काठमाडौं। समय बदलिँदो छ। गाडीको सान देखाएर हुइँकिने नेपालीहरू पछिल्लो समय खुट्टाको ताकत लगाउन थालेका छन्, अर्थात कतै घुम्न निस्किँदा गाडी नछाड्नेहरू पछिल्लो समय हिँड्न थालेका छन्।
बढ्दो प्रविधि विकाससँगै विश्वभरि आफू पुगेका ठाउँको वर्णनसहितको भिडियो युट्युबमा अपलोड गर्ने र त्यसका माध्यमबाट एकातिर आफ्नो मुलुक चिनाउने त अर्कातिर आफूले पनि धेरथोर आम्दानी गरी यात्रा रोमाञ्चकता बढाउन लागिपरेका छन्। यस्तो विश्वव्यापी ट्रेन्डमा नेपालीहरू पनि पछि पर्ने कुरै भएन। पछिल्ला केही वर्षदेखि केही नेपाली स्वदेश र विदेश यात्रा अनुभव सबैमाझ पस्किन लागिपरेको देखिन्छ। भिडियो बनाउनकै लागि भए पनि घुम्न जाने र ट्रेकिङमा रमाउने नेपाली जमात दिनहुँ बढ्दै गइरहेको छ।
करिब सात दशक अघिबाट नेपालमा पदयात्रा (ट्रेकिङ) को व्यावसायिक सुरुवात भएको मानिन्छ। त्यो बेला विदेशीहरू पदयात्राका लागि आउने र महिनौं दिनसम्म लगाएर विभिन्न गन्तव्य पुगेर फर्किने गरेका थिए। खासगरी सन् १९५० को दशकमा हिमाल आरोहण खुला गरिएपछि युरोपेली र अमेरिकी पर्यटकले व्यावसायिकरूपमा पदयात्रा सुरु गरेको मानिन्छ।
नेपाल आउने अधिकांश विदेशी पदयात्रामा रमाउने गरेको सुन्न र पढ्न पाइन्छ। अहिले पनि नेपाल आउने धेरै पर्यटक पदयात्रामा निस्किने गरेको पर्यटन व्यवसायीको भनाइ छ। १९५० अघि नेपालकै राणा शासकहरू काठमाडौं बाहिर घुमघामका लागि निस्किँदा पदयात्राका रूपमा सिन्धुपाल्चोकको हेलम्बुसम्म पुग्ने गरेको तथ्य पाइन्छ।
विदेशीकै सिको गरेर पछिल्लो समय नेपाली पनि पदयात्रामा निस्किन थालेका छन्। कतिपय नेपालीले पदयात्रालाई आफ्नो पेसा बनाएका छन् भन्दा फरक पर्दैन। विशेषगरी लामो बिदा (दसैं र तिहार) मा पदयात्रामा निस्किने नेपालीको संख्या ठूलो रहँदै आएको र यो क्रमिक बढ्दै गइरहेको पाइन्छ।
यात्रामा निस्किँदा धेरै पदयात्रीले पुराना ट्राभल भिडियो हेरेर आफ्नो गन्तव्य बनाउने गरेका छन्। त्यतिमात्र होइन, यात्रामा निस्किनेले पछिल्लो समय फस्टाएको सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै विभिन्न गन्तव्य प्रचारप्रसार गर्न पनि कुनै कसर बाँकी राखेका हुँदैनन्। जसले गर्दा नयाँ यात्रीलाई गन्तव्य पहिचानमा समस्या हुँदैन भने ट्राभल भिडियोले सम्बन्धित गन्तव्यतर्फको यात्रा रोमाञ्चक बनाइरहेको हुन्छ।
ट्राभल भिडियो धेरैले रुचाउन थालेपछि व्यावसायिकरूपमा त्यही क्षेत्रको भिडियो बनाउनेको संख्या पनि क्रमिक बढेको छ। यसले ‘ट्राभल भ्लगर’ हरूको व्यावसायिकतामा वृद्धिमात्रै गरेको छैन, नेपालको निःशुल्क प्रचारप्रसार पनि विश्वसामु भइरहेको छ।
१ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नेपालमा संसारकै सबैभन्दा अग्लो स्थान सगरमाथादेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीसम्म पर्छ। सीमित दूरीकै अन्तरालमा हिमाल, पहाड र तराईको वातावरणीय अनुकूलता प्राप्त गर्न सकिने नेपाल भूमिको विभिन्न गन्तव्यमा यात्रा गरेर ट्राभल भिडियो बनाइ युट्युब, टिकटक र इस्ट्राग्राममा पोस्ट गरेर विश्वसामु लुकेका नेपाली गन्तव्य उजागर गर्ने काममा स्वदेशी तथा विदेशी ट्राभल ब्लगर तथा भ्लगरले सघाइरहेका छन्।
ट्राभल भ्लगरहरूले खिचेर प्रशारण गरेको एउटा भिडियो लाखौंलाख मानिसले हेरिरहेका हुन्छन् र त्यही भिडियोका आधारमा घुम्न निस्किनेसमेत गरेका छन्। भ्लगरहरूले गन्तव्य पहिचान गरी भिडियोमात्र प्रशारण गर्दैनन्, उनीहरूले त्यहाँसम्म पुग्ने बाटो, लाग्ने खर्च र समय, अपनाउनुपर्ने सर्तकर्तासमेत केलाउने गर्छन्।
जसले गर्दा पदयात्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डजस्ता सरकारी निकायभन्दा ट्राभल भ्लगरहरूलाई विश्वास गरेर आफ्नो यात्रा अभियान चलाउने गर्छन्।
त्यतिमात्र होइन, पछिल्लो समय स्थानीय तहले आफ्ना क्षेत्रका पर्यटकीय गन्तव्य प्रचारप्रसार गर्न ट्राभल भ्लगरहरूकै सहयोग लिन थालेका छन्। कतिपय होटल तथा रिसोर्ट र एयरलाइन्सले पनि भ्लगरलाई स्पोन्सर गरेर प्रचारप्रसार गरिरहेका छन्।
जसका कारण ट्राभल भ्लगरहरू पछिल्लो समय यात्रा अनुभवका वर्णनको प्रचारप्रसार गरेरै आफ्नो जीविकोपार्जन गर्न थालेका छन्। ट्राभल ब्लगर तथा भ्लगरहरूको थपिँदो संख्याले जीविकोपार्जनमा मिलेको राहत र उनीहरूमा बढ्दै गएको आत्मनिर्भरता प्रष्टै झल्काउँछ। व्यावसायिक ट्राभल ब्लगर र भ्लगरहरूकै कारण कुना कन्दरामा लुकेर रहेका पर्यटकीय गन्तव्य विश्वबजारमा उजागर गर्न मद्दत मिलेको छ।
नेपालमा भर्खरै सुरु भएको व्यावसायिक ट्राभल भ्लगरहरूका सकारात्मक कदमले आगामी दिनमा थप निखार आइ प्राकृतिक, सांस्कृतिक, धार्मिक गन्तव्यले विश्वबजारमा चर्चा पाउने छन् र विश्वका पर्यटकको ध्यान आकृष्ट गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ।
पदयात्रा रोमाञ्चकता र नेपालको सुन्दरताबारे केही नेपाली ट्राभल ब्लगर तथा भ्लगरहरूको अनुभव पाठकसमक्ष पु¥याउन क्यापिटल नेपालले प्रयास गरेको छ।
