काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) मा महाप्रबन्धक सुगतरत्न कंसाकारले २०७२ सालमा जहाज खरिद गर्ने निर्णय गरिरहँदा विवाद र प्रशंसा दुवै बटुले। कंसाकारले गरेको निर्णयविरुद्ध त्यो बेला अदालतमा मुद्दा पर्यो र अदालतले खरिद प्रक्रिया ठिक छ भनेपछि ४ नयाँ जहाज थप्न सफल भए।
अन्तर्राष्ट्रिय उडानमा शून्यजस्तै बनेको निगममा कंसाकारकै निर्णयले अहिले दुई वाइडबडी र दुई न्यारोबडी जहाज उडिरहेका छन्।
विविध बाधा र अडचबीच कंसाकारले जहाज थपेपछि हालसम्म नेवानिमा नयाँ जहाज किन्ने प्रक्रिया अघि बढ्न सकेको छैन।
खासगरी आन्तरिक उडानमा शून्यजस्तै उपस्थिति रहेको निगममा अहिले तीनथान ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढेको छ।
कंसाकार महाप्रबन्धक हुँदा अर्थ विभाग प्रमुख रहेका हालका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन ट्वीनअटर जहाज खरिदका लागि टेन्डर आह्वान गरिसकेका छन्।
चिनियाँ जहाज वाई१२-ई मा पटकपटक समस्या आएपछि नउडाउने निर्णय यसअघि नै निगम सञ्चालक समितिले गरिसकेको छ भने हाल तीनमध्ये दुुइटा ट्वीनअटरमात्र उडिरहेका छन्। जसका कारण निगमको आन्तरिक उडानमा बलियो उपस्थिति जनाउन सकिरहेको छैन।
जबसम्म जहाज पर्याप्त मात्रामा हुँदैन, तबसम्म उडान संख्या बढाउन सकिँदैन र निजी क्षेत्रको उडानमा भाडा महँगो भएको गुनासो सम्बाेधन गर्न सकिँदैन भन्ने निष्कर्षसाथ थप तीन जहाज किन्ने निर्णयमा सरकार पुगेको हाे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती जहाज थप्न अडिग भएकै कारण निगमलाई निर्णय गर्न सहज भएको देखिन्छ।
पर्यटनमन्त्री किराँतीको अडानमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत नयाँ जहाज खरिद गरेर आन्तरिक उडानमा प्रतिस्पर्धात्मकरूपमा निगमलाई अगाडि बढाउन सकारात्मक देखिएका छन्।
प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किराँतीको दरिलो साथ पाएका अध्यक्ष अधिकारी आन्तरिक स्राेतबाटै जहाज खरिद गर्न अगाडि बढेका हुन्।
जहाज खरिद प्रक्रिया पारदर्शी र विवादरहित बनाउन निगमले एजेन्टमार्फत नभई सिधै उत्पादक कम्पनीबाट किन्ने गरी बोलपत्र (टेन्डर) आह्वान गरिएको छ।
`जहाज नकिनी बजारमा प्रतिस्पर्धा गर्न सम्भव नभएकाले प्रक्रिया अगाडि बढाएको हुँ,´ अध्यक्ष अधिकारीले भने, `तीनवटा जहाज किन्न आन्तरिक स्राेत नै बलियो छ।´
उनले आफू निगमलाई गति दिलाउनकै लागि जहाज किन्न लागेकाे बताए। कोही न कोहीले त जहाज खरिदमा `चेन ब्रेक´ गर्नुपर्छ भन्ने सोचमा लागेको उनको भनाइ छ।
`राम्रो काममा हुने विवाद र विरोधलाई सकारात्मक लिएको छु,´ अध्यक्ष अधिकारीले भने, `मुलुकलाई हित हुने काममा डराउनुपर्ने स्थिति देखेको छैन।´
यसअघि खरिद गरिएका वाइडबडी र न्यारोबडी जहाजको किस्ता तिर्नसमेत आफ्नै नेतृत्वमा आएपछि अधिकारी सरकारले साथ दिए सहुलियत ब्याजमा १ खर्ब २५ अर्ब ऋण लिएर निगमलाई अर्को उचाइमा लैजाने याेजनामा छन्।