घुम्दै जाँदा पर्यटकीय क्षेत्र प्रचारप्रसारमा समेत टेवा पुग्दै आएको छ। सुरुमा घुम्न निस्किँदा व्यावसायिकरूपमै लागिन्छ भन्ने सोचेका भने थिएनौं। विद्यालयमा अध्ययन क्रममा मल्टिमिडियामार्फत नेपालका प्राकृतिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विषय देखाउन नपाएकै कारण हाम्रो यात्रा सुरु भएको हो।
घुम्नका लागि म र लक्ष्मीप्रसाद ढुंगेल निस्किने गरेका छौं। यो टिममा ६ जना छौं। घुम्न सुरु गरेको सन् २०१५ देखि हो। व्यावसायिकरूपमै घुम्न लागेको आठ वर्ष भइसकेको छ। त्यसअघि म शिक्षक पेसामा थिएँ। अध्यापनकै सिलसिलामा मल्टिमिडियाबाट अध्यापन गराउने क्रम सुरु भयो।
मल्टिमिडियामार्फत नेपालका सामग्री देखाउने खालका केही भेटिएन। मैले झापाको वाल्मिकी विद्यालयमा अर्थशास्त्र र समाजशास्त्र अध्ययन गराउँथे। आफूले खोजेको जस्तो आर्थिक, सामाजिक, प्राकृतिक र भौगोलिक क्षेत्रहरूको भिडियो पाउन नसकेपछि आफैं त्यस क्षेत्रको भिडियो बनाउने सोचसाथ यात्रा सुरु गरिएको हो।
आठ वर्षअघि ट्राभल भिडियो पाउनै सकिँदैन थियो र हाम्रो पहिलो भिडियो मुस्ताङको थियो। अहिलेसम्म नेपालका २ सय ५० भन्दा बढी गन्तव्य पुगेर भिडियो खिचिसकिएको छ भने २ सय ४४औं भाग प्रशारण तयारीमा छौं। आम्दानीका रूपमा धेरै नभए पनि आत्मसन्तुष्टि भने मिलेको छ। कमाएको धेरै रकम घुमघामकै क्रममा खर्च हुने गरेको छ।
घुम्ने यात्रासँगै पूर्वदेखि पश्चिमसम्मका अधिकांश पर्यटन गन्तव्यमा आफ्नो पाइला पु¥याइसकेका छौं। जिल्लाका हिसाबले सबै पुगिसकेका छौं। साना–साना हिमालसमेत आरोहण गरिसकेका छौं। राम्रा ठाउँमा पूर्वाधार विकास गर्न नसकेकै कारण ओझेलमा पर्दै गएको छ।
घुमघामका बेला देखिएअनुसार निश्चित ठाउँबाहेक धेरैमा पर्यटकीय कल्चर विकास भइसकेको छैन। स्थानीयस्तरमा पर्यटकलाई गर्ने संस्कारका विषयमा राम्रो ज्ञान दिन सकिएको छैन। स्थानीय आफंैले सिकेका छैनन् र सिकाउने अरू पनि देखिँदैनन्। जसका कारण राम्रा ठाउँमा पर्यटकलाई गर्ने सेवा सत्कार नै राम्रो पाउन सकिँदैन। र, दोस्रोपटक ती गन्तव्यमा पुग्न सकेका छैनन्।
जति ठाउँ चले, ती ठाउँमात्र हाम्रो पर्यटकीय गन्तव्य हो भन्ने विश्वास आममानिसमा परेको छ। चलेका ठाउँभन्दा नचलेका ठाउँ धेरै सुन्दर छन्। ती ठाउँमा आवश्यक पूर्वाधार र उचित प्रचारप्रसार नभएकै कारण ओझेलमा परिरहेका छन्।
पश्चिम क्षेत्रका गन्तव्य धेरै सुन्दर रहँदा रहँदै टुरिज्म कल्चर विकास गर्न नसकेकै कारण पछि परिरहेको देखिन्छ। त्यहाँ गएर कसैले सिकाएका पनि छैनन् र आफंैले पनि सिक्न सकेका छैनन्। पर्यटन भन्ने नै थाहा नभएका क्षेत्र झनै सुन्दर छन्।
