काठमाडौं। नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपिइए) ले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (युएनसिडिएफ) को सहयोगमा उदीयमान र सीमावर्ती बजारका उद्यमीलाई लगानीकर्ता र विज्ञसँग जोडेर आर्थिक विकासलाई गति दिन वेब प्लेटफर्म ‘एगोरा’ सार्वजनिक गर्ने घोषणा गरेको छ।
एनपिइएले नवप्रवर्तन, रोजगारी सिर्जना र उद्यमशीलता समर्थनमा नेपालका साना र मझौला उद्यमका लागि वित्तमा पहुँच प्रवर्द्धन गर्ने संघको मिसन अगाडि बढाउन एगोरा प्लेटफर्मको लाभ उठाउने छ।
एनपिईको घोषणाले आफ्ना सदस्यबीच ‘कल–टु–एक्सन’ सुरु गर्ने छ जसले संस्थाको रणनीतिक उद्देश्य अगाडि बढाउन एगोरा प्लेटफर्मको लाभ उठाउन लगानी फर्म, कोष प्रबन्धक तथा वित्तीय सेवा प्रदायक समावेश छन्।
एनपिइए र युएनसिडिएफले अक्टोबरमा लाइभ हुनुअघि जुलाईमै एगोरा सार्वजनिक गर्न सहमति जनाएका थिए। एनपिइएले नेपालमा एगोरा सार्वजनिक गरेसँगै संस्थाले नेपालमा आधिकारिकरूपमा एगोरा प्लेटफर्म सुरुवाता गर्ने देशमध्ये नेपाल पनि एक हुनेमा सहयोग पुगेको छ।
‘हामी युएनसिडिएफसँग साझेदारी गर्न पाउँदा खुसी छौं। एगोरा हाम्रो डिल सेयरिङ प्लेटफर्मको पूरक हुने र हाम्रा उद्यमी तथा लगानीकर्तालाई धेरै फराकिलो पहुँच प्रदान गर्ने विश्वास छ, एनपिइएका अध्यक्ष सिद्धान्तराज पाण्डेले भने, ‘एनपिइएले नेपालको साझेदारीमा वैकल्पिक लगानी इकोसिस्टम अभिवृद्धि गर्ने प्रयास गरेका कारण यसले नवप्रवर्तनलाई तीव्रता दिन मद्दत गर्छ।’
युएनिसिडएफका डेपुटी कार्यकारी सचिव जेभियर मिचोनले एगोरा एउटा वैश्विक सार्वजनिक वस्तु भएकाले आकारमा जतिसुकै ठूलो एसएमई भए पनि यसबाट नेपाली उद्यम इकोसिस्टममा उत्कृष्ट सेवा प्रदान गर्न प्रयोग गर्न सकिने जानकारी दिए।
‘एगोराले संसारका उदीयमान र सीमावर्ती अर्थतन्त्रहरूका आशाजनक परियोजनामा पुग्ने वित्त लगानीसम्बन्धी सूचनाको अन्तर नियन्त्रण गर्न मद्दत गर्छ,’ मिचोनले भने, ‘यस्तो खाडल पूरा गरेर एगोराले विश्वव्यापी वित्तीय संरचना सेवाबाट वञ्चित नेपालका व्यवसाय, उद्यमी र समुदायलाई पुँजीको महत्वपूर्ण जीवनरेखा प्रदान गर्न मद्दत गर्ने छ।’
संस्थाका उद्देश्यमध्ये एनपिइएले नेपालको निजी र वैकल्पिक लगानी इकोसिस्टम सुदृढ र प्रवर्द्धन गर्ने प्रयास गर्छ।
एनपिइएले एगोरामार्फत क्षेत्रीय र विश्वव्यापी पुँजी प्रदायकबाट नेपाली एसएमईहरूलाई लगानी वित्त पहुँच दिनका लागि सूचनाको खाडल बन्द गर्न काम गर्ने छ।
त्यसैगरी एनपिइएले एक एग्रिगेटर र लगानीकर्ताहरूको डाटाबेसका रूपमा नेपालका निजी इक्विटी र भेन्चर क्यापिटल फर्महरूबीचको सहकार्यका साथै नेपाली फर्म र क्षेत्रीय र विश्वव्यापीस्तरमा काम गर्नेहरूबीच सहकार्य प्रवर्द्धन गर्न एगोरा प्रयोग गर्ने छ।
एगोराले अत्याधुनिक एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर उद्यमी तथा लगानीकर्ताबीचको सम्बन्ध थप सहज बनाउन, उद्यमीहरूको कोषका सम्भावना सुधार गरी उनीहरूलाई लगानीकर्ताका विविधिकृत पहुँचमा लैजान मद्दत गर्नुका साथै लगानीकर्ताहरूका लागि उदीयमान र सीमावर्ती बजारमा सम्भावनाका ढोका खोल्न मद्दत गर्ने छ।
समान विचारधाराका साझेदारहरूको सञ्जालसँगको सहकार्यमा युएनसिडिएफले सन् २०२३ अन्त्यसम्ममा करिब २० देश पुग्ने लक्ष्यसाथ एगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा प्रयोग गर्ने छ।