काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट हालसम्ममा आधा दजर्न अर्थात ६ लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था,आरएसडिसी लघुवित्त वित्तीय संस्था , धौलागिरी लघुवित्त वित्तीय संस्था , सर्पोट लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन । नेपाल स्टक एक्सचेन्ज ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत रहेका छन् ।
यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको थियो।
त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितको लागि कम्पनीले मङसिर १५ गते साधारण सभा बोलाएको छ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मङसिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मङसिर ६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै गरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।