काठमाडौं। सफलता नाप्ने कुनै यन्त्र नभएरै होला सामान्तयतया आफ्नो व्यवहार सहज चलाउन सक्नेलाई सायद सफल भन्ने गरिन्छ। काठमाडौंमा आफ्नै घर, गाडी र सानै भए पनि व्यवसाय गरिरहेकालाई सफल व्यवसायी भन्दा अतिशयोक्ति नहोला। जसले सानो लगानीबाट ठूलो सफलता हात पार्छ, तिनीहरूले गरेको दुःख र कष्ट धेरैका लागि प्रेरणादायी पाठ हुने गर्छ।
धेरैको सपना हुन्छ– अमेरिका र क्यानडा गएर बस्ने। अनि, उतै रमाउने, उतै कमाउने र उतै पलायन हुने। यस्तोमा केही अपवाद बनेर निस्किन्छन्। जसलाई अमेरिका र क्यानडामा बस्ने अवसर मिल्दा पनि आफ्नै जन्मभूमि फर्किएर काम गर्ने हुटहुटीले नेपाल फर्काउँछ। तीमध्ये एक अपवाद हुन्– गणेश पराजुली।
खोटाङ नेर्पामा २०३७ साउन १३ मा जन्मिएका गणेश हातले बनाएका सामान उत्पादनसँगै विभिन्न देशमा निर्यात गर्दै आएका छन्।
अहिले काठमाडौंमै पूर्णरुपमा व्यवस्थित भइसके पनि उनको बाल्यकाल भने त्यति सहज थिएन। बुबाले सानिआमा बिहे गरेपछि आफ्नो आमासँग छुट्टिएको र बुबा नेपाली सेना भएकाले जहाँ–जहाँ सरुवा हुन्थ्यो, त्यहीँ गएर पढ्नुपर्ने बाध्यता उनले भोगे।
गाउँमा थोरै जग्गा भएकाले वर्षभरि राम्रोसँग खानसमेत उनको परिवारलाई धौधौ हुन्थ्यो। दुःखसुख गाउँ र सहर गरेर एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न २०५४/५५ सालतिर काठमाडौं आए।
काठमाडौं आउँदा उनीसँग कुनै सपना थिएन। शिक्षा संकाय अध्ययन गर्ने र गाउँमा मास्टरी पेसा गर्न फर्कने सोच थियो। थोरै भए पनि जग्गा भएकाले खेती किसानीसँगै गाउँकै विद्यालयमा काम गर्छु भन्ने सपना उनको थियोे। तर, काठमाडौं आउँदा उनले बुनेको शिक्षक बन्ने सपना विपनामा परिणत भएन।
किनकि, उनी काठमाडौं आइपुग्दा शिक्षा संकायमा भर्ना बन्द भइसकेको थियो। र, सरस्वती क्याम्पसमा वाणिज्य संकायमा भर्ना भए। त्यहाँबाट आइकम सकेपछि भने काम गर्न थाले। सुरुमा होटल क्षेत्रमा काम गर्न फुड एन्ड बेभरेज तालिम लिएर केही समय रेस्टुरेन्टमा काम गरे।
उनलाई सानैदेखि अंग्रेजी सिक्ने रहर थियो। त्यो रहर पूरा गर्न प्लस २ अध्ययनकै क्रममा उनले म्हैपीबाट भोटाहिटीमा कम्प्युटर कक्षा लिन जाने क्रममा ठमेल क्षेत्रमा भेटिएका प्रत्येक विदेशीसँग अंग्रेजी बोल्ने प्रयास गर्थे। जसबाट उनलाई अंग्रेजी बोल्न सजिलो हुन थाल्योे।
उनले सुरुवाती काम क्षेत्रपाटीको एक होटलमा गरे पनि त्यहाँ केही महिनामात्र बसे। र, ठमेलको नर्सिङचोक नजिकै रहेको एक रेस्टुरेन्टमा काम गर्न थाले। त्यो बेला फुड एन्ड बेभरेजमा काम गर्नेको अधिकतम तलब ३ हजार रुपैयाँसम्म थियो। तर, उनलाई महिनाको ५ सयमात्र दिने सर्तमा काम सुरु गरे। त्यहाँ बिहान ७ देखि राति ११ बजेसम्म गर्नुपर्ने सर्त थियो। उनलाई त्यो सर्त मान्नुपर्ने बाध्यता थियो किनकि त्यो बेला जागिरको अति नै खाँचो थियो।
