तनहुँ। पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँ व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटक चहलपहल बढ्न थालेको छ।
विशेषगरी सूर्योदय हेर्न पर्यटक मानुङकोट जाने गर्छन्। समुन्द्र सतहबाट करिब १ हजार २ सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट आठ किलोमिटर दूरीमा पर्छ।
जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन्। टाढा–टाढाबाट आउने पर्यटक सूर्योदय हेर्न अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको व्यवसायी चूडामणि दाहालले जानकारी दिए।
बास बस्न आउने पर्यटकले सूर्यास्तका साथै भोलिपल्ट सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गरेको उनले बताए। दमौली बजारआसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्छन्। अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी भीड लाग्ने गर्छ।
मानुङकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक ३ सयदेखि ४ सयसम्म हुने गरे पनि मुस्किलले १ सयदेखि डेढ सयसम्म व्यवस्थापन गर्न सकिएको होटल व्यवसायी दाहालले बताए।
पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्न गरेका छन्। बजारको प्रशोधित जार र ट्यांकरको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ। हाल उक्त क्षेत्रमा व्यावसायिकरूपमा करिब एक दर्जनहाराहारी होटल सञ्चालन हुँदै आएका छन्।
त्यस क्षेत्र जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको छ।
मानुङकोटमा प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग राखेका छन्। पर्यटन प्रवर्द्धनका लागि मानुङकोट प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल भएको व्यास–५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए।
पानीको समस्या समाधान गर्न सोही वडाको सिर्दिबाट पानी लिफ्ट गर्न २ करोड विनियोजन भइसकेको व्यास नगरपालिकाले जनाएको छ। तिहारलगत्तै पानीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताए।
‘दैनिक ७ सयदेखि १ हजारहाराहारी पर्यटक घुम्न आउने गरेका छन्,’ उनले भने, ‘पर्यटक सहजताका लागि आठ किलोमिटरमध्ये करिब पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ।’
बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उनले बताए। मानुङकोटमा पर्यटक चहलपहल बढ्न थालेसँगै होटल खुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ।
व्यास नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।