काठमाडौं। मुलुकमा गम्भिर आर्थिकमन्दीको कारणले लगानी खुम्चिरहेको बेला हेलिएभरेष्टले एक साथ २ वटा हेलिकोप्टर थप गरेको छ। बढ्दो विदेशी पर्यटक र नेपालीहरुको माग उच्च रहेको भन्दै हेलिएभरेष्टले २ वटा हेलिकोप्टर थप गरेको हो।
पर्यटन मार्फत मुलुकमा विदेशी मुद्रा भित्र्याउन थप सहज बनाउने उद्धेश्य राखेर हिमालय रेन्चलाई मध्यनजर गर्दै २ वटा बी ३ हेलिकोप्टर थप गरेको बजार प्रमुख सिताराम सापकोटाले जानकारी दिए।
खासगरी हिमाल क्षेत्रमा खोज,उद्धार र पर्यटकहरुलाई माउन्टेन फ्लाइट गराउदै आएको हेलिएभरेष्टसँग हाल २ वटा हेलिकोप्टर सञ्चालनमा रहेको छ। स्वदेशी एवंम विदेशी पर्यटकहरुलाई थप सहजता दिलाउने उद्धेश्य राखेर कम्पनीले २ वटा हेलिकोप्टर ल्याएको उनले बताए।
कल साइन ९एन एओए(9N AOA) रहेको नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म अवतरण गराउन सकिन्छ। योसँगै २३ हजार फिटसम्मको कुनैपनि उद्धार उडान गर्नका लागि यो जहाज प्रयोग गर्न सकिन्छ। नेपालको भौगोलिक परिवेशलाई सुहाउने नै बी ३ मोडल भएकोले पनि रोजाईमा परेको उनको भनाई छ।
सन् २०१९ मा फ्रान्समा निर्माण भएको एयरबसको २ वटा हेलिकोप्टर मध्ये १ वटा शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगिसकेको र अर्को हेलिकोप्टर दुई महिना भित्रै नेपाल आइसक्ने बताए।
निर्माण कम्पनीसँगको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको बताउदै आइतबार नै फ्रान्सबाट नयाँ हेलिकोप्टर नेपालको लागि आउने उनको भनाई छ। जहाज र पानिजहाज हुँदै कन्टेनर मार्फत नेपालमा ल्याउनु पर्ने भएकोले करिब २ महिनामा आइसक्ने उनले बताए।
विदेशी एवंम स्वदेशी पर्यटकहरुको थप सहजताका लागि एयरबसको बी ३ हेलिकोप्टर नै सञ्चालनका लागि ल्याएको बताउँदै अवको एक वर्ष भित्रमै अर्को थप एक हेलिकोप्टर ल्याउने योजना कम्पनीले बनाएको बताए।
५ वटा हेलिकोप्टर मार्फत पर्यटकहरुलाई सुविदा दिने उद्धेश्यका साथ कम्पनीले आफ्नो तयारी थालेको उनको भनाई छ।
चालू आर्थिक वर्षदेखि सरकारले जहाज तथा हेलिकोप्टर सहित पार्टपुर्जामा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाइदिएको छ।
जसको कारण गत वर्षको तुलनामा यो वर्षदेखि हेलिकोप्टरहरुको मूल्य ह्वात्तै बढेको छ। मूल्य वृद्धिकै कारण धेरै हेलिकोप्टर कम्पनीहरुले नयाँ खरिद गर्न सकिरहेका छैनन्।