सन् २००० तिरको कुरा हो। दिनहुँ लामो समय काम गर्नुपर्दा उनलाई सञ्चो भएन र एक दिन बिदा मागे। जुन दिन दसैंकाे टीका थियो। तर, रेस्टुरेन्ट सञ्चालकले बिदा दिएनन्, तर उनी पनि आएनन्। त्यसको भोलिपल्ट काममा आउँदा सञ्चालकले ‘अबदेखि आउनुपर्दैन’ भनिदिए। ‘त्यसोभए तलब दिनुस्’ भन्दा ‘दिन्नँ’ भने र दिएनन्। तलब नपाएपछि निराश हुँदै फर्किएका गणेशले अर्को रेस्टुरेन्टमा ३ हजार तलब लिएर काम सुरु गरे।
दुबईमा ३० हजार कमाउने सपना दुई महिनामै तुहियो
रेस्टुरेन्टमा काम गरिरहँदा उनले कामसँगै बिबिएस पढाइ पनि अगाडि बढाइरहेका थिए। त्यही बेला उनलाई विदेश जाने मोह चल्यो। र, भएको जागिर छाडेर दुबईको एक तेल कम्पनीमा नेपाली ३० हजार रुपैयाँ तलब पाउने गरी गए। तर, विडम्बना स्वास्थ्य जाँचका क्रममा छातीमा दाग देखिएपछि फर्किनुपर्याे। प्रायः नेपालीलाई विदेशमा पुगेपछि छातीमा त्यसखालको दाग देखिन्छ।
३ हजारबाट ३० हजार तलब पाउने सपना दुई महिनामै तुहिएपछि निराश हुँदै नेपाल फर्किएका गणेशले हस्तकला निर्यात गर्ने न्यु दाहाल ट्रेडर्समा सेल्सम्यानका रूपमा काम सुरु गरे। त्यहाँ काम गरिरहँदा उनले पढेका र सिकेका कुरा भरपुर उपयोग गर्न सफल भए। जसले उनको आर्थिक स्थिति पनि बिस्तारै सुधार हुँदै थियो।
तर, गणेशको विदेश जाने मोह भने हराएको थिएन। र, अर्को कम्पनीमा काम गर्न जान आवेदन दिए। त्यही बेला उनले आफ्नो अध्ययन पनि अगाडि बढाइरहेका बेला विदेश जाने कम्पनीले काममा जान बोलायो। र, काम गरिरहेका कम्पनीका सञ्चालकसँग पनि सल्लाह गरेपछि उनी कुवेतको एक पिज्जा कम्पनीमा दुई वर्षका लागि २००१ मा गए। काम गरिरहँदा उनले त्यहाँ ११ वटा पुरस्कार पाए।
तर, उनको पदोन्नति कहिल्यै भएन। त्यो बेला तलब पनि १८ देखि २० हजारमात्र भएर उनी त्यहाँबाट फर्किएर नेपाल आउने तयारीमा लागे। तर, उनलाई त्यो बेला कम्पनीका सञ्चालकले काम गर्ने अवधिको सम्झौता गर्न दबाब दिइरहेका थिए। तर, उनी त्यहाँबाट फर्किएर पहिलाकै कम्पनीमा सेल्समै काम सुरु गरे।
हस्तकला सामान अनलाइनमार्फत निर्यात सुरु
कम्पनीमा काम गरिरहँदा उनले आफ्नै स्वामित्वमा व्यापार गर्ने सोच बनाए। त्यही कम्पनीमा काम गरिरहँदा उनलाई आफ्नो कामका लागि पनि धेरै सहयोग पुग्यो। त्यतिखेर नेपालमा इन्टरनेट डायलअप नै इन्टरनेट थियो। वल्र्डलिंकको केबुल इन्टरनेट भर्खरै सुरु भइरहेको थियो।
त्यतिखेर अलिबाबाको पनि सुरुवाती समय थियो र व्यापारमा विज्ञापन हाल्ने काम पनि भर्खरै भइरहेको थियो। नेपालबाट अलिबाबामा विज्ञापन गर्ने नेपालको दोस्रो व्यक्ति थिए उनी। गोल्डमेम्बरसिप अहिले पनि सुरक्षित रहेको बताउँदै त्यो बेला उनी नेपालको सप्लायर भएर त्यहाँ आबद्ध भएका थिए।
त्यो बेला अलिबाबाले वार्षिक ३ सय अमेरिकी डलर शुल्क लिने गरेको थियो। अहिले त्यो बढेर ६ हजार डलर पुगेको छ। अलिबाबाको प्लेटफर्म प्रयोग गरेर विश्वबजारमा नेपाली हस्तकलाका सामान बिक्री वितरण सुरु गरेर आफ्नो व्यावसायिक यात्रा अगाडि बढाएका गणेश त्यो बेलासम्म जागिर पनि खाइरहेका थिए।