चलेका भन्दा नचलेका गन्तव्य सुन्दर
सचिन न्यौपाने -(पूर्वी ब्लुज)
घुम्दै जाँदा पर्यटकीय क्षेत्र प्रचारप्रसारमा समेत टेवा पुग्दै आएको छ। सुरुमा घुम्न निस्किँदा व्यावसायिकरूपमै लागिन्छ भन्ने सोचेका भने थिएनौं। विद्यालयमा अध्ययन क्रममा मल्टिमिडियामार्फत नेपालका प्राकृतिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विषय देखाउन नपाएकै कारण हाम्रो यात्रा सुरु भएको हो।
घुम्नका लागि म र लक्ष्मीप्रसाद ढुंगेल निस्किने गरेका छौं। यो टिममा ६ जना छौं। घुम्न सुरु गरेको सन् २०१५ देखि हो। व्यावसायिकरूपमै घुम्न लागेको आठ वर्ष भइसकेको छ। त्यसअघि म शिक्षक पेसामा थिएँ। अध्यापनकै सिलसिलामा मल्टिमिडियाबाट अध्यापन गराउने क्रम सुरु भयो।
मल्टिमिडियामार्फत नेपालका सामग्री देखाउने खालका केही भेटिएन। मैले झापाको वालमिकी विद्यालयमा अर्थशास्त्र र समाजशास्त्र अध्ययन गराउँथे। आफूले खोजेको जस्तो आर्थिक, सामाजिक, प्राकृतिक र भौगोलिक क्षेत्रहरूको भिडियो पाउन नसकेपछि आफैं त्यस क्षेत्रको भिडियो बनाउने सोचसाथ यात्रा सुरु गरिएको हो।
आठ वर्षअघि ट्राभल भिडियो पाउनै सकिँदैन थियो र हाम्रो पहिलो भिडियो मुस्ताङको थियो। अहिलेसम्म नेपालका २ सय ५० भन्दा बढी गन्तव्य पुगेर भिडियो खिचिसकिएको छ भने २ सय ४४औं भाग प्रशारण तयारीमा छौं। आम्दानीका रूपमा धेरै नभए पनि आत्मसन्तुष्टि भने मिलेको छ। कमाएको धेरै रकम घुमघामकै क्रममा खर्च हुने गरेको छ।
घुम्ने यात्रासँगै पूर्वदेखि पश्चिमसम्मका अधिकांश पर्यटन गन्तव्यमा आफ्नो पाइला पु¥याइसकेका छौं। जिल्लाका हिसाबले सबै पुगिसकेका छौं। साना–साना हिमालसमेत आरोहण गरिसकेका छौं। राम्रा ठाउँमा पूर्वाधार विकास गर्न नसकेकै कारण ओझेलमा पर्दै गएको छ।
घुमघामका बेला देखिएअनुसार निश्चित ठाउँबाहेक धेरैमा पर्यटकीय कल्चर विकास भइसकेको छैन। स्थानीयस्तरमा पर्यटकलाई गर्ने संस्कारका विषयमा राम्रो ज्ञान दिन सकिएको छैन। स्थानीय आफंैले सिकेका छैनन् र सिकाउने अरू पनि देखिँदैनन्। जसका कारण राम्रा ठाउँमा पर्यटकलाई गर्ने सेवा सत्कार नै राम्रो पाउन सकिँदैन। र, दोस्रोपटक ती गन्तव्यमा पुग्न सकेका छैनन्।
जति ठाउँ चले, ती ठाउँमात्र हाम्रो पर्यटकीय गन्तव्य हो भन्ने विश्वास आममानिसमा परेको छ। चलेका ठाउँभन्दा नचलेका ठाउँ धेरै सुन्दर छन्। ती ठाउँमा आवश्यक पूर्वाधार र उचित प्रचारप्रसार नभएकै कारण ओझेलमा परिरहेका छन्।
पश्चिम क्षेत्रका गन्तव्य धेरै सुन्दर रहँदा रहँदै टुरिज्म कल्चर विकास गर्न नसकेकै कारण पछि परिरहेको देखिन्छ। त्यहाँ गएर कसैले सिकाएका पनि छैनन् र आफंैले पनि सिक्न सकेका छैनन्। पर्यटन भन्ने नै थाहा नभएका क्षेत्र झनै सुन्दर छन्।
सुदूरपश्चिममा बडिमालिका र खप्तड सबैभन्दा उत्कृष्ट र मनोरम ठाउँ हुन्। खप्तडको भिडियो बनाउने सम्भवतः हामी नै पहिलो हौं। त्यहाँको भिडियो खिचिरहँदा स्थानीयले अवरोधसमेत गरेका थिए। तर, हामीले लुकेर खिच्न सफल भएका हौं। जब भिडियो सार्वजनिक भयो, त्यसलगत्तै नायक पल शाहको एउटा फिल्म सुटिङका लागि हामीसँगै सम्पर्क गरेर टिम गएको थियो। त्यसपछि बिस्तारै त्यो क्षेत्रमा जानेको संख्या क्रमिक बढ्दै गएको छ।
बिस्तारै होमस्टे पनि स्थानीयले चलाउन लागे र राम्रो आम्दानी हुन थालेपछि पर्यटन भनेको के रहेछ भन्ने बिस्तारै बुझ्न थालेको आभास हामीले पायौं। अहिले त खप्तड राम्रो गन्तव्यभित्र परिसकेको छ। केही समयअघि हाम्रो दोस्रो यात्रा थियो बझाङको। यात्रा गर्दा पहिला भिडियो खिच्न अवरोध गर्ने स्थानीय भेट्दा पछि उनीहरूले धन्यवाद दिएका थिए। जुन सुन्दा मनमा निकै आनन्द आयो। अब बिस्तारै त्यो क्षेत्रमा टुरिज्म कल्चर सुरु भइसकेको छ भन्ने आभाष हामीलाई भयो।
जुन ठाउँ चलेको छ, त्यो ठाउँ पहिलोपटक जाँदा पनि यस्तो छ भनेर कल्पना गरिसकिएको हुन्छ। तर, जहाँ कोही पनि गएका छैनन्, ती ठाउँ जाँदाको मज्जा छुट्टै हुन्छ। हामी सकेसम्म भर्जिन डेस्टिनेसन खोजीमा लागेका हुन्छौं। जहाँ कोही पनि मान्छे घुम्नकै लागि त्यो ठाउँमा नपुगेको होस्।
सुदूरपश्चिम र पूर्वका केही ठाउँमा पुग्दा त आँसु नै आउँछ। पूर्वाधार नहुँदा धेरै यात्रा गर्नुपर्ने भएकाले दुःख धेरै पाइन्छ। स्थानीयको पर्यटकसम्बन्धी हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा कति रात भोकै बस्नुपरेका पीडा पनि भोग्नुपर्छ। हामी पुगेर ती गन्तव्यको भिडियोमात्र बनाउँदैनौं, पर्यटन कल्चरसमेत सिकाउँदै हिँड्ने गरेका छौं।
गोरखा उत्तरी भेग मनास्लु सर्किट जाँदा १८ दिनसम्मको यात्रा गरेका थियौं। त्यहाँ दैनिक १२ घन्टासम्मको पैदल यात्रासमेत गरेका थियौं। मनास्लुलाई चक्कर लगाउन १५ दिनभन्दा बढी लागेको थियो। हाम्रो यात्राको सबैभन्दा लामो समय भनेको २० देखि २२ दिनसम्मको हुने गरेको छ।
गन्तव्य र पहुँचका आधारमा यात्रा तय गर्ने गरिन्छ। अहिलेसम्म घुम्दा सबैभन्दा मन परेको गन्तव्य भनेको बडिमालिका हो। त्यहाँ पुग्न बाजुरा सदरमुकाम नजिक मार्तडीबाट ट्रेकिङ सुरु हुन्छ। तर, बाजुरा सदरमुकाम पुग्नै हामीलाई तीन दिनको यात्रा गाडीमा गर्नुपरेको थियो। मार्तडीबाट हिँडेको तीन दिनमा बडिमालिका पुग्न सकिन्छ। यात्रा गर्दा जति दुःख भोगिन्छ, जब बडिमालिका पुगिन्छ, सारा दुःख, कष्ट बिसाइदिन्छ।
बडिमालिका सबैले सुनेको गन्तव्य हो। योभन्दा अझ सुन्दर ठाउँ भनेको बझाङको ‘सुर्मासरोवर’ नेपालको लुकेको स्वर्गको टुक्रा हो भनेर व्याख्या गर्दा फरक पर्दैन। तर, त्यहाँ पुग्न हिँड्ने गोरेटो बाटोसमेत निकै अप्ठ्यारो छ। जसका कारण पर्यटक लैजान निकै मुस्किल छ। जो पुग्छ, त्यहाँको सुन्दरतामा चुर्लुम्म डुब्छ।
हामी बझाङ सदरमुकाम चैनपुरबाट तीन दिनको यात्रामा सुर्मासरोवर पुगेका थियौं। त्यहाँ यतिसम्मको अच्चमको दृष्य हेर्न पाइन्छ कि हिमालमा चाँदी टल्केको देखिन्छ। स्थानीयले त्यो हिमाललाई ‘चाँदी शिखर’ भनेर नामकरण गरेका छन्। धार्मिक आस्थाका कारण त्यहाँका हिमाल आरोहणका लागि खुला गरिएको छ्रैन। त्यहीँसँगै अर्को हिमाल छ ‘सुनखानी’। जुन हिमालभित्र सुन रहेको छ भन्ने विश्वास गरिँदै आएको छ। सोही सुनखानी हिमालको काखमा छ सुर्मासरोवर। सायद यो नेपालको तेस्रो अग्लो स्थानमा रहेको हिमताल हुनुपर्छ। तर, यो ठाउँबारे धेरैलाई थाहा छैन।
स्थानीयहरू धार्मिक आस्थाका कारणले पुग्नेबाहेक हामीमात्र हो बाहिरको मान्छेका रूपमा पुगेको। सुर्मासरोवरको भिडियो बनाउने पहिलो व्यक्ति नै हामी नै हौं र अहिलेसम्म अरूले बनाउन पनि सकेका छैनन्।
त्यही वरिपरि क्षेत्रपाटन (किल्ला डाँडा) को शृङ्खला धेरै देखिन्छ। त्यही ठाउँ हुदै नेपालबाट मानसरोवर जाने मार्ग पनि रहेछ। बाटो बनाउँदा पनि सबैभन्दा छोटो त्यही क्षेत्रबाट हुने रहेछ। तर, त्यसबारे भेडापालन गर्ने किसानबाहेक सरकारका निकायलाई नदेखेको गन्तव्य भएकैै कारण ओझेलमा परेको देखिन्छ।
गन्तव्य पहिचान कसरी हुन्छ?
यात्राका लागि गन्तव्य पहिचान गर्न मानिससँग सोधखोज नै पहिलो हुन्छ। केही ठाउँमा त्यहाँका मानिसले बोलाउने गरेका छन् भने केहीमा आफैं यो ठाउँमा केही न केही नयाँ होला भनेर जाने गरेका छौं।
यात्राकै क्रममा आँखा गुम्यो
यात्रा क्रममा सबैभन्दा बढी दुःख पाएको ठाउँ र सुन्दर लागेको बझाङ सुर्मासरोवर नै हो। चट्टानको यात्रा गर्नुपरेकाले निकै जोखिम मोलेर त्यहाँ पुगेका थियौं। अर्को भनेको पूर्वकै मकालु हिमाल क्षेत्रमा गएर फर्किने क्रममा सितला पासमा अत्यधिक हिमपात हँुदा मेरो एउटा आँखासमेत गुमाउनुपरेको छ। हिउँले आँखा खाएपछि एउटा आँखाका भरमा हिँड्नुपर्ने पीडा एकातिर थियो भने अर्कातिर खच्चडसमेत नपाउने स्थिति निकै नाजुक थियो।
दुःखकै कुरा गर्दा धौलागिरि हिमाल क्षेत्र जाँदा भाग्यवस ज्यान जोगिएको थियो। हिमालबाट फर्किने बाटो हिमपहिरोले लगेपछि दुई दिन केही नभएको ठाउँमा अनाहकमा बस्नुपरेको थियो। दुई दिनको बिहान हेलिकोप्टर उद्धारका लागि आउँदा थाहा भयो कि हामीभन्दा अघिल्लो टोली सर्किट हान्न गएको थियो, ती सबैलाई हिमपहिरोले पुरेको रहेछ। हामी एक दिन अगाडिमात्र गएको भए त्यही टोलीमा पर्ने रहेछौं। दुई दिन ब्लक हुँदा ज्यान बचाएर फर्किन सफल भएका थियौं। यात्रा क्रममा ठाउँ विशेषले आन्तरिक र वाह्य पर्यटक घुम्न आएको भेटिएको थियो। आन्तरिक पर्यटक जहाँको यात्रा सजिलो छ त्यहाँ बढी देखिन्छन् भने अलि गाह्रो गन्तव्यमा विदेशीलाई भेटिएको थियो।
स्वर्गको टुक्रा हो नेपाल
किरण राई -घुमन्ते
संसारभरिको देशमध्येको पृथक मुलुक हो नेपाल। यहाँको भौगोलिक बनावट, प्राकृतिक सुन्दरताले अरू देशसँग दाँज्न नै सकिँदैन। विकास र प्रविधिले विश्वका धेरै देश अगाडि रहे पनि प्रकृतिका हिसाबले भगवानले दिएको वरदानका रूपमा लिन सकिन्छ। विश्वभरिका विविध संस्कृति, परम्परा फरक–फरक छ।
तर, नेपालमा विभिन्न जातजाती र भाषाभाषी एक ठाउँमा जम्मा गर्ने हो भने विश्वभरि रहेका देशका विशेषता यहीँ पाइन्छ। ५०–६० मिटरसम्मका भूभागदेखि विश्वकै सबैभन्दा अग्लो स्थानसमेत नेपालमै छ। जियोग्राफिकल हिसाबले हेर्ने हो भने हामी निकै भाग्यमानीभित्र पर्छौं।
हाम्रो भूभाग हेर्ने हो भने लम्बाइ केही लामो भए पनि चौडाइ सानै छ। तर, यतिमै धेरै चिज अडिएको छ। यहाँको सांस्कृतिक, प्राकृतिक र भाषिक विविधता नै संसारका कुनै पनि देशमा नभएको सम्पत्ति हामीसँग छ भन्ने लाग्छ। जति नयाँ ठाउँ पुग्यो त्यति नै ओहो यस्तो पनि नेपालमा भन्ने लाग्छ। हाम्रो प्रकृति र संस्कृति विश्वसामु देखाएर यहाँबाट फाइदा लिन सक्ने ठाउँ धेरै हुँदा हुँदै चुकिरहेका छौं। हिरा, मोती र पेट्रोलिम पदार्थ भएर धनी भएका राष्ट्रजस्तै नेपाल पनि प्राकृतिकरूपमा धेरै धनी छ। मात्र, यसलाई सही सदुपयोग गर्न सकिरहेको छैन।
