गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाख रुपैयाँको सयपत्री फूल बेचेर आम्दानी गरेको छ। गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ पठाइएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख रुपैयाँ बराबरको फूल बिक्री भइसकेको जानकारी दिए।
उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए। उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख रुपैयाँ बराबरको सयपत्रीका फूल बिक्री हुने दाबी गरे।
“फूल खेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उनले भने, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ।”
उनका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए।
कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताए। उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए।
नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिए। “गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ”, उनले भने, “उत्पादिन फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ।”
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए। उहाँले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए। रासस