काठमाडौं। भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट स्काई डाइभ गरेर विश्वकीर्तिमान कायम गरेकी छिन्।
कालापत्थरमा ५ हजार ३ सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराएकी हुन्।
यसअघि कालापत्थरमा महिलाततर्फ न्युजिल्यान्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो।
४१ वर्षीय महाजन भारत पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन्। उनले भारतको प्रसिद्ध पद्मश्री पुरस्कार प्राप्त गरिसकेकी छिन्। ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले नोभेम्बर ११ देखि १३ सम्म सगरमाथा क्षेत्रबाट चारपटक स्काई डाइभ गरेर कीर्तिमान कायम गरेको कम्पनीका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए।
महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको छ। रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्ड्सका प्रतिनिधिलाई काठमाडौंमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको छ। यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्वरेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
स्काई डाइभर महाजनले लामो समयदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रियरूपमा लाग्ने बताइन्।
एभरेस्ट स्काई डाइभका अध्यक्ष पाण्डेका अनुसार एभरेस्ट स्काई डाइभ असाध्यै आकर्षक र साहसिक खेलका रूपमा चर्चित छ। चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरिमा गर्नुपर्ने साहसिक काममध्ये स्काई डाइभलाई पाँच नम्बरमा राखेको छ।
‘धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन्। तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काइडाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन्,’ पाण्डेले भने, ‘यो पनि मूल्यवान कुरा हो। उनीहरूले ‘स्टोरी’ लिएर जान्छन्। यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ।’
स्काई डाईभ एक साहसिक खेल पर्यटन हो। विश्वभरि ७ लाख स्काई डाइभर छन्। दुबईमा समुद्रबीचको टापुमा स्काइ डाइभ गरिन्छ। मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ। इजिप्टमा पिरामिडको अगाडि स्काइ डाइभ हुन्छ। स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ। जुन जीवनकालकै बहुमूल्य हुन्छ। नेपालको स्काइ डाइभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरिबाट स्काइ डाइभको आकर्षण हुन्छ।
मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए। स्काइ डाइभका माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
नेपालमा सन् २००८ मा एभरेस्ट स्काई डाइभ सुरु भएको हो। यसले धेरै विश्वरेकर्ड कायम भएको छ। कोभिडको वर्ष २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हुँदै आएको छ। २००९ मा हाइएस्ट स्काई डाइभ कालापत्थरमा भएको थियो।