धनुषा। छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै भारतमा ४ करोडको केरा आयात भएको छ। छठमा ब्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ।
छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उहाँका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको अध्यक्ष यादवको भनाइ छ। ‘गत वर्ष पौने २ करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो,’ उनले भने, ‘यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।’
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीका भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतका आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भूवनेश्वर पूर्वेले जानकारी दिए।
छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। ‘छठ मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो। बजार मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५ देखि २० ट्रक बढी केरा मगाइएको छ,’ उनले भने।
समिति अध्यक्ष यादवका अनुसार १० चक्के ट्रकमा १ हजार २ सय घरी आउँछ। प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको खर्च ५ लाख पर्छ। बजारमा प्रत्येक केराको घरी ५ सयदेखि १ हजारसम्ममा बिक्री गरिन्छ।
नेपालका हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोबस्टा, बिलियम हाइब्रिडलगायत जातका केरा उत्पादन हुँदै आएको छ। सम्भावना हुँदाहुँदै प्राविधिक समस्याका कारण केरा उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।