प्रविधि क्षेत्रमा काम गर्दै आएको हुँदा सन् २०१३ मा आफ्नो साइट बनाएर विभिन्न फोटो तथा भिडियो अपलोड गर्ने गरेको थिएँ। दिदी र भाइहरू घुम्न गएका बेला केही फोटो मागेर हाल्ने गरेको थिएँ। त्यसअघि वेबसाइट बनाएर पर्यटनसम्बन्धी आलेख लेख्ने र पोस्ट गर्ने गरेको थिएँ। ब्लगका रूपमा अगाडि बढाउने योजना बनाए पनि फोटो भिडियो बनाउने भन्ने सोच भने राखेको थिइनँ। हालेका फोटो र भिडियोमा राम्रा प्रतिक्रिया आउन थालेपछि आफैं घुम्न निस्किने मुड बनाएँ। त्यो बेलासम्म भिडियो खिचेर हाल्छु भनेर घुम्न निस्किएको थिइनँ।
२०१६ मा आइपुग्दा साथीहरूबीच कहीँ नयाँ गन्तव्यमा घुम्न जाने भन्ने सोच पलायो। मेरो पहिलो यात्रा नै संखुवासभा गुफापोखरी हो। घुमन्तेको अहिले जे जस्तो अवस्थामा पुगेको छ, त्यसको पहिलो श्रेय र पाइला नै गुफापोखरी यात्राको भिडियो नै हो। धेरै भीडभाड नहुने र कम खर्चमै पुग्न सकिने भएकाले पनि पहिलो रोजाइ नै त्यहाँ परेको थियो। त्यो बेला धेरै साथीले एभरेस्ट बेसक्याम्प जान सुझाएका पनि थिए। तर, नयाँ ठाउँ खोजीमा लाग्दा गुफापोखरी गएका हौं।
यदि, एभरेस्ट बेसक्याम्प गएको भए अहिले यो स्थितिसम्म नआइपुग्न पनि सकिन्थ्यो। किनकि, एभरेस्ट बेसक्याम्पको भिडियो धेरैले हालिसकेका थिए। जब गुफापोखरी यात्राको भिडियो नयाँ भएकाले धेरैले रुचाउन थालेपछि नयाँ यात्राका लागि हौसला प्राप्त भएको हो।
मानिसलाई नयाँ–नयाँ ठाउँको जानकारी दिन नयाँ गन्तव्य खोजीमा हिँड्दै जाँदा धेरै प्रचारप्रसार पनि भएका छन्। पहिला आफ्नै स्वार्थका लागि भिडियो खिच्दै हिँडे पनि अहिले त्यसले पारेको प्रभावबारे जानकारी आउँदा भने निकै खुसी लाग्छ।
गन्तव्य छनौट गर्दा पनि सकेसम्म कोही नपुगेको र पुगे पनि निकै कम पुग्ने गन्तव्यमा जाने गरेका छौं। जहाँ जाँदा धेरैले प्रोजेक्ट लिएर आएका हुन् वा डिपिआरका लागि आएको हो कि भन्ने अपेक्षा राख्ने गरेका छन्।
यात्रा गर्दा आफूलाई आराम पनि हुने र नचिनेको ठाउँलाई संसारसामु देखाउन पाइएको छ। जसका कारण विकासबाट ओझेलमा परेका गन्तव्यको विकास भएको छ। र, त्यहाँका मानिसको आशिर्वाद हामीलाई लागिरहेको छ। हामी जहाँ–जहाँ गएका छौं, त्यहाँका गन्तव्य विकास निकै राम्रो भएको छ। कतिपय ठाउँमा हामी यहाँको प्रचार गर्छौं र धेरै पर्यटक यहाँ आउँछन् भन्दा पत्याउनुहुन्न। किनकि, उहाँहरूलाई त्यस क्षेत्रमा गाईभंैसी, भेडाच्याङ्ग्रा र चांैरी चराउने ठाउँ भएकाले विश्वास नै हुँदैन। तर, जब भिडियो बनेर प्रशारण हुन्छ तब त्यहाँ धेरैको चासो बढ्ने र घुम्न पुग्नेको संख्या बढ्दा होमस्टे र होटलको विकास भएको धेरै ठाउँमा पाएका छौं। जुन देख्दा र सुन्दा मनमा निकै आनन्द आउँछ।
अहिलेसम्म घुमन्ते समूहले ६० जिल्लाभन्दा बढीमा यात्रा गरिसकेको छ। र, हालसम्म १ सय २५ गन्तव्यका भिडियो आफ्नो युट्युब च्यानलमा राखेका छौं। एउटा जिल्लामा जाँदा त्यहाँका दुईदेखि तीन गन्तव्य पुग्ने गरेका छौं। खोटाङमा जन्मिए पनि बाल्यकाल भने काठमाडौं कोटेश्वरमा बिताएको हुँ। सहरमा हुर्किए पनि मलाई गाउँघरको पाखापखेरा धेरै मनपथ्र्यो। सानो हुँदा कोटेश्वरबाट देखिने ल्हाक्पादोर्जे हिमालको चित्रसमेत बनाउने गर्र्थें। अर्थात, प्रकृतिलाई नजिकबाट नियाल्न धेरै मनपथ्र्यो। पहिलादेखि नै लेकको बाटो हिँड्दा धेरै रमाइलो लाग्ने गथ्र्यो। यात्रा क्रममा बीच–बीचमा भेटिने बाघखोर, चौतारा र मानेहरू देख्दा मन निकै आनन्दित हुन्थ्यो। कुहिरो लागेका बेला हिँड्न पाउँदा झनै रमाइलो लाग्थ्यो।
अहिलेसम्म गरेका यात्रामध्ये सबैभन्दा बढी सम्भावना भएका गन्तव्य भनेको सुदूरपश्चिम क्षेत्रकै हो। अथक सम्भावना हुँदा हुँदै उचित प्रचार र पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको छ। बडिमालिका, रामारोसन, हुम्ला, मुगु, डोल्पालगायत क्षेत्र पुग्ने जोकोहीले पनि ‘वाउ’ भन्ने शब्द मुखबाट निकाल्ने गर्छन्।
छोटो यात्राका लागि पूर्वको पिके हिमाल र गण्डकी प्रदेशको कास्की क्षेत्रमा धेरै गन्तव्य छन्। पोखरा पुगेर २ देखि ३ घन्टासम्मको गाडी यात्रापछि हिँड्दा केही दिनमै यात्रा टुंग्याउन सकिन्छ। र, राम्रा ठाउँको प्रत्यक्ष अनुभव लिन सकिन्छ।
सम्भावना धेरै हुँदा हुँदै तराई क्षेत्रमा घुम्नकै लागि जानेको संख्या भने कम देखिन्छ। हामीले खिचेका भिडियोमध्ये तराईको अलि कम हेरिदिनुहुन्छ। हुन त हामी गएका प्रायः ठाउँ पुग्न गाह्रो नै हुन्छ।
तर, जो पुग्छ उसले स्वर्गीय आनन्द पाउँछ। हिमाली र पहाडी क्षेत्रमा हिँड्न नसक्नेका लागि तराई घुम्न उपयुक्त गन्तव्य हो। सडक सुविधा र खाने बस्ने सुविधा भएकाले घुम्न सहज हुन्छ। गर्मीमा धेरै गर्मी भए पनि दसैंतिहारपछि भने घुम्न तराईमा निकै राम्रा गन्तव्य छन्।
४५ दिनसम्मको ट्रेक
