काठमाडौं। नेपालभित्र तीन तरिकाबाट अवैध बाटो हुँदै सामान भित्रिने गरेको पाइएको छ। सरकारी संयन्त्रका अनुसार भारतबाट स-सानो परिमाणमा सामान ल्याएर बजारमा आपूर्ति गर्ने, ठूला कारोबारी, सीमाक्षेत्रका सहरका मानिस आफ्नो आवश्यकताका वस्तु किनेर ल्याउने गरेको पाइएको हो।
दैनिक रोजगारीका साथै घरखर्च चलाउन स्थानीयहरू प्रयोग हुने, ठूला कारोबारीले सीमापारिका सहरसम्म सामान मगाउने, त्यहाँ सामान राख्ने र सामान ओसारपसार गर्ने समूहलाई निश्चित रकम तिरी ढुवानी गर्न दिने तथा नेपालतर्फ आएपछि ढुवानी भाडा भुक्तानी गर्ने समूह बढ्दै गएको सरकारी अधिकारीको निष्कर्ष छ।
केही दिनअघि सुरक्षा निकायसँग भएको छलफलमा भन्सारसँग सेटिङ गरेर एक सामानको बिल बनाइ अर्काे सामान मगाउने र भन्सारको ग्रिन च्यानल र एल्लो च्यानलबाट पास गराइ ट्रकका ट्रक सामान अवैध आयात गर्ने गरिएको पत्ता लागेको हो। यसमा बढी राजस्व अपचलन हुने र प्रहरी प्रशासनसँग समेत मिलोमतोमै अवैध कारोबार बढिरहेको निष्कर्ष निकालिएको छ।
राजस्व असुली नबढेपछि केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करसहितको अर्थ टोलीले सशस्त्र प्रहरीदेखि नेपाल प्रहरीसँग विभिन्न नाकाबाट चोरी पैठारी बढ्दा राजस्व उठ्तीमा समस्या भएको निष्कर्ष निकालेको थियो।
करिब १ हजार ७ सय किलामिटर खुला सिमाना रहेको मुलुकमा अवैध कारोबारले ठूलो हिस्सा ओगट्दै गइरहेको छ। अवैध कारोबारलाई नियन्त्रण गरी वैध कारोबारलाई बढावा दिन भन्सारका अधिकारी, राजस्व अनुसन्धानका अधिकारी सक्रिय हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन।
सीमाक्षेत्रमा सुरक्षा फौज छ, स्थानीय प्रशासन छ। गुप्तचर विभाग सक्रिय छ। ठाउँ–ठाउँमा प्रहरीले दिनरात निगरानी गरिरहेको छ। स्थानीय प्रशासनको काम अवैध व्यापार नियन्त्रण गर्नु पनि हो।
ठाउँ-ठाउँमा राजस्व अनुसन्धान विभाग खडा गरी चेक गरिएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), भेइकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) आदि पद्दतिबाट कारोबार पारदर्शी गर्न खोजिए पनि सम्भव भएको छैन।
अवैध कारोबारीले न राजस्व बुझाउनुपर्छ, न हिसाबकिताब नै राख्नुपर्छ, न विभिन्न सरकारी निकायको निगरानीमा पर्नुपर्छ। यही कारण अवैध व्यवसाय फस्टाएको छ।
चोरी पैैठारी बढ्दा एकातिर स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ भने अर्कातिर राज्यले पनि राजस्व गुमाइरहेको छ। सरकार चालू खर्च धान्न ऋण लिनुपर्ने अवस्थामा पुगेको छ। यस्तो बेलामा सीमा क्षेत्रबाट खुलेआम चोरी पैठारी भइरहेको छ।