसजेभीएनले नेपालमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ। अहिलेसम्म आयोजनाको लगभग ६५ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ। अरुण तेस्रोको अब ३५ प्रतिशत काम मात्र बाँकी छ। भारत निकासी प्रयोजनका लागि निर्माण भइरहेको आयोजनामा एसजेभीएनले १ खर्ब ४४ अर्ब रुपैयाँ लगानी गर्नेछ।
अरुण तेस्रोबाट नेपालले १ सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ। एसजेभीएनले बाँकी ७ सय २ मेगावाट बिजुली भारतमा निर्यात गर्नेछ।
एसजेभीएनले संखुवासभा र्दिदिङदेखि भारतको सीतामढीसम्म ४ सय केभी प्रसारण लाइन बनाइरहेको छ। माउ कम्पनी सतलज जलविद्युत निगमले सन् २००८ मा प्रतिस्पर्धाबाट सबैभन्दा बढी निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि अरुण तेस्रो आयोजना पाएको हो। २०१४ मा लगानी बोर्ड र सतलजबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो।
यस्तै प्रतिस्पर्धाबाट एसजेभीएनले ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजना बनाउन जिम्मा पाएको छ। आयोजना बनाउन लगानी बोर्ड र एसजेभीएनबीच पीडीएमा हस्ताक्षर समेत भइसकेको छ।
तल्लो अरुण आयोजना बनाउन ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कुल जलडित क्षमताको २१ प्रतिशत बिजुली नेपालले पाउने छ। यस आयोजनाबाट नेपालले १ सय ४५ मेगावाट बिजुली निःशुल्क पाउनेछ।
यस्तै एसजेभीएनले नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ४ सय ९० मेगावाटको अरुण–४ आयोजना बनाउने भएको छ। यो आयोजनाको पनि संभाव्यता अध्ययन जारी छ। आयोजना बनाउने विषयमा विद्युत प्राधिकरण र एसजेभीएनबीच समझदारी (एमओयू) भइसकेको छ। विस्तृत इन्जिनियरिङपछि आयोजनाको अरुण–४ को जडित क्षमता र लागत यकिने हुनेछ।