हामीले अहिलेसम्मको सबैभन्दा लामो समयको यात्रा भनेको कञ्चनजंघा क्षेत्रमा ४५ दिनको गरेका छौं। कञ्चनजंघा ट्रेल परिक्रमा गर्दा निकै रमाइलो आभाष गरिएको थियो। त्योबाहेक अन्य यात्रा भनेको एक सातादेखि १० दिनसम्मको हुने गरेको छ। छोटो समयको यात्राका लागि निस्किन चाहनेलाई सबैभन्दा उपयुक्त क्षेत्र गण्डकी प्रदेशमै छ। जहाँ एक सातामा एउटा गन्तव्यको यात्रा गरेर फर्किन सक्छौं। पछिल्लो समय मनसुन ट्रेक सामान्य भइसकेको छ। वर्षातको समयमा यात्रा गर्न रमाउनेका लागि यात्राको भिडियो प्रभावभन्दा फरक पर्दैन। वर्षातका बेला यात्रा गर्न रमाइलो हुन्छ भन्ने थाहा हुनेलाई थाहा नै थियो। तर, जो जसलाई थाहा थिएन, उहाँहरूलाई हाम्रो भिडियोका कारण थाहा भयो।
खासगरी पाँचपोखरी क्षेत्रको यात्राका फोटो भिडियो देखाउन थालेपछि धेरैको दिमागमा वर्षातका बेला पनि यात्रा गर्न मिल्ने रहेछ भन्ने सन्देश जान थालेको देखिन्छ। र, हाम्रै भिडियोहरू देखेपछि मनसुनको समयमा पनि ट्रेकमा जानेको संख्या बढेको धेरै ठाउँमा देख्न र सुन्न पाइन्छ। मनसुनमा ग्रिनरी फूलहरूका कारण यात्रा गर्दा धेरैले रमाइलो अनुभव लिन थालेका छन्। त्यसको सुरुवात हामीले नै गरेका हौं।
लमजुङ मेमे पोखरी यात्रा हाम्रा लागि सबैभन्दा अविष्मरणीय र कष्टदायी बनेको थियो। कोभिड–१९ को पहिलो बन्दाबन्दी (लकडाउन) का बेला त्यहाँ पुगेका थियौं। पोखरी पुग्दा मौसम नखुलेपछि हामी घाम लाग्ने प्रतीक्षामा बस्दा रात नै परेको थियो। बेलुकी बस्ती झर्ने आशासाथ भएको स्लिपिङ ब्यागसमेत साथीहरूलाई पठाएर भिडियोका लागि पाँचजना बसेका थियौं। तर, त्यो दिन मौसम नखुलेपछि रात त्यहीँ बिताउन बाध्य भयौं। राति चाउचाउ र पानी खाएर एकै पालमा पाँच साथीहरू चिसो रात बिताउन बाध्य भएका थियौं।
पोखरीको दृष्य जति रमाइलो छ, त्यहाँबाट फर्किंदाको बाटो भने निकै डरलाग्दो छ। भेडा हिँड्ने भिरालो बाटोमा आफूलाई नियन्त्रण गर्दै जोखिम मोलेर हिँड्दाको रोमान्चक यात्राले थकाइसमेत मेटिँदै जान्छ। कति यस्ता गन्तव्य छन् जुन हामी पुगेर भिडियो प्रशारण गरेपछि घुम्न जानेको संख्या त्यस ठाउँमा धेरै पुगेका छन्। उदाहरणका लागि दार्चुला अपि बेसक्याम्पलाई लिन सकिन्छ। हामी जाँदा अपि बेसक्याम्प जान मान्छेको पाइलासमेत भेटिँदैन थियो। स्थानीयका साथमा हिँडेका भरमा त्यहाँ पुगेका थियौं।
अहिले त स्थानीय सरकारले नै त्यो क्षेत्रमा जाने बाटो विस्तार गरिदिएको छ। यस अर्थमा हाम्रो यात्रालाई विकासका हिसाबमा भन्दा ट्र्याक खोल्ने काम हामीले गर्छौं र अरूले ग्राभेलसहित कालोपत्रे गर्ने काम गरिरहेका छन्। हामी जहाँ–जहाँ पुगेका छौं, ती सबै नयाँ गन्तव्य नै हुन्छ। गन्तव्य पहिचानको सबैभन्दा ठूलो स्रोत भनेको हाम्रो भिडियोका दर्शक नै हुनुहुन्छ। उहाँहरूले नै ‘हाम्रो क्षेत्रमा पनि यस्तो खालका गन्तव्य छन् तपाईहरू आइदिनुप¥यो’ भनेर बोलाइदिने गर्नुभएको छ।
सुरुमा हामी आफैं घुम्ने, अलि राम्रो फोटो भिडियो खिचेर अपलोड गर्ने भन्ने सोच राखेर यात्रा सुरु गरेका थियौं। तर, हामीले खिचेका ती भिडियोका कारण से–फोक्सुन्डो ताल, खोपुचे ताल, डोल्पालगायत क्षेत्रमा धेरै परिवर्तन भएको सुन्दा मनमा अर्को सन्तुष्टि मिल्दै आयो। त्यसपछि भने हामीले भिडियोमात्र खिच्ने क्रमलाई रहरमा सीमित नराखी त्यो भिडियोले त्यस क्षेत्रको विकासमा केही सहयोग पुगोस् भन्ने चाहनासमेत राख्दै अगाडि बढिरहेका छौं। देशका लागि ठूलै योगदान पु¥याउँछु भनेर यात्रा सुरु गरिएको पनि होइन। तर, जति ठाउँमा यात्रा गरेर भिडियो प्रशारण भयो, ती अधिकांश ठाउँमा त्यसपछिको परिवर्तन धेरै भएको छ। यसरी हेर्दा अप्रत्यक्षरूपमा देशले पनि फाइदा लिइरहेको छ।
घुमन्तेले ट्राभल भिडियो युट्युबमा राख्नुभन्दा अघि पनि केही व्यक्तिले पर्यटकीय गन्तव्यका भिडियो नराखेका भने होइनन्। तर, उहाँहरूले त्यसलाई निरन्तरता दिन सक्नुभएको थिएन। पछि हामीले निरन्तर भिडियोहरू राख्ने र एडभेन्चर टुरिज्मलाई नै फोकस गरेर सफल हुँदै गएपछि भने यसबाट पनि जीविकोपार्जन गर्न सकिँदो रहेछ भन्ने पाठ सिकेर यो खालको काम सुरु गर्नेहरू अहिले बढिरहेका छन्।
यतिमात्र होइन, हामीले नै नेपाली भाषा र नेपाली स्क्रिप्टमा भिडियो बनाएको पनि धेरैले रुचाउन सक्छन भन्ने मान्यता पनि हामीले नै स्थापित गराएका हौं। बिस्तारै अहिले मौसम परिवर्तनका कारण बेमौसमी वर्षा हुने, तुँवालो लाग्ने, बेलामा हिउँ नपर्ने र हिमाल बिस्तारै पग्लिँदै गएको छ। त्यसैले अहिले नै तपार्इंहरूसँग समय छ र पैसा छ भने घुमिहाल्नुस्। दिनप्रतिदिनको परिवर्तनले सुरुमा भएका र देखिएका दृष्य अब नदेखिन सक्छ।
सबैभन्दा मनपर्ने र घुम्नैपर्ने गन्तव्यमा बडिमालिका, रामारोशन, गोक्यो लेक, लाप्चा र पाँचपोखरी क्षेत्र हुन्। जहाँ जतिपटक गए पनि मनले फेरि जाउँ–जाउँ भनिरहन्छ। र, स्वास्थ्यले साथ दिएसम्म हिँडिरहने छौं।
शब्दचित्रमा उतारी नसक्ने अनुभूति यात्रामा पाइन्छ
लजिम बुढा- (लजिमबुढा)
