काठमाडौं। नेपालमा पछिल्लो समय `ई-लर्निङ´ प्लेटफर्म विकास र विस्तार बढ्दै गएको छ। सयम बचत हुने, आफूले रोजेको र भनेको समयमा पढ्न पाइने र लागतका हिसाबमा पनि तुलनात्मकरूपमा सस्तो पर्ने भएकाले यस्ता प्लेटफर्म रोजाइमा पर्ने गरेका छन्।
एउटै ई–लर्निङ प्लेटफर्ममा अधिकांश विषयसँग सम्बन्धित कुरा पढ्न र सिक्न सकिने भएकाले यस्ता प्रकृतिका प्लेटफर्म धेरै नै सञ्चालनमा छन्।
यस्तैमध्ये एक ई–लर्निङ प्लेटफर्म हो ‘मेरो स्कुल’। याे अनलाइन प्लेटफर्ममा स्कुल तहदेखि जापानी, कोरियाली भाषा, सेयर बजारको आधारभूत जानकारी र फोटोसप तथा लोगो डिजाइनसम्मका कुरा सिक्न सकिन्छ।
मेरो स्कुलको एप र वेबसाइट दुवै छ जसबाट आफूले चाहेको जुनसुकै भाषा र विषयवस्तुबारे अध्ययन गर्न सकिने व्यवस्था छ। यसमा नेपाल सरकारको पाठ्यक्रममा आधारित भिडियोहरू राखिन्छ।
यस एपमा पुराना प्रश्नपत्र हल गरिएका भिडियो, नयाँ पाठ्यक्रमअनुसारका सामग्री निरन्तर राख्ने र अपडेट गर्ने काम हुन्छ। हाल यस एप डाउनलोड गर्नेको संख्या ५ लाख बढी छ।
एक महिनामा करिब ८० हजार व्यक्तिले यसबाट विभिन्न किसिमका कोर्स लिने गरेका छन्। कम्पनीका अनुसार हालसम्म १ करोडभन्दा बढीपटक मेरो स्कुलको कोर्स खरिद भइसकेको छ। जसमा अधिकांशले दोहोर्याएर कोर्स किन्ने गरेका छन्।
१ देखि १० कक्षासम्म पढिरहेका विद्यार्थी, भाषा पढ्न चाहने, सेयर बजार बुझ्न चाहनेहरू यसका मुख्य प्रयोगर्ता रहेका छन्। नेपाली व्याकरण, अंग्रेजी विषय, कम्प्युटरको प्रयोगात्मक कोर्स पनि यसमा उपलब्ध छ।
कम्पनीका अनुसार यसका कोर्स अपडेट भइरहन्छन्। कुनै पनि कोर्स परिवर्तन हुनेबित्तिकै नयाँ कोर्स अपडेट गर्ने काम हुन्छ। यसले गर्दा पनि प्रयोगकर्ता संख्या उल्लेख्य छ।
आफ्ना सामग्री पनि बिक्री गर्न सकिने
मेरो स्कुल ई–लर्निङ प्लेटफर्ममा आफूले तयार गरेका कन्टेन्ट बिक्री गर्ने सुविधा पनि छ। जसमा कुनै पनि व्यक्तिले तयार पारेको सामग्री राखेर बिक्री भए त्यसवापत रकम प्राप्त गर्न सकिन्छ।
‘युट्युबमा आफ्ना सामग्री राखेमा च्यानल मोनिटाइज हुनुपर्ने र भ्युजको सीमा पनि पूरा गर्नुपर्ने हुन्छ,’ मेरो स्कुलका प्रतिनिधि अमृत पाठकले क्यापिटल नेपालसँग भने, ‘यसर्थ, मेरो स्कुलमा राखेको खण्डमा बिक्री हुनासाथ तत्काल पैसा आउँछ।’
उनले इन्जिनियरिङ अध्ययन गर्नेका लागि सफ्टवेयर रहेकाले त्यस्ता कुरा पनि बिक्री गर्न सकिने बताए। पाठकले इन्जिनियरिङका लागि मेरो स्कुल एपमा ४४ देखि ४५ विषय रहेको जानकारी दिए।
ई–लर्निङ प्लेटफर्ममा भएका सामग्री क्युआरबाट डाउनलोड गरेर पढ्न, वेबसाइटमा भिडियो हेर्न र एप डाउनलोड गर्न सकिन्छ। यस एपमा स्कुलको कोर्सका १ सय, इन्जिनियरिङका ५ सय ९९ तथा ६ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ।
यी सबैमा वार्षिक प्याकेज लिए ७० प्रतिशतसम्म छुटको व्यवस्था छ। मेरो स्कुलको सबैभन्दा बढी शुल्क भनेको सेयर बजारको कोर्सको छ। यसमा मासिक २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै, मेरो स्कुल एपमा अफलाइन व्यवस्था पनि छ।
जसमा एकपटक अफलाइनका लागि लिएपछि निश्चित समयसम्म इन्टरनेटबिना नै हेर्न तथा पढ्न सकिन्छ। यस ई–लर्निङ प्लेटफर्ममा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका कक्षा सञ्चालनमा छन्।
कसरी सुरु भयो ‘मेरो स्कुल’?
कोरोना महामारीका बेला भौतिक शिक्षा प्रभावित भएको थियो। बन्दाबन्दीको अवस्थामा सरकारले सामाजिक दूरी कायम गराएको थियो जसका कारण विद्यालय पनि बन्द थिए। यही अवस्थामा मेरो स्कुलको अवधारणा सुरु भएको थियो।
मेरो स्कुल एस्ट्रिक टेक्नोलोजीले सञ्चालनमा ल्याएको ई–लर्निङ प्लेटफर्म हो। जसको मुख्य उद्देश्य विद्यार्थीको पढाइमा कुनै पनि प्रकारको असर नपरोस भन्ने हो।
त्यसैले यसबाट कोभिड–१९ का कारण छुटेको पढाइ पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थी लक्ष्यित गर्दै यस प्लेटफर्म सुरुवात भएको थियो।
जुन हाल आएर धेरैका लागि सिकाइको एक महत्वपूर्ण माध्यम बनेको छ। यसमा बच्चादेखि बुढोपाकासम्मलाई काम लाग्ने कन्टेन्ट उपलब्ध गराइएको छ। यसका सामग्रीलाई आफूले चाहेको समयमा हेरेर सिक्न र पढ्न सकिन्छ।
मेरो स्कुल ई–लर्निङ प्लेटफर्ममा हाल २५ हजारभन्दा बढी अन्तर्क्रियात्मक भिडियोका साथ १ सय २० भन्दा बढी पाठ्यक्रमको पुस्तकालय उपलब्ध छ।
त्यस्तै यसमा राष्ट्रिय परीक्षा बोर्डले सिर्जना गरेका सबै शैक्षिक पाठ्यक्रम, बच्चाका लागि रमाइलो, आकर्षक र एनिमेटेड भिडियोका पाठ छन्। यसमा जिज्ञासु दिमागलाई पाठ्यक्रमभन्दा बाहिरका कुरा खोज्न जागरुक बनाउने, सजिलो र सहज सन्दर्भ सामग्रीमा पहुँच बढाउने सामग्री छन्।
भाषा, मल्टिमिडिया र कम्प्युटरसम्बन्धी ज्ञानमा पनि यो प्लेटफर्म सहयोगी छ। करिब दुई वर्षअघि ‘पढाइको नयाँ फन्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लेटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीको पढाइमा सहयोग गरेको कम्पनीको दाबी छ। साथै, यो प्लेटफर्ममा अन्य कोर्स पनि निरन्तर थप्दै जाने तयारी छ।