काठमाडौं। दसैंं र तिहार नेपालीका लागि उल्लासको पर्व हो। दसैं र तिहार पारिवारिक पर्व भएकाले पारिवारिक पुनर्मिलन, भेटघाट र खानपिनमा नै अधिक समय सकिन्छ।
नियमित कामधन्दा, जागिर, व्यवसाय सबै छाडेर केही साथीभाइ, आफन्त, इष्टमित्रसँग मिलेर पिङ खेल्ने, घुम्ने, देउसीभैलो, चलचित्र हेर्नुु पनि कम आनन्दको विषय होइन।
अझ साथीभाइ मिलेर ट्रेकिङ जाँदा, नयाँ–नयाँ ठाउँमा घुम्दा बालापनको झझल्को आउँछ। चाडपर्व र बिदा सदुुपयोग गर्दै मनपरेका, तर अरू बेला समय नपुगेर वा नजुरेर पढ्न नभ्याएका वा नसकेका पुस्तक समय निकालेर पढ्नुु झनै आनन्दको विषय हो।
पुस्तक पढ्दा पनि पैसासँग सम्बन्धित विषय छनौट गरेर अध्ययन गर्दा आफू कसरी व्यावसायिक बन्ने, पैसा कसरी कमाउने र पैसा कमाउँदा के–कस्ता उल्झन आउँछन् भन्ने भुक्तभोगीका अनुुभवबाट आफूले लिने व्यावसायिक रणनीति चुस्तदुुरूस्त बनाउन सहयोग मिल्छ।
पुस्तक पढ्नु आफैंमा राम्रो कुरा हो र असल पुुस्तक त्यसमा पनि अर्थतन्त्रसँग सम्बन्धित पुस्तक पढ्नु असाध्यै राम्रो हो। धेरैका लागि अर्थतन्त्र एउटा निरश विषय लाग्छ। तर, पछिल्लो समय अर्थतन्त्रका अवयवबारे जानकारी लिन जोकोहीलाई रहर पनि हुने गर्छ। यस्तो अवस्थामा २०८० को दसैं र तिहार बिदा सदुपयोग गर्न उपयुक्त हुने केही आर्थिक क्षेत्रसँग सम्बन्धित पुुस्तककाबारे यहाँ चर्चा गरिएको छ :
बिएन घर्तीको ‘बैंकिङ अनुशासन दिगो विकास लागि’
बैंकिङ भन्नेबित्तिकै धेरैले पैसा सम्झिने गर्छन्। हुन पनि बैंकिङ अरूको पैसा सुरक्षित गर्ने व्यवसाय हो। अर्थात, बैंकिङ पनि अरू व्यवसायजस्तै एउटा व्यावसायिक आयाम हो।
सर्वसाधारण वा अन्य पक्षसँग लिएको पैसाको व्यवस्थापन र त्यसको सुरक्षाका लागि बैंकिङ किन आवश्यक छ? पैसाको कारोबार गर्ने संस्था (बैंक तथा वित्तीय संस्था) किन अनुशासनमा बस्नुपर्छ? अरूको पैसा चलाउने संस्था दूरदृष्टिबाट किन अभिप्रेरित हुनुपर्छ? वा किन ग्राहक केन्द्रित भएर आफ्नो व्यावसायिक आयाम अघि बढाउनुुपर्छ भन्ने प्रश्नका जवाफ बिएन घर्तीद्वारा लिखित ‘बैंकिङ अनुशासन दिगो विकास लागि’ भन्ने पुस्तकले दिन खोजेको छ।
बैंकिङ एउटा प्राविधिक विषय पनि हो। तर, घर्तीले पुुस्तकमा अधिक प्राविधिक शब्द प्रयोग नगरी सजिलै बुुझ्न सकिने सरल र साधारण बोलीचालीको भाषा प्रयोग गरेका छन्। आफैं लामो समय बैंकरका रूपमा क्रियाशील घर्तीले बैंकिङका अप्ठ्यारा र सहजता बुुझाउन आफ्नै उदाहरण पस्केका कारण पुस्तक आफैं लेखेको जस्तो अनुुभूत हुन्छ।