मान्छेका चाहना पनि अनेकौं हुने रहेछ। अरूको दुःख र पीडा समेटेर बनाएको भिडियो धेरैलाई रमाइलो लाग्ने रहेछ। र, तिनै दुःख आत्मसात गर्दै त्यस्ता ठाउँ जान रुचाउने पनि धेरै देखिन थालेका छन्। विकासको गतिले ओझेलमा परेको सुदूरपश्चिमका भेग पर्यटकीय हिसाबले निकै मनोरम छन्। लामो समयको यात्राको लागि उत्तम क्षेत्र पनि सुदूरपश्चिम नै हो। यहाँका हरेक मानिसको हार्दिकताले यात्रामा निस्किनेलाई थप ऊर्जा र हौसला मिलिरहेको हुन्छ।
रुकुमलाई बेस बनाएर घुमघामको भिडियो पोस्ट गर्ने गरेको सन् २००९ देखि नै हो। गाउँमा रहँदा भेडा, च्याङ्ग्रा चराउने, गोठ सार्ने र लेकबेसीमा गरेका भिडियो खिच्दै आफ्नो युट्युबमा हालिरहँदा धेरैबाट राम्रो प्रतिक्रिया आउन थाल्यो। त्यो बेला आफ्नै गोठको भेडा–च्याङ्ग्राको भिडियो राख्दै आएँ।
पुख्र्यौली पेसा नै भेडापालन भएकाले बर्खाको समयमा हिमाल र हिउँदमा बेँसी झर्दा धेरैपटक घुमघाम गरियो। भिडियोहरूमा राम्रो प्रतिक्रिया आउन थालेपछि व्यावसायिकरूपमै अर्थात अरू काम छाडेर नयाँ गन्तव्य, सांस्कृतिक सम्पदा र मौलिक खानाका परिकारका भिडियो खिच्नमा व्यस्त हुन थालेँ।
घुमघाम क्रममा मनाङ, मुस्ताङ, म्याग्दी, काभ्रेलगायत ठाउँ घुमिसकेको छु। हिमाली क्षेत्र र विकट ठाउँ घुम्न रमाइलो लाग्छ। र, मेरा भिडियोहरू पनि त्यहीखालको देखिन्छ। जसका कारण भिडियोहरू स्वदेशी एवं विदेशीले धेरै रुचाइरहेका छन्। गाउँमै जन्मिएर गाउँमै हुर्किएकाले पनि मलाई हिमाली जिल्ला घुम्न निकै रमाइलो लाग्छ। जहाँ पुगिन्छ, त्यहाँ एउटा न एउटा नयाँ विशेषता भेटिएकै हुन्छ। जसले हिँडाइको थकान पूर्णरूपमा मेटिदिन्छ। भिडियोमा आएको प्रतिक्रियाकै कारण अझै नयाँ गन्तव्य जाने जोस बढिरहेको हुन्छ।
गाउँघर घुम्दा स्थानीयको अधिक माया पाउने र उनीहरूले आफ्नै घरमा सेवा सत्कार दिएर राख्ने भएकाले घुमघाममा धेरै खर्च भने गर्नुपरेको छैन। नेपाल यस्तो मुलुक हो, जहाँ गए पनि नयाँमात्र भेटिन्छ। एउटा गाउँमा भेटिएको सुन्दरता अर्को गाउँमा जाँदा अर्कै भेटिन्छ। त्यहाँको विविधता, प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्वले सबैको मन जितिरहेको हुन्छ। मात्र, कतिपय गन्तव्य धेरैलाई थाहा नभएको र आवश्यक पूर्वाधार नभएकै कारण ओझेलमा परिरहेको देखिन्छ। मैले खिचेको भिडियोकै कारण स्वदेशीभन्दा विदेशी ती गन्तव्य पुगिरहेका छन्। र, भिडियो हेर्नेहरू पनि नेपालीभन्दा विदेशी नै बढी हुन्छन्। उनीहरूले गरेको रेस्पोन्स र माया पाउँदा मनमा निकै आनन्द आउँछ।
घुमघाम क्रममा सबैभन्दा बढी मनपरेको गन्तव्य भने अपर डोल्पा हो। त्यहाँको याकखर्कहरू निकै रमणीय छन्। त्यहाँको जीवनशैली, प्राकृतिक सुन्दरताले सबैको मन जित्ने गरेको छ। गाडीको बाटो पनि नपुगेकाले हिँड्नकै लागि अपर डोल्पा नै उत्तम लाग्छ। यात्रामा निस्किँदा ४५ दिनसम्मको यात्रा गर्ने गरेको छु।
डकुमेन्ट्री निर्माण गर्ने क्रममा मैले बिस्तारै ट्राभल भिडियोहरू युट्युबमा राख्न लागेको हुँ। युट्युबमा आज खिचेको भिडियो आजै हाल्न मिल्ने र रेस्पोन्स पनि तत्कालै मिल्ने भएकाले डकुमेन्ट्रीको काम छाडेर युट्युबमा लागेको हुँ। घुम्ने क्रममा मौलिक वेशभूषा र खानपानले अझै ऊर्जा थप्ने गरेको छ। अहिलेसम्म १ हजार ५ सय भिडियो बनाएर पोस्ट गरिसकेको छु। यात्रा क्रममा इन्टरनेट पहुँच पाउनेबित्तिकै तत्कालै पोस्ट गरिहाल्छु।
चर्चाका हिसाबले अहिले धेरै भए पनि यात्रामा आउनेको संख्या भने पहिलाको तुलनामा अहिले घट्न थालेको छ। कतिपय ठाउँमा सडक मार्ग पुगेकाले ट्रेकिङ रुटहरू विस्थापन भएका छन्। यात्राको समय घट्दै गएको छ। जसले यात्राको क्रममा पाउने अनुभव पूर्णरूपमा पाउन सकिरहेको छैन।
नेपालको सुन्दरताको बयान शब्दचित्रमा जति गरे पनि सकिँदैन। जति शब्दमा लेखिन्छ र उतारिन्छ, त्यसको सयौं गुणा बढी महसुस हिँड्दा गर्न पाइन्छ। हुन त पछिल्लो समय मानिसहरू हिँड्नभन्दा गुड्न र उड्नमा रमाउन थालेका छन्। अर्थात, हिँडेरै जाने नेपालीभन्दा बढी विदेशी पाउन थालिएको छ। उनीहरू पनि पछिल्लो समय गन्तव्य स्थानमा बसोबासका लागि आवश्यक पूर्वाधार नपाउने गरेका कारण जहाँ बढी सुविधा छ, त्यस क्षेत्रमा बढी जाने गरेका छन्। पछिल्लो समय खुम्बु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा यात्रा गर्नेको संख्या बढ्नुमा पनि पूर्वाधारकै विकासको पहिलो कारण हो। राम्रो बसाइ र राम्रो आतिथ्य भयो भने यात्रीहरू बढी रमाउने गरेका छन्।
विश्वमा नभएका प्राकृतिक सुन्दरता नेपालमा छ
हेमन्त राई -(हेमन्तराई अफिसियल)
प्रविधिले अहिले विश्वबजार नै खुम्चिएको छ। एकै ठाउँ बसेर प्रविधिमार्फत विश्वका सबै ठाउँलाई एकै क्लिकमा नियाल्न सकिन्छ। भौगोलिकरूपमा नेपाल विकट भए पनि यहाँको सुन्दरताले धेरैको मन लोभ्याइरहेको हुन्छ। दन्तलहर टल्काएर सधैं मुस्कुराउने हिमालदेखि पहाडको बीचमा सुसेली हाल्दै बहने नदीहरू देख्दा जोकोहीको पनि मन बहकिन्छ। र, नदीको सुसेली र कञ्चन ती झरनाहरूमा लहराउँदै कोइली चरीको कुहुकुहु आवाजमा मन्त्रमुग्ध हुँदै यात्रा गर्दाको आनन्द कहीँ पनि मिल्दैन।