सुदूरपश्चिममा बडिमालिका र खप्तड सबैभन्दा उत्कृष्ट र मनोरम ठाउँ हुन्। खप्तडको भिडियो बनाउने सम्भवतः हामी नै पहिलो हौं। त्यहाँको भिडियो खिचिरहँदा स्थानीयले अवरोधसमेत गरेका थिए। तर, हामीले लुकेर खिच्न सफल भएका हौं। जब भिडियो सार्वजनिक भयो, त्यसलगत्तै नायक पल शाहको एउटा फिल्म सुटिङका लागि हामीसँगै सम्पर्क गरेर टिम गएको थियो। त्यसपछि बिस्तारै त्यो क्षेत्रमा जानेको संख्या क्रमिक बढ्दै गएको छ।
बिस्तारै होमस्टे पनि स्थानीयले चलाउन लागे र राम्रो आम्दानी हुन थालेपछि पर्यटन भनेको के रहेछ भन्ने बिस्तारै बुझ्न थालेको आभास हामीले पायौं। अहिले त खप्तड राम्रो गन्तव्यभित्र परिसकेको छ। केही समयअघि हाम्रो दोस्रो यात्रा थियो बझाङको। यात्रा गर्दा पहिला भिडियो खिच्न अवरोध गर्ने स्थानीय भेट्दा पछि उनीहरूले धन्यवाद दिएका थिए। जुन सुन्दा मनमा निकै आनन्द आयो। अब बिस्तारै त्यो क्षेत्रमा टुरिज्म कल्चर सुरु भइसकेको छ भन्ने आभाष हामीलाई भयो।
जुन ठाउँ चलेको छ, त्यो ठाउँ पहिलोपटक जाँदा पनि यस्तो छ भनेर कल्पना गरिसकिएको हुन्छ। तर, जहाँ कोही पनि गएका छैनन्, ती ठाउँ जाँदाको मज्जा छुट्टै हुन्छ। हामी सकेसम्म भर्जिन डेस्टिनेसन खोजीमा लागेका हुन्छौं। जहाँ कोही पनि मान्छे घुम्नकै लागि त्यो ठाउँमा नपुगेको होस्।
सुदूरपश्चिम र पूर्वका केही ठाउँमा पुग्दा त आँसु नै आउँछ। पूर्वाधार नहुँदा धेरै यात्रा गर्नुपर्ने भएकाले दुःख धेरै पाइन्छ। स्थानीयको पर्यटकसम्बन्धी हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा कति रात भोकै बस्नुपरेका पीडा पनि भोग्नुपर्छ। हामी पुगेर ती गन्तव्यको भिडियोमात्र बनाउँदैनौं, पर्यटन कल्चरसमेत सिकाउँदै हिँड्ने गरेका छौं।
गोरखा उत्तरी भेग मनास्लु सर्किट जाँदा १८ दिनसम्मको यात्रा गरेका थियौं। त्यहाँ दैनिक १२ घन्टासम्मको पैदल यात्रासमेत गरेका थियौं। मनास्लुलाई चक्कर लगाउन १५ दिनभन्दा बढी लागेको थियो। हाम्रो यात्राको सबैभन्दा लामो समय भनेको २० देखि २२ दिनसम्मको हुने गरेको छ।
गन्तव्य र पहुँचका आधारमा यात्रा तय गर्ने गरिन्छ। अहिलेसम्म घुम्दा सबैभन्दा मन परेको गन्तव्य भनेको बडिमालिका हो। त्यहाँ पुग्न बाजुरा सदरमुकाम नजिक मार्तडीबाट ट्रेकिङ सुरु हुन्छ। तर, बाजुरा सदरमुकाम पुग्नै हामीलाई तीन दिनको यात्रा गाडीमा गर्नुपरेको थियो। मार्तडीबाट हिँडेको तीन दिनमा बडिमालिका पुग्न सकिन्छ। यात्रा गर्दा जति दुःख भोगिन्छ, जब बडिमालिका पुगिन्छ, सारा दुःख, कष्ट बिसाइदिन्छ।
बडिमालिका सबैले सुनेको गन्तव्य हो। योभन्दा अझ सुन्दर ठाउँ भनेको बझाङको ‘सुर्मासरोवर’ नेपालको लुकेको स्वर्गको टुक्रा हो भनेर व्याख्या गर्दा फरक पर्दैन। तर, त्यहाँ पुग्न हिँड्ने गोरेटो बाटोसमेत निकै अप्ठ्यारो छ। जसका कारण पर्यटक लैजान निकै मुस्किल छ। जो पुग्छ, त्यहाँको सुन्दरतामा चुर्लुम्म डुब्छ।
