काठमाडौं। पछिल्लो तीन महिनामा २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) आयात भए। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा २ हजार १ सय ३५ थान विद्युतीय कार, जिप र भ्यान आयात भएको छ।
विभागका अनुसार यी गाडी आयात गर्दा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बाहिरिएको छ भने २ अर्ब २४ करोड २१ लाख ७५ हजारबराबर राजस्व संकलन भएको छ।
यो संख्या गत वर्षभन्दा तीन गुणा धेरै हो। गत वर्ष सोही अवधिमा २ अर्ब ५० लाख ६५ हजारबराबरको ७ सय ५ थान विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो। जसबाट ६२ करोड २२ लाख ६ हजार राजस्व संकलन भएको थियो।
यो त चार पाङ्ग्रे प्यासेन्जर भेइकलको मात्र हो। ठूला कमर्सियल, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको आयात पनि तीव्र गतिमा बढिरहेको छ।
वातावरणीय हिसाबले राम्रो मानिएको विद्युतीय सवारीसाधनको यतिबेला ब्याट्री व्यवस्थापनको चर्चा चुलिएको छ।
वर्षिक हजारौं संख्यामा भित्रिने विद्युतीय सवारीसाधनको ब्याट्री प्रयोगविहीन भएपछि त्यसलाई कसरी ‘डिस्पोज’ गर्ने भन्ने चर्चा विश्वव्यापीरूपमा उठिरहेको छ।
जुरी नेपाल नामक संस्थाले २०७७ साउनमा हालेको रिटको सुनुवाइ गर्दै २०८० वैशाखमा सर्वोच्च अदालतले विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापनका विषयमा अध्ययन गर्न समिति बनाउन परमादेश दिए पनि हालसम्म समिति बन्न सकेको छैन।
यद्यपि, चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले विद्युतीय सवारीसाधन आयात गर्ने आयातकर्ता कम्पनी वा ब्याट्रीमात्रै आयात गर्ने कम्पनीले बिक्री गरेका ब्याट्रीको स्वयं व्यवस्थापन गर्नुपर्ने तथा ब्याट्री व्यवस्थापन गर्ने योजना वर्षको एकपटक सार्वजनिक गर्नुपर्ने स्पष्ट पारेको छ।
हाल नेपालमा रहेका विद्युतीय सवारीसाधन आयातकर्ता कम्पनीले बजेटले भनेबमोजिम ब्याट्री व्यवस्थापन योजना भन्सारमा बुझाएर विद्युतीय सवारीसाधन आयात गरिरहेका छन्।
गाडीका ब्याट्री काम नलाग्ने भएपछि सवारीसाधन निमार्ता कम्पनीले नै फिर्ता लैजाने योजना रहेको बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका नेसनल सेल्स हेड आसुतोष गौतमले जानकारी दिए।
‘हामीले तोकेको समयपछि पनि ब्याट्रीको क्षमतामा थोरै मात्र ह्रास आउने हो। त्यसपछि पनि ब्याट्री विभिन्न घरायसी काममा प्रयोग गर्न सकिन्छ,’ गौतमले भने, ‘ब्याट्री कामै नलाग्ने भएपछि हामी ब्याट्री सवारीसाधन निमार्ता कम्पनीलाई डिस्पोजका लागि पठाउछौं।’
ब्याट्री व्यवस्थापनका लागि सवारीसाधन निर्माता कम्पनीसँग ब्याट्री डिस्पोज सम्झौता भइसकेको र त्यही योजना सरकारलाई बुझाएको नेपालका लागि विद्युतीय गाडी सेरेसको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तले बताए।
‘सेरेसले त आफैंले ब्याट्री डिस्पोज गर्ने व्यवस्था गरेको छ। सेरेसका ब्याट्री काम नलाग्ने भएपछि हामी रिएक्सपोर्ट गरेर चीन पठाउछौं,’ उनले भने, ‘त्यस्तै चीनमा ब्याट्री डिस्पोज गर्ने धेरै कम्पनी छन्। त्यसकारण विद्युतीय सवारीसाधन आयातकर्तालाई पनि समस्या नपर्ला।’