एजेन्सी। यस वर्षको चाडपर्वमा भारतमा लक्जरी कार अउडी र मर्सिडिज कारको बिक्रीले रेकर्ड बनाएको छ।
यसअघिका वर्षको तुलनामा यस वर्षको चाडपर्वको सिजनमा लक्जरी कार मर्सिडिज र अउडीका उच्च मूल्यका कारको मागले कीर्तिमानी बनाएको दाबी कम्पनीले गरेका छन्। यद्यपि, बिक्री कारको संख्या भने कम्पनीले खुलाएका छैनन्।
पीटीआईसँगको एक अन्तरक्रिया कार्यक्रममा मर्सिडीज–बेन्ज इन्डियाका प्रबन्ध निर्देशक सन्तोष अय्यरले यस वर्ष दिवालीसम्मको चाडपर्वको सिजन विगतका वर्षहरूभन्दा राम्रो भएको बताए। धेरै नयाँ गाडीहरु सार्वजनिक हुनुको साथै बिक्री र बुकिङ राम्रो भएको उनको भनाइ छ। मर्सिडिजले यस वर्ष आफ्नो उत्कृष्ट प्रदर्शन हासिल गर्ने लक्ष्य लिएको छ।
‘हामीले दसैँ, धनतेरस र दीपावलीमा ग्राहकको उत्साह झल्काउने रेकर्ड डेलिभरी हुने देखेका छौं’ उनले भने। अटोमेकरबाट यस वर्ष रेकर्ड बिक्रीको अपेक्षा रहेको उनको भनाइ छ। यद्यपि, आपूर्ति श्रृंखला–सम्बन्धित अवरोधका कारण एसयूभी र विशेषगरी जीएलसीको उत्पादन तथा उपलब्धतालाई असर गर्दै चुनौतीहरु कायम रहने उनको भनाइ छ।
‘हामीसँग उद्योगप्रतिको सकारात्मक दृष्टिकोण अर्थात् यस वर्ष रेकर्ड बिक्री हुने अपेक्षा जारी छ। तर, आगामी महिनाहरुमा पनि आपूर्ति श्रृंखलासम्बन्धी अवरोध जारी रहने पूर्वानुमान हाम्रो छ’ उनले भने। अउडी इन्डियाका प्रमुख बलवीर सिंह धिल्लनले जनवरी–सेप्टेम्बर २०२३ मा ५ हजार ५ सय ३० वटा सवारी बिक्री गरेको बताए। उक्त बिक्री वृद्धिदर ८८ प्रतिशत रहेको छ।
‘हामीले हालैका दिनमा हाम्रो उच्चतम् अर्डर भएको बैंकहरूमध्ये एकसँग कारोबार सञ्चालन गरिरहेका छौँ। यो चाडपर्वको अवधि अउडी इन्डियाका लागि ठूलो उत्सवको रूपमा रहेको छ, किनभने गत सात वर्षको तुलनामा यस वर्षको सिजनमा सबैभन्दा बढी बिक्री भएको देखिन्छ,’ उनले भने।
ए–फोर, क्यु–थ्री, क्यु–थ्री स्पोर्टब्याक, क्यु–फाइभ, एस–फाइभ स्पोर्टब्याक लगायत आफ्ना बेस्ट–सेलरहरुको मागमा निरन्तर वृद्धि भएको पनि उनले बताए। ‘दिल्ली र मुम्बईमा चाडपर्वको सिजनमा धेरै माग भयो। हैदराबाद, कोलकाता, चेन्नई, बेंगलौर र अहमदाबादमा पनि राम्रो माग देखिएको छ,’ उनले भने।
यस वर्ष भारतमा लक्जरी कार उद्योगले २०१८ भोल्युमलाई पार गर्दै ४६ हजारदेखि ४७ हजार इकाईको अंकमा पुग्ने धिल्लनको भनाइ छ। ‘एक कम्पनीका रूपमा हामी उच्च दोहोरो अंकको वृद्धिसँग यस वर्ष समाप्त गर्न खोजिरहेका छौं,’ उनले भने। बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष विक्रम पवाहले चाडपर्वमा कम्पनीले कार र मोटरसाइकल दुवैका केही शक्तिशाली उत्पादनहरू सार्वजनिक गरेको बताए।
यो गतिलाई निरन्तर जारी राख्ने उनको भनाइ छ। ल्याम्बोर्गिनी इन्डियाका प्रमुख शरद अग्रवालले भारत अटोमोबाइल क्षेत्रमा विश्वको सबैभन्दा द्रूत बृद्धि हुने बजार मध्येको एक भएको र तेस्रो ठूलो करोडपति जनसंख्या भएको पनि बताए। उनका अनुसार २०२१ मा भारतीय लक्जरी कार बजारको मूल्य १.०६ बिलियन अमेरिकी डलर थियो, २०२७ सम्ममा १.५४ बिलियन अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको उनले बताए। २०२२–२०२७ को अवधिमा ६.४ प्रतिशतभन्दा बढीको सीएजीआर दर्ता गर्ने पनि उनले उल्लेख गरे।
‘यो वृद्धि ग्राहकको स्वाद र प्राथमिकताको विकासबाट प्रेरित छ। त्यसैले अटोमोबाइल क्षेत्रले उन्नत प्रविधि र सुरक्षा सुविधाहरू भएका लक्जरी कारहरूको बढ्दो मागसँगै पर्याप्त विस्तार गर्न सक्ने सम्भावना पनि देखिरहेको छ,’ अग्रवालले भने। उनले यो वृद्धिलाई भारतमा राम्रो सडक पूर्वाधारले थप समर्थन गरेको र सहरहरू एक्सप्रेसवेद्वारा जोडिएका पनि उल्लेख गरे।
यसले अटोमेकरको उच्च आकांक्षालाई पुरा गर्नेतर्फ अगाडि बढेको देखाएको उनको भनाइ छ। ‘लेम्बोर्गिनीको लागि आज २५ प्रतिशत भन्दा बढी बिक्री गैर–मेट्रो शहरहरूबाट हुन्छ,’ उनले भने। उनका अनुसार यस वर्ष अगस्ट १७ देखि नोभेम्बर १४ सम्मको ८९ दिने चाडपर्व अवधिमा कुल सवारी साधनको बिक्री १० लाख नाघेको छ। गत वर्ष ७१ दिने चाडपर्व सिजनमा करिब ८.१० लाख युनिट सवारी बिक्री भएको थियो।