काठमाडौं। व्यवस्थापकीय अक्षमताले एक दशक अघिसम्म समस्याग्रस्त नेसनल हाइड्रोपावर कम्पनी (एनएचपिसी) लिमिटेडले जलविद्युतमा पुनः आक्रामक ररूपमा लगानी बढाएको छ।
एनएचपिसीले अहिले १ सय १० मेगावाट क्षमताका ५ जलविद्युत आयोजना एकसाथ अघि बढाएको छ। यी आयोजना बनाउन एनएचपिसीले अर्बौं रुपैयाँ लगानी गर्ने भएको छ।
आयोजना बनाउन कम्पनीले लगानी जुटाउन थालेको एनएचपिसीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए। एनएचपिसीले लगानीकर्तालाई लाभांश नबाँडी प्रस्तावित आयोजनामा लगानी बढाउने नीति लिएको उनले बताए।
एनएचपिसीले केही आयोजनामा बहुमत स्वामित्व र केहीमा कम हुने गरी लगानी गर्ने भएको छ। सञ्चालनमा रहेको ७.५ मेगावाटको माथिल्लो इन्द्रावतीसहित एनएचपिसीले लगानी गरेको जलविद्युत आयोजनाको जडित क्षमता १ सय १७.५ मेगावाट पुग्ने छ।
७.५ मेगावाटको इन्द्रावती आयोजना सञ्चालन गरिरहेको एनएचपिसीले अहिले १४.१५ मेगावाटको तल्लो इर्खुवाखोला र ४.५ मेगावाटको तल्लो इन्द्रावती साना जलविद्युत आयोजना बनाइरहेको छ। इर्खुवाखोलाको ८० प्रतिशत काम सकिएको छ।
सहायक संस्था लोअर इर्खुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले बनाइरहको इर्खुवाखोलाबाट चालू आर्थिक वर्षभित्रै लगानी जुटाउने तयारी एनएचपिसीको छ।
आयोजनाको सुरुङ उत्खननकाे काम सकिएको छ। आयोजनाको सिभिल निर्माण जारी छ भने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको कारखानामा परीक्षण भई आयोजनास्थलमा आउन थालेको कम्पनीले जनाएको छ।
निर्माणाधनी तल्लो इन्द्रावतीको भत्किएको सुरुङ मर्मत सम्पन्न भई सिभिल तथा विद्युतीय उपकरण खरिदका लागि बोलपत्रको काम सम्पन्न भएको छ। आयोजना बनाउन वित्तीय व्यवस्थाको काम जारी रहेको एनएचपिसीले जनाएको छ।
एनएचपिसीको इर्खुवाखोलामा ४५ प्रतिशतसम्म स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक र ज्योति विकास बैंकको ऋण लगानी छ।
एनएचपिसीले उज्यालो इनर्जी सोलुसनमार्फत ३६ मेगावाटको लिखु खोला अर्धजलाशय (पिआरओआर) आयोजना बनाउन लागेको हो।
लिखु खोलाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको काम जारी छ। प्रारम्भिक अध्ययनअनुसार आयोजना बनाउन ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
आयोजनाको डिपिआर तयार, विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सकेपछि आयोजना बनाउन लगानी जुटाउने लक्ष्य कम्पनीको छ। निर्माण कार्य सुरु भएको चार वर्षभित्र आयोजना पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ।
आयोजनामा ७५ प्रतिशत एनएचपिसीको र बाँकी २५ प्रतिशत उज्यालो इनर्जीको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ। ३० प्रतिशत स्वपुँजी र बाँकी ७० प्रतिशत बैंक ऋण लगानीबाट आयोजना बनाउने लक्ष्य एनएचपिसीको छ।
आयोजनाको बाँध रामेछाप साँघुटारभन्दा केही तल र विद्युतगृह नवलपुरभन्दा एक किलोमिटरमाथि रहने प्रस्ताव छ। सुरुङ लम्बाइ ६ किलोमिटर र आयोजनाको हेड १ सय २० मिटर अग्लो हुनेछ।
यसैगरी कम्पनीले ह्याप्पी इनर्जीले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत आयोजनामा ६० प्रतिशत सेयर लगानी गर्ने भएको छ। ६० प्रतिशत सेयर धारण गर्ने विषयमा एनएचपिसी र ह्याप्पीबीच सम्झौता भएको छ। यो आयोजना निर्माणको तयारी भइरहेको छ।
पर्फेक्ट इनर्जी डेभलपमेन्टमार्फत १५.६२ मेगावाटको मध्य त्रिशूली गंगा जलविद्युत आयोजना निर्माण हुने भएको छ। यो आयोजनामा एनएचपिसीले २० प्रतिशत सेयर लगानी गर्ने भएको छ।
बनाइरहेको तल्लो इर्खुवाखोला आयोजना र सुनकोसी आयोजना आगामी वर्ष सम्पन्न हुने छन्। दुई आयोजना सम्पन्न भएपछि एनएचपिसीको जडित क्षमता २६ मेगावाट पुग्ने छ।
४६ लाख नाफा
एनएचपिसीले चालू आर्थिक वर्ष पहिलो त्रैमासमा ४५ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले पहिलो त्रैमासमा बिजुली बेचेर ६ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले नयाँ आयोजनामा लगानीगर्न ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरिसकेको छ।
अहिले एनएचपिसीको चुक्ता पुँजी बढेर २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसअघि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड १७ लाख रुपैयाँ थियो।
एनएचपिसीले आयोजनामा लगानीमात्र गरिरहेकोमा आगामी दिनमा सहायक कम्पनीमार्फत निर्माण, परामर्श सेवा र फ्याब्रिकेसनमा लगानी विस्तारको योजना रहेको छ।