काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहत अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन्। महत्वपूर्ण चाडपर्व सकिएका सन्दर्भमा उनले अब कामलाई गति दिन निर्देशन दिएका हुन्।
मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकमा मन्त्री बस्नेतले चालू आर्थिक वर्ष चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीबारे विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरूपमा गति दिन आग्रह गरे।
‘सकेसम्म समस्या आउनै नदिने गरी काम गर्नुस्। समस्या आए आफैं अग्रसर भएर समाधान गर्नुस्। त्यसो पनि हुन नसकेको खण्डमा मात्रै मन्त्रालयमा ल्याउनुस्,’ कार्यसम्पादन क्रममा आएका समस्या सकेसम्म आफैं हल गर्न ध्यानाकर्षण गराउँदै उनले भने, ‘समस्या समाधानका लागि म आफैं अग्रसर भएर लाग्छु। परिणाम निस्कनु आवश्यक छ।’
परम्परागत तवरले काम गरेरमात्रै अपेक्षित प्रगति हासिल हुन नसक्ने भएकाले इमान्दार र जिम्मेवार भएर काम गर्न बस्नेतले सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई आग्रह गरे।
राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्नसमेत उनले ध्यानाकर्षण गराए।
मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनका आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मिहिनेत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिए।
जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले पनि यस मन्त्रालयको भूमिका झनै महत्वपूर्ण रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतको भनाइ छ।
‘जनताले प्रत्यक्ष राहत पाउने गरी कार्यसम्पादन हुनु आवश्यक छ। चाडपर्व पनि सकिएका छन्। अब कुनै पनि बहाना चल्ने छैन,’ उनले भने, ‘तोकिएको लक्ष्य पूरा गर्न जिम्मेवार भएर लाग्नुस्।’
मन्त्री बस्नेतले ठूला आयोजनामा देखिएका समस्या समाधान गर्न पनि निर्देशन दिए। यस्तै सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भमा मन्त्रालय र मातहतका निकायले त्यसको तयारी गर्न उनले आग्रह गरे। यसै महिना अन्तिमसम्म त्यसको एकमुष्ट विवरण पेस गर्न मन्त्री बस्नेतले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएका थिए।
छलफलमा मन्त्रालयका सचिव गोपाल सिग्देलले प्राथमिकता क्रम निर्धारण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।
छलफलमा मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयमातहत कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।