एजेन्सी। हिन्दुजा ब्रदर्सले ६० अर्ब अमेरिकी डलरको व्यावसायिक साम्राज्य विभाजन गर्न नसक्ने दाबी गरेका छन्। पिडी हिन्दुजाको परिवारको तेस्रो पुस्ताबीचको तनाव शान्त पार्न हिन्दुजा ब्रदर्सले यस्तो बताएका हुन्। यद्यपि, तेस्रो पुस्तामा सम्पत्ति विषयलाई लिएर ठूलो विवाद देखिएको छ।
शताब्दी लामो इतिहास बोकेको हिन्दुजा परिवारको व्यावसायिक साम्राज्य पारिवारिक कलहका कारण अस्तव्यस्त बन्न पुगेको छ। हिन्दुजा परिवारभित्र देखिएको तिक्ततापूर्ण मनमुटावले १ सय १० वर्ष लामो इतिहास बोकेको विश्वको एउटा ठूलो व्यावसायिक साम्राज्यलाई अनिश्चितताको भूमरीमा धकेलेको छ।
हिन्दुजाका दर्जनौं कम्पनी छन्। तीमध्ये ६ वटा पब्लिक ट्रेड कम्पनी भारतमै छन्। ती कम्पनीको वार्षिक कारोबार ७० अर्ब डलरबराबर छ।
३८ देशमा फैलिएको हिन्दुजाको ट्रक निर्माण कम्पनी, बैंकिङ, रसायन, पावर, मिडिया र हेल्थकेयर व्यापारमा विभाजनको कुनै प्रश्न छैन।
‘म धेरै काम गरिरहेको छुु। अरूले काम गरिरहेका छैनन्। मेरो कम्पनीलाई राम्रो बनाइरहेको छु। यो उनको वा उनको कम्पनी होइन। तिनीहरू सबै साझा लक्ष्यका लागि काम गरिरहेका छन्। सबै कुरा सबैको स्वामित्वमा छ,’ पिडी हिन्दुजाका कान्छा छोरा तथा हिन्दुजा समूह (भारत) का अध्यक्ष ७३ वर्षीय अशोक हिन्दुजाले भने।
सन् २०१४ मा चार दाजुभाइले हस्ताक्षर गरेको सम्झौतापत्रमा ‘सबै कुरा सबैको हो र केही पनि कसैको हुँदैन’ भन्ने परिवारको मार्गदर्शक सिद्धान्त रहेको उल्लेख छ। यो सम्झौतापछि लामो समयदेखि चलेको कानुनी लडाइँको बीजारोपण भयो।
यद्यपि, परिवारले सन् २०२२ मा श्रीचन्द हिन्दुजाको खराब स्वास्थ्य ध्यानमा राख्दै विवाद नगर्न आह्वान गरेको थियो। पिडी हिन्दुजाका चार छोरामध्ये जेठोको गत मेमा मृत्यु भएपछि पारिवारिक झगडा सतहमा आइरहेका छन्।
चार पुस्तादेखि फैलिएको हिन्दुजा वंशमा कलहको मूल कारण श्रीचन्दका छोरीहरूले उनीहरूलाई काकाहरूले किनारा लगाएको आरोप छ। त्यसैले परिवारको सम्पत्तिको अंशमा विभाजन गर्न उनीहरू इच्छुक छन्।
‘श्रीचन्दका छोराछोरीहरू छुट्टिएका छैनन् र कोही पनि अलग हुन सक्दैनन्। हामी अझै पनि उनीहरूलाई हाम्रा बच्चाजस्तै व्यवहार गर्छौं। सही समयमा सबै कुरा आउँछ। हामी सही अवसरको पर्खाइमा छौं,’ अशोक हिन्दुजाले भने।
परम्परागतरूपमा बनेको परिवारमा तीन दर्जनभन्दा बढी सदस्य छन्। केही समूहका लागि काम गर्छन् भने अरूले समूह बाहिरबाट व्यवसायको चासो राख्ने गरेका छन्। यसले परिवारका सदस्यबीच सम्पत्ति बाँडफाँटलाई चुनौती दिइरहेको छ।
‘यदि कोही बाहिरिन चाहन्छ भने हामी उनीहरूलाई समर्थन गर्नेछौं। उसले आफ्नो घर पाउने छ, उसले आफ्नो जीवन पाउने छ, उसले सबै चीज पाउने छ। तर, अलग हुन सक्दैन। उसले छुट्टै व्यवसाय चलाउन सक्दैन,’ अशोकले भने, ‘श्रीचन्दले जसरी संरचना बनाएका छन्, त्यसले व्यवस्थाभन्दा बाहिर केही पनि हुन सक्दैन।’
समूहको कार्यशैली वर्णन गर्दै दाजुभाइले समूहसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्न परिवारका सदस्यहरू नियमित भेटघाट हुने र सबैलाई सबै कुराको जानकारी गराउने बताए।