विश्वमा नभएका प्राकृतिक सुन्दरता नेपाली भूभागमा रहेकाले यसको भिडियो बनाएर ग्लोबल मार्केटमा प्रचार गर्ने उत्सुकताले मलाई सानैदेखि डोहो¥याउने गरेको थियो। सुदूरपश्चिम डोटीको समाजमा हुर्के बढेकाले यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधता मलाई निकै मन पथ्र्यो। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएसँगै सन् २०१२ देखि गैरसरकारी संस्थामा आबद्ध भएर नेपालका विभिन्न गाउँठाउँ घुम्ने र बुझ्ने अवसर मिल्यो।
जागिरको जिम्मेवारीले नेपाली गाउँघर अनि समाज बुझ्ने अवसर मिलेसँगै बिस्तारै आफूले देखेका गाउँ, समाज अनि त्यहाँका प्राकृतिक सुन्दरता र संस्कृति अरूलाई पनि देखाउने चाहनाले भिडियो फोटोमा रुचि बढ्यो। त्यही रुचिले अहिले पूर्णरूपमा घुमन्तेजस्तै भएको छु। यसरी घुम्ने क्रममा ६० जिल्ला पुगिसकेको छु।
घुमघाम क्रममा विभिन्न समाजका चालचलन, संस्कृति, परम्परा, भाषा, वेशभूषा, दुःख, सुख, संघर्षसँग पनि घुलमिल हुने मौका मिल्ने गर्छ। ती सबै विषयवस्तुलाई भिडियोमार्फत प्रस्तुति दिँदा धेरैले रुचाउँदै आउनुभएको छ।नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म हेर्ने हो भने आफ्नै किसिमका भूगोल, सुन्दरता, समाज अनि संस्कृति भेटिन्छ। धेरै वृहत नभइकन, मेरो घुमाइमा मैले धेरै बुझ्ने मौका पाएको ठाउँ अनि समाजको कुरा गर्ने हो भने त्यो हो रुकुम पूर्व। रुकुम भन्नेबितिक्कै धेरैको दिमागमा माओवादी र द्वन्द्वकालको चित्र आउँछ। मेरो पनि त्यही नै थियो।
तर, रुकुमको लुकेको विशेषता भने छुट्टै छ। रुकुम पूर्व नयाँ नेपालको कान्छो जिल्ला, अनि लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो। रुकुम पूर्वका अधिकांश गाउँ पुगेको छु। त्यहाँका भाषा, चालचलन, संस्कार, भूगोल नजिकबाट नियालेको छु। अधिकांश मगर जाति अनि केही दलित, ठकुरीसँगै व्राह्मण, क्षेत्री अनि गुरुङ, नेवार बसोबास रहेको रुकुम पूर्वमा मगरहरूकै भाषा अनि संस्कृतिको प्रभूत्व छ।
मैले व्यक्तिगतरूपमा भन्नुपर्दा रुकुम पूर्व मगर संस्कृतिको जीवित संग्रहालय नै हो। मगरखाम भाषा, भूमे पर्व, मगरहरूको अन्य परम्परागत नाचगानसँगै सयौंको संख्यामा झाँक्रीहरू भेला भई मनाइने एक पृथक झाँक्री पर्व यो समाजमा अवलोकन गर्न सकिन्छ। संस्कृतिसँगै यहाँका बस्तीहरूको संरचनाको छुट्टै विशेषता छ। लुगुम, तकसेरा, मैकोट, हुकाम, महत, काक्रीजस्ता बस्तीहरूको सुन्दरता नियाल्दा आँखा थाक्दैनन्।
तत्कालीन माओवादी जनयुद्धले ती गाउँसमाजमा छाडेको छापहरूका विभिन्न कथा सुन्ने हो भने लामो इतिहास नै बन्छ। त्यहाँको यार्साको कथा धेरैले सुनेका होलान्, तर यहीँकै हुकाम अनि पेल्माको स्याउ भनेर सायदै केही व्यक्तिले सुनेका छन्। एउटै जिल्लामा दुई सुन्दर हिमाल (सिस्ने र पुथा) अझै पनि ओझेलमा छन्। पर्यटन संस्कृतिको धेरै ज्ञान त छैन, तर यो समाजका मानिसको अतिथ्य पाउँदा मनै लोभिन्छ। यति धेरै विशेषता बोकेको यो जिल्ला अझै पनि ओझेलमा छ।
योसँगै बयान गर्नैपर्ने अर्को ठाउँ हो– सुदूरपश्चिम बाजुराको बडिमालिका त्रिवेणी पाटन। ४ हजार २ सय मिटर उचाइमा अवस्थित विशाल फाँटहरू यहाँको विशेषता हुन्। अरू स्थानको भूगोलमा यतिको उचाइमा हेर्ने हो भने ठुल्ठूला चट्टान देखिन्छन, तर बडिमालिकाको त्रिवेणी पाटनको सुन्दरताले साँच्चै स्वर्गको अनुभूति दिन्छ। विशाल पाटन अनि पाटनमा देखिने सयौं प्रजातिका भुइँफूलहरूसंगै पारि क्षीतिजमा देखिने सुदूरपश्चिमका हिमालका दृश्य गजबकै छ। अझै नजिक आसपास रहेका झरना, गाउँघरको कुरा बेग्लै नै छ। बाजुरा आफैंमा टाढा स्थान अनि सदरमुकाम मार्तडीबाट दुई दिन उकालो ट्रेक गरेपछि पुगिन्छ बडिमालिका त्रिवेणी पाटन।
तुलनात्मकरूपमा काठमाडौं र पोखराआसपास सुन्दर गन्तव्यहरू छन्। जुन प्रचारका हिसाबले धेरै अगाडि छन्। मैले खिच्ने र देखाउने भिडियोहरू भनेको सकेसम्म दुर्गम क्षेत्रमा रहेका सुन्दर दृष्यहरू नै हुन्। म त्यस्तै खालको गन्तव्य खोजीमा लागिरहेको हुन्छु। चर्चा अभावकै कारण ओझेलमा परेको पर्यटकीय गन्तव्यहरू सुदूरपश्चिम क्षेत्रमै धेरै देखिन्छन् र भेटिन्छन्।हिमाली भेगका हिमाल, झरना अनि ताल, पहाडका थुम्का, तालतलैया, खोला अनि झरना र तराईका ठुल्ठूला फाँटहरू हेर्दा समग्र नेपालको भूभाग गजबको छ।
सुन्दरतासँगै दुर्गम स्थानका स्थानीयका दुःखका विषय अझै विशाल छन्। नेपालले विश्वसामु आफूलाई चिनाउन सक्ने एक मुख्य क्षेत्र नै पर्यटन हो। अहिले सीमित हिमाल तथा स्थानमात्रै आममानिसले देख्ने अनि चिन्ने मौका पाएका छन्। अझै दूरदराजको ओझेलमा परेका सुन्दर स्थान अनि नेपाली मौलिक परम्परा र संस्कृति व्यवस्थित तरिकाले संरक्षण र प्रवद्र्धन गर्ने हो भने वृहत सम्भावना देखिन्छन्। र, वास्तवमै भन्नुपर्दा नेपालको गाउँघर साँच्चै सुन्दर छ।
सहर मात खुवाउने सुन्दरता गाउँघरमा पाइन्छ
हेमन्त भण्डारी -नेपाल एट्थ वन्डर
