काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागि चाल्नु पर्ने कदमका बारेमा आज सोमबार सरोकारवालासँग छलफल गर्दैछन्।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा हुने भएको छ।
छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन। न्यून पुँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिइरहेका छन्।
अर्थतन्त्र सुधारका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेममार्फत विभिन्न सुधारका कार्यक्रम ल्याएको भए पनि ती कार्यक्रमको कार्यान्वयनको अवस्था सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको देखिँदैन।
बैठकले अर्थतन्त्र सुधार्न ठोस प्याकेज घोषणा गर्ने अनुमान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि अर्थतन्त्र सुर्धान छलफल गरिसकेको छ। महासंघले सरोकारवालासँग सुझाव मागेको छ।