हामी बझाङ सदरमुकाम चैनपुरबाट तीन दिनको यात्रामा सुर्मासरोवर पुगेका थियौं। त्यहाँ यतिसम्मको अच्चमको दृष्य हेर्न पाइन्छ कि हिमालमा चाँदी टल्केको देखिन्छ। स्थानीयले त्यो हिमाललाई ‘चाँदी शिखर’ भनेर नामकरण गरेका छन्। धार्मिक आस्थाका कारण त्यहाँका हिमाल आरोहणका लागि खुला गरिएको छ्रैन। त्यहीँसँगै अर्को हिमाल छ ‘सुनखानी’। जुन हिमालभित्र सुन रहेको छ भन्ने विश्वास गरिँदै आएको छ। सोही सुनखानी हिमालको काखमा छ सुर्मासरोवर। सायद यो नेपालको तेस्रो अग्लो स्थानमा रहेको हिमताल हुनुपर्छ। तर, यो ठाउँबारे धेरैलाई थाहा छैन।
स्थानीयहरू धार्मिक आस्थाका कारणले पुग्नेबाहेक हामीमात्र हो बाहिरको मान्छेका रूपमा पुगेको। सुर्मासरोवरको भिडियो बनाउने पहिलो व्यक्ति नै हामी नै हौं र अहिलेसम्म अरूले बनाउन पनि सकेका छैनन्।
त्यही वरिपरि क्षेत्रपाटन (किल्ला डाँडा) को शृङ्खला धेरै देखिन्छ। त्यही ठाउँ हुदै नेपालबाट मानसरोवर जाने मार्ग पनि रहेछ। बाटो बनाउँदा पनि सबैभन्दा छोटो त्यही क्षेत्रबाट हुने रहेछ। तर, त्यसबारे भेडापालन गर्ने किसानबाहेक सरकारका निकायलाई नदेखेको गन्तव्य भएकैै कारण ओझेलमा परेको देखिन्छ।
गन्तव्य पहिचान कसरी हुन्छ?
यात्राका लागि गन्तव्य पहिचान गर्न मानिससँग सोधखोज नै पहिलो हुन्छ। केही ठाउँमा त्यहाँका मानिसले बोलाउने गरेका छन् भने केहीमा आफैं यो ठाउँमा केही न केही नयाँ होला भनेर जाने गरेका छौं।
यात्राकै क्रममा आँखा गुम्यो
यात्रा क्रममा सबैभन्दा बढी दुःख पाएको ठाउँ र सुन्दर लागेको बझाङ सुर्मासरोवर नै हो। चट्टानको यात्रा गर्नुपरेकाले निकै जोखिम मोलेर त्यहाँ पुगेका थियौं। अर्को भनेको पूर्वकै मकालु हिमाल क्षेत्रमा गएर फर्किने क्रममा सितला पासमा अत्यधिक हिमपात हँुदा मेरो एउटा आँखासमेत गुमाउनुपरेको छ। हिउँले आँखा खाएपछि एउटा आँखाका भरमा हिँड्नुपर्ने पीडा एकातिर थियो भने अर्कातिर खच्चडसमेत नपाउने स्थिति निकै नाजुक थियो।
दुःखकै कुरा गर्दा धौलागिरि हिमाल क्षेत्र जाँदा भाग्यवस ज्यान जोगिएको थियो। हिमालबाट फर्किने बाटो हिमपहिरोले लगेपछि दुई दिन केही नभएको ठाउँमा अनाहकमा बस्नुपरेको थियो। दुई दिनको बिहान हेलिकोप्टर उद्धारका लागि आउँदा थाहा भयो कि हामीभन्दा अघिल्लो टोली सर्किट हान्न गएको थियो, ती सबैलाई हिमपहिरोले पुरेको रहेछ। हामी एक दिन अगाडिमात्र गएको भए त्यही टोलीमा पर्ने रहेछौं।
दुई दिन ब्लक हुँदा ज्यान बचाएर फर्किन सफल भएका थियौं। यात्रा क्रममा ठाउँ विशेषले आन्तरिक र वाह्य पर्यटक घुम्न आएको भेटिएको थियो। आन्तरिक पर्यटक जहाँको यात्रा सजिलो छ त्यहाँ बढी देखिन्छन् भने अलि गाह्रो गन्तव्यमा विदेशीलाई भेटिएको थियो।
(पूर्वी ब्लुज)