अमेरिकीसँगको त्यो संवाद, जुन बन्यो व्यापारको ‘टर्निङ प्वाइन्ट’
अनलाइनमा सामान बिक्री गरिरहेका बेला उनको एक अमेरिकी ग्राहकसँग भेट भयो। ती अमेरिकी हेलेन अमेरिकामा आफ्नो व्यवसाय सञ्चालनको तयारीमा थिए र गणेश नेपालमा उत्पादन भएका वस्तु बजारीकरण गर्न खोजिरहेको बेला उनीती व्यक्तिसँगको कम्यूनिकेशन लामो भइरहेको थियो।
एक दिन हेलेनले गणेशलाई प्रश्न गरे– ‘तिमी त्यहाँ महिनाको कति तलब खान्छौं?’ र, गणेशले भने– ‘मासिक १० हजार’ भनेर जवाफ थिए। तर, खास उनको तलब ५ हजारमात्र थियो।
उनको जवाफ सुनेर हेलेनले ‘महिनाको ५० हजार कमाउने बनाइदिन्छु, तर मेरो सहयोगी बनेर काम गर्नुपर्छ’ भन्ने सर्त राखे। र, पहिलो महिना नै १ लाख रुपैयाँभन्दा बढी रकम बचाउन सफल भए। हेलेनले अमेरिकी बजारमा खुद्रा व्यापार गर्न थाले भने गणेशले नेपालको सामान त्यहाँ पठाउन लागे। यो नै उनको व्यापारको टर्निङ प्वाइन्ट बन्यो।
अनलाइनबाट पहिलो अर्डर पाउँदा उनी चकितमात्र परेनन्, वैैवाहिक यात्राका लागिसमेत सहयोगी बन्यो। त्यही बेला उनी विवाह गर्ने तयारीमा थिए। हाल रहेकी श्रीमतीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा थिए। तर, उनलाई विवाहका लागि खर्च चाहिने भएकाले खर्च जोहोमा लागिरहेका बेला पहिलो ‘बिजनेस डिल’ हुनुलाई चमत्कारका रूपमा लिए।
खोटाङको गरिब परिवारको छोरा र काठमाडौंको मध्यमवर्गीय परिवारको छोरीसँग विवाह गर्न खर्चको समस्या भयो। उनले ससुराली पक्षले राखेको प्रस्ताव स्वीकार गर्दै आवश्यक खर्च गर्न तयार भए। त्यही बेला पहिलो बिजनेस डिल नै करिब ३ लाखबराबरको भएकाले त्यसलाई सुरुवाती बाटो ठाने।
त्यही बेला उनलाई एडभान्ससमेत पठाइदिए। उनलाई त्यो डिल सफल हुनुअघि नै नाइजेरियाको डिल भने रद्द भएकाले पत्याइहालेका भने थिएनन्। जब, एडभान्स रकम नै आएपछि भने उनले विश्वास गरे र आफ्नो विवाहलाई शुभ संकेतका रूपमा लिए।
डिलअनुसार कारोबार सुरु भएसँगै हस्तकला निर्यातका लागि उनको आधार तय भयो। उनले आफू कार्यरत कम्पनीमा पनि काम गर्दै आफ्नो सामान पनि विदेश निर्यात गर्न थाले। कार्यरत कम्पनीका सञ्चालकले पनि सामान निर्यातका लागि सहमति दिएकाले कुनै विवाद भएन।
धर्म परिवर्तन नगर्दा अमेरिकी दम्पतीको धर्मपुत्र बन्न पाएनन्
विदेश जाने चक्कर चलिरहँदा गणेशलाई एक अमेरिकी दम्पतीले धर्मपुत्र बनाउने प्रलोभनमात्र देखाएन, प्रक्रियासमेत सबै पूरा गरिदिए। तर, अन्तिम सर्तमा धर्म परिवर्तन गरी चर्च गएर क्रिस्चियन बन्नुपर्छ भन्ने प्रस्ताव भने उनले स्वीकार गरेनन्। हुन त उनी आफ्नो धर्मप्रति कठोर भने होइनन्। तर, त्यो बेला धर्मपुत्र बन्नकै लागि आफूले मानिआएको धर्म छाड्नुपर्ने प्रस्ताव भने उनको अन्तरआत्माले स्वीकार गर्न सकेन। र, अमेरिकी दम्पतीको धर्मपुत्र बन्ने प्रस्ताव अस्विकार गरे।
