काठमाडौं। सार्वजनिक-निजी साझेदारीमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना फेरि ६ महिनापछि धकेलिएको छ।
१ सय ११ मेगावाट क्षमताको आयोजनाबाट आउँदो चैतभित्र बिजुली उत्पादन गर्ने लक्ष्य तय भएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ।
यसअघि असोजभित्र बिजुली उत्पादन लक्ष्य तय थियो। आयोजनाको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। समय थपिएसँगै आयोजनाको लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको रसुवागढीको भनाइ छ। यो लागत निर्माण अवधिको ब्याजबाहेक हो। निर्माण अवधिको ब्याजसमेत थप्दा आयोजनाको लागत अझ बढ्ने छ।
यसअघि आयोजनाको अनुमानित लागत बढेर निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब ५६ करोड रुपैयाँ पुगेको थियो। निर्माण सुरु हुँदा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) लागत अनुमान गरिएको थियो।
भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थप हुँदा लागत बढ्न गएको कम्पनीले जनाएको छ। आयोजनाको लागत ४ अर्ब ७८ करोड रुपैयाँ बढेको छ।
आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड आम्दानी गर्ने छ। आयोजना सञ्चालनबाट उत्पादन हुने ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी उक्त रकम आम्दानी गर्ने भएको हो।
रसुवागढी आयोजना २०७६ फागुन ७ मा सक्ने लक्ष्य थियो। त्यसपछि पटक–पटक आयोजनाको म्याद थप हुँदै आएको छ। सरकारले गत आर्थिक वर्ष सक्ने लक्ष्य लिएको थियो। यसअघि आगामी पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य विकासकर्ता रसुवागढीले जनाएको थियो। सरकारले पनि रसुवागढी आयोजना चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखेको छ।
यसअघि २०७९ असारबाट बिजुली उत्पादन गर्ने लक्ष्य घर्किएपछि ६ महिना समय थपेर २०७९ पुस पुर्याइएको थियो। पुसमा पनि सम्भव नभएपछि फेरि तीन महिना थपेर चैत पुर्याइएको थियो।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत प्राधिकरणसँग बिजुली खरिद–बिक्री सम्झौता (पिपिए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी भएको हो।
प्रत्येक तीन महिनामा ब्याज सावाँमा पुँजीकरण हुँदै आएको छ। सञ्चय कोषले रसुवागढीसँग १०.५ प्रतिशत ब्याज लिँदै आएको छ। यस्तै कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिसकेको छ।सन् २०१४ बाट आयोजना निर्माण सुरु भएको थियो। एक दशक बितिसक्दा पनि रसुवागढी आयोजनाको काम सकिएको छैन। आयोजनाको ४ हजार १ सय ८५ मिटर सुरुङ २०७६ भदौ ४ बाट तयार भइसकेको छ। आयोजना निर्माण तीन लटमा भएको छ।
पहिलो सुरुङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) हो।
दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकोमा उसले नसकेपछि ठेक्का तोडिएको कम्पनीले जनाएको छ।
ठेक्का तोडिएपछि कम्पनीले पुनः बोलपत्र आह्वान गर्दा रोयल कन्स्ट्रक्सन कम्पनीले बाँकी काम सक्ने जिम्मा पाएको थियो। उसले पनि बाँकी काम सम्पन्न गरेको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ। रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ।
आयोजनामा विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेड ३२.७९, सर्वसाधारण १९.५, रसुवाका स्थानीयबासिन्दाको १५ र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व छुट्ट्याइएको छ।
नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान हुनेछन्। आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ।