काठमाडाैं। राइड शेयरिङ कम्पनी इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १० करोड डलर लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा ‘एम एण्ड ए आर्म’को सुरुवात गर्ने घोषणा गरेको छ। न्यू भेन्चर्सको उपसभापतिका रूपमा इन्ड्राइभमा आबद्ध भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा कम्पनीले लगानीसम्बन्धी उक्त घाेषणा गरेकाे हाे।
न्यू भेन्चर्सको लगानी तीव्र वृद्धि र साकरात्मक सामुदायिक प्रभावमा केन्द्रित रहने बताइएकाे छ, जसका लागि निश्चित मापदण्डहरू तोकिएका छन्। यस्ता मापदण्डमा नयाँ चुनौती र व्यक्ति एवम् समुदायको जीवनमा सुधार रहेका छन्।
यस्तै विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअप, पोस्ट-सीड/प्रि-सिरिजए कम्पनीहरू प्रमाणित उत्पादन बजार फिट भएका, द्रूत अर्गानिक वृद्धि र स्वस्थ आर्थिक तथा नगद प्रवाह गर्नसक्ने कम्पनीलाई विशेष प्राथमिकता दिइने बताइएको छ।
‘कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इन्ड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो, जसले अन्यायलाई चुनौती दिने आफ्नो मिसनमा प्रतिबद्ध रहँदै द्रूतरुपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ,’ इन्ड्राइभको न्यू भेन्चर्सका उपसभापति एन्ड्रिज स्मिथले भने,‘मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कार गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इन्ड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ।’
उनले उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रूत वृद्धिको फाइदा उठाउँदै इन्ड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यूनतम पहुँच भएका यस्ता कम्पनीमा लगानी गर्न खोजेको बताए। उज्ज्वल भविष्यको लागि योगदान दिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्नको लागि आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्न पाउँदा उत्साहित भएको उनकाे भनाइ थियाे।
इन्ड्राइभको न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेका कम्पनीलाई इन्ड्राइभको प्लेटफर्ममार्फत् तीव्र गतिमा बढाउन केन्द्रित रहेकाे छ। यस्ता कम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमा विश्वव्यापी मल्टिमिलियन कस्ट्युमर बेस कम्पनीको गो–टु–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो उपस्थिति बनाउन सक्षम हुन सक्नेछन्। एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएका छन्। जसमा मोर्गन स्टेनली र एभिभालगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ।
उनले युरोप, मध्य पूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि निर्माण गरेका छन्।
‘न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु हो,’ इन्ड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले भने।