‘यदि तपाईंले अशोक लेल्यान्डसँग संलग्न रहेका धीरज (गोपीचन्दका छोरा) लाई समूहको अन्य क्षेत्रबारे सोध्नुभयो भने उनलाई थाहा छ,’ अशोक थप्छन्, ‘यदि तपाईंले नवीकरणीय ऊर्जामा समूहको यात्राको नेतृत्व गर्ने मेरो छोरा सोमलाई सोध्नुभयो भने उसलाई पनि थाहा छ। अन्य क्षेत्रबारे सबैजना सँगै बस्छन्। भविष्यका योजना, लगानी र सबै कुरामा काम गर्छन्।’
एक दशकभन्दा बढी अवधिदेखि ‘सिस्टम’ मा तेस्रो पुस्ताको साथ तीन हिन्दुजा दाजुभाइले चौथो पुस्ताको योजना बनाइरहेका छन्। आउँदो पुस्तामा जो २४ वर्षको उमेरमा छन्। कसैलाई फार्ममा रुचि छ, कसैलाई कलामा रुचि छ।
अशोकका अनुसार सबै अवसर उपलब्ध छन्। जसले जे पनि गर्न सक्छ, जहाँ उनीहरूले आफ्नो क्षमता देखाउन सक्छन् र उनीहरुलाई स्वागत छ। तर, सबैले समूहका लागि यो गर्नुपर्छ। कसैले भन्न सक्दैन कि यो मेरो हो र म आफ्नै लागि गर्दैछुु।
‘परिवारले व्यक्तिगत सदस्यको व्यवसायिक पहलहरूलाई समर्थन गर्छ। जसले समूहलाई विस्तार गर्न मद्दत गर्ने छ,’ हिन्दुजा समूह (युरोप) का अध्यक्ष प्रकाश हिन्दुजाले थपे।
यता, अशोकले तीनै दाजुभाइले हिन्दुजा ब्रान्डलाई ट्रस्टमा परिणत गर्ने योजना बनाएको बताए। ‘यसबाट सबै समूहका कम्पनीहरूले संस्थालाई ब्रान्ड रोयल्टी शुल्क तिर्छन् र प्रक्रिया चलिरहेको छ। हामीले ट्रस्टको अधिकार क्षेत्रबारे निर्णय गरेका छैनौं,’ उनले भने।
समूहको भावी योजनाबारे कुरा गर्दै अशोकले आफ्ना भाइहरूले परिवर्तनशील व्यावसायिक वातावरणसँग समन्वय गर्दै विद्युतीय गतिशीलता, स्वच्छ ऊर्जा र फिनटेकलगायत क्षेत्रमा समूहको परिवर्तनमा ध्यान केन्द्रित गर्ने बताए।
रिलायन्स क्यापिटलको एकमात्र बोलपत्रदाताका रूपमा उदाएपछि समूहले वित्तीय सेवाहरूमा पनि दोब्बर गिरावट आएको छ। अशोकले म्युचुअल फन्डजस्ता वित्तीय सेवाहरूमा अझै पनि कमी रहेको बताए। जुन समूहले प्राप्ति (एक्विजिसन) मार्फत पूर्ति गर्न सक्छ।
समूहले मौरिससमा रहेको संस्था इन्ड्सइन्ड इन्टरनेसनल होल्डिङ्समार्फत रिलायन्स क्यापिटल बिडलाई अगाडि बढाइरहेको छ। इन्डसइन्डमा ६ सय भन्दा बढी सेयरधनी छन्। र, धेरैले कम्पनी छाड्न खोजिरहेका छन्।
अशोकका अनुसार आइआइएचएलको आइपिओ विदेशी क्षेत्राधिकारमा गर्ने योजना रहेको बताए। यद्यपि, सबै ठुल्ठूला योजना हेर्न बाँकी छ। भाइहरूले परिवारको शक्ति संघर्र्ष समावेश गर्न सक्छन्। जसले विश्वव्यापीरूपमा २ लाखभन्दा बढी मानिसलाई रोजगारी दिने संसारको सबैभन्दा ठूलो समूहमध्ये एकलाई खतरामा राख्छ।
यसरी स्थापना भयो हिन्दुजा ग्रुप
सन् १९१४ मा परमानन्द दीपचन्द हिन्दुजाले बेलायत उपनिवेशित भारतको सिन्ध क्षेत्रमा हिन्दुजा कम्पनी स्थापना गरेका थिए। सुरुमा वान टाइम कमोडिटिज ट्रेडिङका लागि चिनिएको उक्त कम्पनीलाई दीपचन्दका दाजुभाइले तीव्रतासाथ विविधीकरण गरेका थिए।
भारत बाहिर बलिउड चलचित्रको व्यापार गर्न थालेपछि उनीहरूले प्रारम्भिक सफलता हात पारेका थिए। बेलायती अदालतमा २०१८ देखि चलिरहेको अर्को मुद्दा–कलहले अन्य पारिवारिक सम्पत्तिलाई पनि प्रभाव पार्ने देखिन्छ।
उक्त कलह १ अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको कम्पनीसँग सम्बन्धित छ। जसमा समूहै हाइ–प्रोफाइल लिस्टेड कम्पनी तथा विश्वको तेस्रो ठूलो बस निर्माण कम्पनी अशोक लेल्यान्ड पनि समावेश छ।