नेपाल जसरी भौगोलिक दृष्टिकोणले फरक छ। त्यसैगरी यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, संस्कृति, वेशाभूषा र भाषासमेत फरक–फरक छ। जसले गर्दा जहाँ गयो त्यहीँ नयाँ किसिमको अनुभव गर्न पाइन्छ।
र, ठाउँअनुसार फरक–फरक प्रकृति पनि भेटिन्छ। जसले धेरैको मन छोइरहेको हुन्छ। एउटा ठाउँमा घुमेपछि फेरि अर्को ठाउँमा जाने हुटहुटी चलिरहन्छ। यहाँको प्रकृति नै यस्तो लोभलाग्दो छ कि जति हिँडे पनि थकाइ नै लाग्दैन।खासगरी एडभेन्चर टुरिज्मका लागि नेपाल निकै उपयुक्त गन्तव्य हो। हुन त सबैजना सबै ठाउँमा पुग्न सक्छन् भन्ने चाहिँ हुँदैन। तर, जो पुग्छन् उनीहरूले नयाँ अनुभव लिएकै हुन्छन्।
प्राकृतिक सुुन्दरता र सांस्कृतिक विविधता आफ्नो क्यामेरामा कैद गरी विश्वसामु प्रचार गर्ने सुरुवात भने सन् २०१८ बाट गरेको हुँ। हाम्रो सुरुवाती भिडियो नै लम्जुङमा ‘म्याड हनी हन्टर्स’ (भीर माहुरीको शिकार) भनेर बनाएका थियौं। त्यो भिडियो धेरैले रुचाएपछि हामीले व्यावसायिक रूपमै यात्रा सुरु गरेका हौं। हालसम्म नेपालका अधिकांश जिल्लाका गन्तव्य पुगिसकेका छौं। यात्रा क्रममा जुन जिल्ला पुग्यो, त्यहीँको प्रकृति राम्रो लाग्छ।
सहरको सुन्दरता मात खुवाउने सुन्दरता गाउँघरमा पाइन्छ। निश्चल बगेका ती नदी र झरनासँगै मुसुक्क मुस्कुराउने हिमाल देख्दा हाम्रोमात्र होइन, जो कोहीको पनि मन लोभ्याउँछ। यी सबै दृष्य हेर्न पदयात्रामै जानुपर्छ।
गन्तव्य पहिचान
यात्रामा निस्किँदा गन्तव्य छनौट गर्दा कतिपय ठाउँमा जाँदा चर्चाको शिखरमा रहेकालाई हेरिन्छ भने कति ठाउँ चर्चामा नभएकामा जाने गरेका छौं। चर्चामा रहेका गन्तव्यबारे अझै धेरै जानकारी गराउने र नयाँ ठाउँ खोज्ने उद्देश्यले हामी यात्रामा निस्किरहेका हुन्छौं। दूरदराजका ठाउँ निकै सुन्दर हुन्छन्। पुग्नलाई केही कठिनाइ भए पनि पुगेपछि पाउने आनन्दको बयान गरी सक्नुको हुँदैन।
उदाहरणका लागि धादिङको रुबी भ्यालीको सिम्ला भन्ने ठाउँलाई लिन सकिन्छ। त्यहाँ पुगेर बनाइएको भिडियो ७ लाखभन्दा बढीले हेरेका थिए। र, पछि धेरै पर्यटक त्यहाँ पुगेका थिए। हामीले खिच्ने भिडियो समय मिलाएर कुनै बेला धेरै चलेको र कुनै बेला गुमनाम रहेका गन्तव्य प्रचारमा लागेका हुन्छौं। अन्नपूर्ण बेसक्याम्पदेखि मोहोरे डाँडासम्मको भिडियो प्रचार गरेका छौं।
अहिलेसम्म घुमेका गन्तव्यमध्ये सबैभन्दा उत्कृष्ट बडिमालिका नै हो। हरियो चौरमा बसेर टाढासम्मको दृष्य प्रत्यक्ष हेर्दा कहिल्यै पनि मन नअघाउने ठाउँका रूपमा बडिमालिकालाई लिँदै आएको छु। सात कोससम्म हेर्दा पनि हरियो देखिन्छ।
योसँगै तराईको बर्दिया पनि निकै मन छोएको गन्तव्य हो। त्यहाँका स्थानीयको बोली वचनदेखि खानाका परिकारले धेरै मन लोभ्याएको छ। यस्तै से–फोक्सुन्डो ताल पनि मनमा बसेको गन्तव्य हो।
निलो पानीको तालले जो कोहीको पनि मन लोभ्याउँछ। यस्तै मनाङको आइसलेक पनि उत्कृष्ट गन्तव्यभित्रै पर्छ। योसँगै इलामको सन्दकपुर पनि पुग्नैपर्ने गन्तव्यभित्र पर्छ। नेपाल, भुटान र तिब्बतका पाँच दर्जन हिमालको मनोरम दृश्य, असंख्य सिमसार, दर्जनौं प्रजातिका लेकाली फूल अनि दुर्लभ रेड पाण्डासँग साक्षात्कार त्यहाँबाट गर्न पाइन्छ।
पूर्वाधारमा जोड दिए पर्यटन सम्भावना अथक
गन्तव्यहरूमा पुग्ने पूर्वाधारमात्र बनाउन सके पर्यटन सम्भावना अथक छ। हामी त गाह्रो साह्रो परे पनि बाटोमा टि हाउस नभए पनि, भोकै हिँड्न परे पनि त्यो ठाउँको प्रचारप्रसार गर्ने भनेर हिँडेपछि गएकै हुन्छौं। तर, घुम्नका लागिमात्र आउने पर्यटकले पाउनुपर्ने आधारभूत सेवा सुविधा नै नपाउने स्थितिमा त कोही पनि जान रुचाउँदैनन्। त्यसका लागि स्थानीय तहले पनि आवश्यक पूर्वाधार बनाउन सके नेपालले पर्यटकीय गन्तव्यरूमात्र बेचेरै धनी हुन सक्ने सम्भावना अधिक देखिन्छ।
हामी पुगेर भिडियो प्रशारण गरेपछि त्यहाँ पर्यटकको संख्या भने बढेकै हुन्छन्। तर, पर्यटकले पनि त हिँड्दा हिँड्दै पाउने सुविधा त त्यहाँको समुदायले दिन सक्नुप¥यो नि! र, हामीले खिच्ने भिडियोमा पनि सम्बन्धित गन्तव्य पुग्दा हुने दुःख, उपलब्ध सुविधा र आवश्यक पूर्वाधार आवश्यकता पर्छ भनेरसमेत उल्लेख गर्ने गरिएको हुन्छ।
जस्तो, रुबी भ्यालीको माथिल्लो भेग जाँदा महादेवखर्कसम्म ठाडो बाटो रहेको र १२ घन्टा हिँडेपछि बसाइका लागि गोठ भेटेर बसेको जानकारी गराएका थियौं। कतिपय गन्तव्यमा खानेपानीसमेत पाउन सकिँदैन। र, नेटवर्कको समस्या हुँदा सम्बन्धित गन्तव्य जाँदा त्यहाँका स्थानीयसँग सोधखोज गर्नसमेत पाइँदैन। अहिलेसम्मको सबैभन्दा लामो फोक्सुन्डोको यात्रा ११ दिनको थियो। र, अन्य क्षेत्रमा त ३ देखि ५ दिनसम्मको यात्रामा निस्किने गरेका छौं।
ट्राभलर हुनुअघि म विज्ञापन एजेन्सीमा काम गर्ने भएकाले बजारको माग र विज्ञापनको ट्रेन्ड राम्रोसँग ज्ञान थियो। त्यहीअनुसार ट्राभल भिडियोहरू बनाएर पनि व्यावसायिक यात्रामा लाग्न सकिन्छ भन्ने सोचसाथ अगाडि बढेको हुँ।