हिमालयन ह्यान्डिक्राफ्टमार्फत व्यवसाय सुरु
गणेशले हिमालयन ह्यान्डिक्राफ्टमार्फत आफ्नो व्यावसायिक यात्रा सुरु गरे। यही कम्पनीबाट नेपालमा उत्पादन भएका वस्तु विश्वबजारमा प्रवद्र्धन गर्न अमेरिकाका विभिन्न सहरमा सहभागी हुन जाने मौका मिल्यो। र, उनले पठाउने सामानमध्ये सबैभन्दा बढी अमेरिकी बजारमा बिक्री हुने गरेको थियो।
जसले गर्दा उनले २०१० मा पहिलोपटक अमेरिका जाने प्रक्रिया अगाडि बढाए। तर, त्यो बेला उनलाई भिसा दिइएन। उनको तेस्रो प्रयासपछि मात्र अमेरिका जाने बाटो खुल्यो। त्यसपछि भने उनी हरेक वर्ष हुने ‘ट्रेड शो’ मा अमेरिका गइरहे।
निर्यात व्यापार राम्रो भएसँगै अब आफैंले पनि उत्पादन गर्नुपर्छ भन्ने सोच राखेर हिमालय ह्यान्डिक्राफ्टलाई हिमालय ह्यान्डिक्राफ्ट उद्योगमा परिणत गरे। साना तथा घरेलु उद्योग कार्यालयमा दर्ता गरेर उत्पादनसँगै निर्यातमा अहिलेसम्म लागिरहेका छन्। नेपाली कच्चापदार्थबाट हातले बनाएका सामाग्री विश्वबजारमा पु¥याउने काम अहिले पनि गरिरहेका छन्।
यो व्यापार गरिरहँदा अन्य व्यवसायजस्तो धेरै पैसा कमाउन नसके पनि आत्मसन्तुष्टि भने धेरै रहेको उनको भनाइ छ। शून्यबाट आएको मान्छेलाई आफ्नो पारिवारिकरूपमा आर्थिक व्यवस्थापन गर्नेदेखि रोजगारी सिर्जना गर्न सक्नुलाई नै सन्तुष्टिका रूपमा उनले लिँदै आएका छन्।
अघिल्लो वर्षसम्म उनको कम्पनीमा ३ सयभन्दा बढीले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। जति धेरै माग बढ्यो, त्यति नै धेरै श्रमिकले रोजगारी पाउँछन्। न्यून श्रमिक हुँदा पनि ३५ देखि ४० जनाले काम गरिरहेको उनी बताउँछन्। खेर गइरहेको नेपाली कच्चापदार्थ प्रयोग गरेर बनाएको सामान निर्यात गरेर विदेशी मुद्रा ल्याउनुमा सबैभन्दा ठूलो आत्मसन्तुष्टि मिलेको उनी बताउँछन्।
पलायन हुन अमेरिका पुगे, तर दुई महिनामै फर्किए
सन् २०१० अन्त्यतिर मुलुकमा माओवादी पार्टी शान्ति प्रक्रियामा आएसँगै ट्रेड युनियनको दबदबा बढेपछि धेरै व्यवसायी पलायन भए। त्यसबाट गणेश पनि अछुतो रहेनन्। र, नेपालको व्यापार माया मार्दै परिवारसहित अमेरिका गए। त्यहाँ दुई महिनाजति बसिकेपछि भने उनलाई नेपाल फर्किने जोश चल्यो। अनि, फर्किए।
त्यो बेला उनलाई अमेरिका वा क्यानडा बस्ने अवसर थियो। त्यतिमात्र होइन, क्यानडाका एक ग्राहकले भने नेपालमा सुरु गरेको बिजनेस त्यहीँ बसेर गर्ने प्रस्ताव पनि उनलाई आए पनि स्वीकार गरेनन्। अन्त्यमा श्रीमती, छोरा र छोरीले अमेरिका नबसी नेपालमै फर्कने अडान लिएपछि उनी नेपाल फर्किए। र, उही पुरानो व्यवसायलाई निरन्तरता दिए।
छिन्नभिन्न परिवार एक बनाए