पुस्तकमा बैंक तथा वित्तीय संस्थाले नियामक राष्ट्र बैंकले जारी गरेका निर्देशनको छिद्र खोजेर अनुपालना गर्ने संस्कृतिलाई प्रश्रय दिँदा केन्द्रीय बैंकलाई सुक्ष्म व्यवस्थापन गर्न उक्साएको र स्वतन्त्ररूपमा व्यावसायिक निर्णय लिन पाउने वित्तीय संस्थाको अधिकार खोसिँदै गएकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।
नेपाली बैंकिङको छोटो इतिहासमा १६ वित्तीय संस्था समस्याग्रस्त भएको, चार वित्तीय संस्थाको अनुमति खारेज भएको, कतिपय बैंक सञ्चालक समिति र व्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई सामान्य अवस्थामा फर्काइ प्रतिस्पर्धी बनाउन विश्व बैंकसँग ७ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी ऋण लिएर खर्च गर्नुपरेको अवस्थालाई घर्तीले पुुस्तकमा चित्रित गरेका छन्।
भविष्यमा बैंकिङ व्यवसाय (बैंक तथा वित्तीय संस्था र नियामक नेपाल राष्ट्र बैंक) मा प्रवेश गरी बैंकिङलाई पेसा बनाउन चाहनेले विगतका अभ्यास बुुझ्नैपर्ने हुन्छ। विगतका अभ्यास बुुझ्दा के कस्ता अप्ठ्यारालाई कस्तो प्रतिकूल समयमा कसरी व्यवस्थापन गरिएको थियो भन्ने जानकारी राख्नुु बैंकिङलाई पेसा बनाउन चाहनेका लागि अतिआवश्यक छ। त्यसैले बैंकिङ पेसा बनाउन चाहनेलाई ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुुन सक्छ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेका लागि बैंकिङ अनुशासन एकपटक पढ्नैपर्ने पुस्तकभित्र पर्छ। बैंकिङ विषयमा चासो राख्ने, वित्तीय संस्थामा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थाका सञ्चालक रहेका र सञ्चालक बन्ने आकांक्षा राखेका, उच्च व्यवस्थापक, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको बैंकिङ अभ्यासलाई न्याय गर्न पनि बैंकिङ अनुशासन एउटा ‘क्याप्सुल’ बन्न सक्छ।
इमन बटलरको ‘पुँजीवाद एक परिचय’
पुुँजीवाद शब्द हामीले दिनहुँजसो सुरिहेका हुन्छौं। खासगरी राजनीतिक नेता र अर्थशास्त्रीले अर्थतन्त्रका विषयमा कुरा गर्दा पुँजीवाद उच्चारणबिना सायद उनीहरू अपूर्ण हुन्छन्। खासगरी कम्युुनिस्ट (वामपन्थी) ले गाली गर्ने शब्दका रूपमा पुँजीवाद उपयोग गर्ने गरेको पाइन्छ। तर, पुँजीवाद के हो? यसले कसरी काम गर्छ, यसका सबल तथा दुर्बल पक्ष के हुन् भनेर आ–आफ्ना ढंगले व्याख्या हुँदै आएको छ।
पुँजीवाद र व्यक्तिगत स्वतन्त्रताको तिखो पक्षपोषण गर्ने संस्था एडम स्मिथ इन्स्टिच्युटका निर्देशक इमन बटलरले ‘एन इन्ट्रडक्सन टु क्यापिटालिज्म’ पुस्तक प्रकाशित गरेका छन्। छोटो, सरल, तिखो र पट्यार नलाग्ने यो पुस्तकलाई त्यस्तै गरी सरलीकृत गरी मुराहरि पराजुलीले नेपाली भाषामा अनुवाद गरेका छन्, ‘पुँजीवाद एक परिचय’।
