काठमाडौं। सरकारले सोमबारदेखि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले सामाजिक सञ्जालमा सकरात्मक नकरात्मक दुबै कोणबाट टिकाटीप्पणी भइरहेका छन्।
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उनले भनिन्। बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।
यता छिमेकी भारतमा पहिले नै टिकटकमाथि प्रतिबन्ध लागेको थियो। सन् २०१६ मा प्रयोगमा आएको टिकटकले संसारभरि लोकप्रियताको शिखर चुमेको छ। अहिलेसम्म विश्वभरि आफ्ना सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ अर्बभन्दा बढी रहेको दाबी टिकटकको छ। डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका हुन्।
कैयौँ देशहरूले प्रतिबन्ध लगाएको भए पनि उक्त समाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या अझ बढ्दै जाने अध्ययनहरूले देखाएका छन्।
अमेरिका, युरोपेली सङ्घ र बेलायतमा टिकटक निगरानीमा परेको छ। बेलायतमा सुरक्षाको कारण देखाउँदै संसद्ले टिकटक एपलाई प्रतिबन्ध लगाएको छ। केही समयअघि अमेरिकी सांसदहरूले ट्विटरका प्रमुख कार्यकारीलाई सुनुवाइमा बोलाएर सोधपुछ गरेका थिए।
समाचार संस्था एसोसियट प्रेस (एपी) ले प्रकाशन गरेको एउटा विवरणअनुसार विभिन्न देशका सरकारहरूले ट्विटर र चीन सरकारबीचको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन्।
एपीका अनुसार अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, भारत, लाट्भिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, बेलायत र अमेरिकामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ।
अमेरिकाले यसै वर्ष मार्च महिनाको सुरुतिर डेटा सुरक्षाबारे चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूलाई सङ्घीय निकायका उपकरण र प्रणालीबाट टिकटक एप मेट्न ३० दिनको समय दिएको थियो।
उक्त प्रतिबन्ध सरकारी स्वामित्वमा रहेका उपकरणमा मात्रै छ। तर कतिपय सांसदहरूले पूर्ण रूपमा नै प्रतिबन्ध लगाइनुपर्ने माग गरिरहेका छन्।
चीनले टिकटकमाथि अमेरिकी प्रतिबन्धको आलोचना गर्छ र उसले अमेरिकाले शक्तिको दुरुपयोग गरेर अरू देशका कम्पनीहरूमाथि दमन गरेको टिप्पणी समेत गर्ने गरेको पाइन्छ।
अमेरिकाको कांग्रस र सशस्त्र फौजले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका छन्। त्यहाँका ५० भन्दा बढी राज्यले आधिकारिक उपकरणमा टिकटक राख्न निषेध गरेका छन्।