काठमाडौं। अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ। आइतबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.६५ रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
नेपाल राष्ट्र बैंकले आइतबारलाई १ डलरबराबर १३३.६५ रुपैयाँ बिक्रीदर तोकेको छ। यस्तै खरिद दर १३३.०५ रुपैयाँ छ। एक वर्षयता केही सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलरबराबर १३३.५७ रुपैयाँ कायम भएको थियो। असोजदेखि डलरको भाउ १३३ रुपैयाँबाट तल झरेको छैन्।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मंगलबार १ डलरबराबर ८३.३० भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबिआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।
नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन्। विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ। डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन पुगेको छ। विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ।
राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा असोजमा डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो।
गत असोज मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १३२.९५ रुपैयाँ पुगेको थियो। गत असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ थियो।
अमेरिकामा ब्याजदर बढेर पहिलोपटक ५ प्रतिशतमाथि पुगेको छ। उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहने छ। जर्मनीलगायत केही उन्नत अर्थतन्त्र संकटमा परेकाले डलर झनै बलियो हुन पुगेको हो।
आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने देखिएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको छ। यही बाटोमा डलर रहेको देखिन्छ।
आयोगको मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ। सन् २०१७/१८ मा १ डलरबराबर औसत १ सय ४ रुपैयाँ थियो। त्यसपछि लगातार बढ्दै गएको छ।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ। असोजमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत छ। डलर बलियो हुँदा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ।
रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरायलले गाजामा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। पेट्रोलियम पदार्थको मूल्य पनि अस्थिर छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्। रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ।
असोजमा रेमिट्यान्स आप्रवाह ३० प्रतिशत बढेर ३ खर्ब ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यस्तै डलर सञ्चिति पनि बढेर १२ अर्ब ३३ करोड पुगेको छ।
पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। गत महिना पर्यटक आगमन बढेको छ। यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ। विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन्।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ।
यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ। डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। नेपालले तिर्नुपर्ने दायित्व बढेको छ।
यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ।