काठमाडौं। पृथ्वी राजमार्गमा पर्ने पाल्पामा निर्माणाधीन ‘सिद्धबाबा सुरुङमार्ग’ को नियमित काम सुरु भएको छ। बर्खामा पहिरोले अवरुद्ध निर्माण कार्य साढे तीन महिनापछि नियमित सञ्चालनमा आएको हो।
सुरुङमार्ग निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले जेठबाट फिल्डमा काम सुरु गरेको थियो। त्यसको दुई महिनापछि अर्थात साउनमा पहिरो गएपछि निर्माणको काम कात्तिक मध्यबाट मात्रै नियमित सञ्चालनमा आएको हो।
नेपालको सडक सञ्जालमा आधुनिकरूपमा निर्माण गर्न लागिएको सिद्धबाबा सुरुङ दोस्रो हो। त्यसबाहेक काठमाडौं र धादिङ जोड्ने नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ।
२०७८ फागुनमा चाइना स्टेट र सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबीच पाँच वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले डिजाइन तयार गरेर केन्द्रलाई बुझाइ स्वीकृत डिजाइनअनुसार जेठबाट फिल्डमा काम सुरु गरेको थियो।
हरेक वर्ष बर्खामा पहिरो गएर यातायात सेवा अवरुद्ध भएपछि सरकारले सिद्धबाबामा सुरुङ बनाउन लागेको हो। चाइना स्टेटले सुरुङ खन्नु पहिला पहिरो रोकथामका लागि काम गरेकै समयमा साउनमा पहिरोले अवरुद्ध गरेको विकास केन्द्रअन्तर्गतको सिद्धबाबा सुरुङमार्ग आयोजनाका इन्जिनियर सविता ज्ञवाली बताउँछिन्।
इन्जिजियर ज्ञवालीका अनुसार साउनमा गएको पहिरो दसैंपछि हटाइएको थियो। ‘साउनमा पहिरो जाँदा नियमित काम गर्न सजिलो थिएन,’ ज्ञवालीले क्यापिटल नेपालसँग भनिन्, ‘दसैंपछि पहिरो पन्छाएर नियमित कम भइरहेको छ।’
पहिरो पन्छाएपछि चाइना स्टेटले सुरुङको प्रवेशमार्ग (पोर्टल) को काम गरिरहेको छ। विकास केन्द्रले डिजाइन स्वीकृत गरेअनुसार निर्माण कम्पनीले काम गर्दैछ।
मुख्य सुरुङ खन्ने समय अनिश्चित
सुरुङमार्गको बाहिरी भाग ‘पोर्टल’ निर्माणाधीन भए पनि मुख्य सुरुङ खन्न अझै सुरु भएको छैन। पोर्टलको काम नसकिएको तथा निर्माण कम्पनीले दिएको डिजाइन विकास केन्द्रले स्वीकृत नगर्दा सुरुङ खनिएको छैन।
‘डिजाइन स्वीकृत गर्न धेरै समय लाग्दैन, तर सुरुङ खन्न आवश्यक पोर्टल तयार गरेर पहिरोले अवरोध नहुने बनाउनुपर्छ अनिमात्रै खन्न सुरु हुन्छ,’ इन्जिनियर ज्ञवाली भन्छिन्।
उनका अनुसार पोर्टलको काम कहिले सकिन्छ र सुरुङ खन्न कहिलेबाट सुरु हुन्छ भन्ने अझै निश्चित छैन।
जमिनमुनि खन्ने काममा हतार गर्न नहुने र चरण–चरणमा डिजाइन स्वीकृत भइरहेको आयोजनाले जनाएको छ। विकास केन्द्रसँग डिजाइन स्वीकृत गर्न समय बाँकी रहेकाले हतार गर्नुपर्ने अवस्था नरेहको पनि जनाएको छ।
चाइना स्टेटले पाँच वर्षको म्यादमध्ये बढीमा एक वर्षभित्र सुरुङको डिजाइन तयार गरेर केन्द्रलाई दिनुपर्ने र बाँकी चार वर्षमा निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ।
चाइना स्टेटले सम्झौताअनुसार डिजाइन तयार गरेर विकास केन्द्रलाई दिइसकेको छ। केन्द्रले नौ महिनाभित्र डिजाइन अध्ययन गरेर स्वीकृत गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले दिएको डिजाइन केन्द्रले सडक विभाग तथा स्वीजरल्यान्डका प्राविधिकसँगको सहकार्यमा अध्ययन गर्दैछ।
पहिला काम गर्नुपर्ने भागको डिजाइन पहिला स्वीकृत गरेर अरू बिस्तारै भइरहेको केन्द्रले जनाएको छ। डिजाइनका कारण काममा बाधा नहुने इन्जिनियर बताउँछन्। अहिले जति काम भइरहेको छ, त्यो सबै स्वीकृत भएको हो। मुख्य सुरुङको डिजाइन पनि छिट्टै स्वीकृत हुने केन्द्रको भनाइ छ।
बर्खाअघि सबै डिजाइन स्वीकृत गर्ने योजना बनाए पनि स्वीजरल्यान्डको प्राविधिक टोलीले केही विषयमा थप छलफल गर्नुपर्ने जनाएपछि समय लम्बिएको हो।
१ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। सुरुङ निर्माण ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा हुँदैछ।
इपिसी मोडेलमा ठेक्का सम्झौता गरेपछि निर्माणाधीन समयमा आउने हरेक समस्या र चुनौती निर्माण कम्पनीले नै बेहोर्नुपर्ने हुन्छ। जसका कारण सिद्धबाबामा पहिरो जाँदा सरकारलाई आर्थिक भार नपर्ने इन्जिनियरहरू बताउँछन्।
साथै, बर्खामा पहिरो जाने र अन्य समस्याका विषयमा ख्याल गरेरै निर्माणको म्याद तय भएकाले कहिलेकाहीँ आउने समस्याले धेरै असर नपर्ने इन्जिजियर ज्ञवाली बताउँछिन्। सुरुङ निर्माणको म्याद २०८३ फागुनसम्म छ।