बुबाले सानिआमा विवाह गरेपछि पारिवारिक माहोल त्यति राम्रो थिए। आर्थिक हिसाबले सम्पन्न नभइरहेका बेला गणेशले बिस्तारै सफलता लिन थालेपछि सबै परिवार मिलाएर लैजानुपर्छ भन्ने सोच उनले राखे। आर्थिक पाटो व्यवस्थापनमा घरका सबै सदस्यलाई मिलाउनुपर्छ भनेर सबैलाई आफ्नै व्यवसायमा जिम्मेवारी बाँडफाँट गरे। घरको जेठो छोरा भएकाले पनि मिलाउनुपर्ने बाध्यता उनमा थियो।
व्यवसायसँगै व्यावसायिक संघसस्थामा समेत गणेश क्रियाशील हुँदै आए। नेपाल निर्यात परिषदको नेतृत्वदायी भूमिकामा काम गरिरहेका बेला उनी अन्य व्यवसायमा पनि आबद्ध भए। हस्तकलासँगै सिसाको ब्लोइङ आर्ट बनाउन आवश्यक अक्सिजनका लागि करिब १५ करोड लगानीमा साथीहरूसँगको सहकार्यमा नुवाकोट ककनीमा आफ्नै प्लान्ट स्थापना गरे। यस्तै ब्यांक्वेट हलमा पनि लगानी विस्तार गर्दै आएका छन्।
रास्वपा स्थापनादेखि संसद यात्रा
राजनीतिमा खासै चासो नराख्ने गणेश राजनीतिमा एकाएक छाएका राजनीतिज्ञ हुन्। उनी २०७९ को आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत काठमाडौं–७ बाट निर्वाचित सांसद हुन्। व्यावसायिकरूपमा आत्मसन्तुष्टि मिल्न सक्ने खालको आम्दानी गर्न सुरु गरेपछि उनले बिस्तारै राजनीतिमा चासो राख्न लागेका थिए। राज्यलाई नजिकबाट बुझ्नुपर्छ र युवाले गर्नुपर्छ भन्ने सोच राखिरहेका बेला रवि लामिछानेसँग भेट भयो र विचार मिल्ने साथीहरूसँगको छलफलपछि रास्वपा गठनमा लागे।
त्यसपछि स्थापना भएको ६ महिनामै २२ सांसद लिएर मुलुकको चौथो ठूलो पार्टीका रूपमा रास्वपा उदायो। यसरी छोटो समयमै जनताले यति धेरै माया दिनुको कारण पार्टीमा आबद्धहरूको चाहना र धारणा भनेको जसको स्वार्थ देश बनाउनेभन्दा अरू छैन र जसको धरातल खराब भएका छैनन्।
साना तथा मझौला व्यवसायीको सम्बोध गर्ने तहमा
उनी आफैं घरेलु तथा साना उद्यमीबाटै उदाएका कारण त्यस क्षेत्रका उद्योगी–व्यवसायीका समस्या नजिकबाट नियालेका छन्। अब उनले तमाम उद्योगी–व्यवसायीको समस्या समाधान गरी नयाँ लगानीकर्तालाई आकर्षण गर्ने खालको नियम कानुन बनाउन छलफल अगाडि बढाएका छन्।
उनी हाल संसदको उद्योग तथा वाणिज्य समिति सदस्य छन्। र, रास्वपामा पनि उद्योग तथा वाणिज्य विभागको जिम्मेवारी लिएका छन्। पुँजी अभावमा बैंकले संम्बोधन नगरेको आम गुनासो सम्बोध गर्न बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गर्ने काम भइरहेको छ। त्यसका लागि मौजुदा कानुन र संशोधन गर्नुपर्ने विषयमा छलफल भइरहेको छ।
व्यापारमा लगानीमात्र होइन, ज्ञान पनि चाहिन्छ
व्यापार–व्यवसाय गर्न ठूलो लगानी नै चाहिन्छ भन्ने धारणा उनमा लागू भएनन्। आफू कुनै क्षेत्रमा ज्ञाता भए त्यसलाई आफ्नो विज्ञता प्रयोग गरे व्यावसायिक सफलता दिलाउन सकिन्छ भन्ने उदाहरण उनले देखाएका छन्। उनले व्यवसाय सुरु गर्दा ठूलो लगानी गरेका थिएनन्। मात्र, आफूले काम गरिरहेको कम्पनीको सामान निर्यात गर्ने क्रममा विभिन्न प्लटेफर्म खोजी गर्दा ‘अलिबाबा’ प्रयोग गरेर व्यवसाय विस्तार गरेका थिए।