के विद्यार्थी, के शिक्षक, के राजनीतिज्ञ सबै वर्गलाई उत्तिकै काम लाग्ने पुस्तक बनेको छ, पुँजीवाद एक परिचय। अनावश्यक, क्लिस्ट र पट्यारलाग्दो शब्दावली प्रयोग नगरी अनुवाद गरिएको पुस्तक वामपक्षीय दल समूूहका अवधारणा, विवेचना, राजनीतिक कार्यक्रम आदिको मिहिन परख गर्न इच्छुक राजनीतिकर्मीका लागि पुँजीवाद अझ उपयोगी देखिन्छ।
पुस्तकमा पुँजीवाद के हो? पुँजी के हो? पुँजी कसरी बनाइन्छ? पुँजी संरचना किन महत्वपूर्ण छ? पुँजीवादलाई केले कामकाजी बनाउँछ? भन्ने विषयको जवाफ सरल तरिकाले खोजिएको छ। खराब नीतिले पुँजी कसरी मासिन्छ? पुँजीवादको नैतिक आयाम, पुँजीवादी चिन्तक र पुँजीवादको भविष्यजस्ता विषयवस्तुले विगतदेखि वर्तमान र भविष्यका धेरै पक्ष केलाएर सरल र सही ढंगले व्याख्या गर्ने पुस्तक पाउन मुस्किल भएका बेला पुँजीवाद एक परिचय उपयुुक्त सामग्री बन्न सक्छ।
पुँजीवाद र नाफाको सम्बन्ध, प्रतिष्पर्धा, शोषण र पुँजीवाद, पुँजीले उत्पादकत्व बढाउने विधि, भौतिक र वित्तीय पुँजी, पुँजीवाद र राज्यको सम्बन्ध, पुँजीवादले सिर्जना गर्ने मूल्य, पुँजीका सबैभन्दा महत्वपूर्ण रूप, प्रणालीगत पुर्वाधार (सञ्जाल र बजार), न्याय र सम्पत्ति अधिकारजस्ता विषय पुस्तकमा सरल ढंगले व्याख्या गरिएको छ।
अहिले नेपालमा सबैभन्दा बढी प्रयोगमा रहेको भाष्य समानता र समृद्धि हो। पुँजीवाद एक परिचयले समानता र समृद्धिका विषयलाई निकै राम्रोसँग प्रष्ट्याउने कोसिस गरेको छ। कार्ल माक्र्सका सिद्धान्तमा अधिक प्रयोग हुने पुँजीवाद र पुँजीवादविरुद्ध सुरु भएको औद्योगिक क्रान्तिदेखि राज्य व्यवस्थित अर्थतन्त्र, कर्पोरेट कहर र भविष्यका लागि पुँजीवादको रचनासम्मका विषयवस्तु सरल र सटिक तवरले अथ्र्याउने संक्षिप्त दिग्दर्शनका रूपमा पुँजीवाद एक परिचयलाई लिन सकिन्छ।
अझ महान पुँजीवादी चिन्तकहरूको संक्षिप्त अवधारणासँगै आलोचक र आलोचनाका विभिन्न पक्ष केलाएकाले पुँजीवाद एक परिचय जोेसुकै चिन्तक, विद्यार्थी र शिक्षकका लागि उपयोगी पुस्तकका रूपमा दर्ज भएको छ।
नारायण सापकोटाको ‘सेयरपुर’
यतिबेला नेपालको सेयर बजार निरन्तर खस्कँदो छ। लगानीकर्ताहरू आत्तिएका छन्। सरकार र नियामकले बजार सुधारका लागि चालेका कुनै पनि कदम सफल देखिएका छैनन्। तर, लगानीकर्ता जति नै आत्तिए पनि सेयर बजार निरन्तर अघि बढिरहेकै छ, कहिले बढेर त कहिले घटेर। २०७८ भदौ २ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२०० बिन्दुु छिचोल्दा सेयर किन्ने लगानीकर्ता अहिले १९०० बिन्दुुभन्दा तल कारोबार गर्दा कस्तो सोचिरहेका होलान्? सेयर बजारमा लगानी डुुबेका लगानीकर्ताको यथार्थमा आधारित कथा हो– सेयरपुर।
खासगरी सेयर बजारमा लगानीकर्ता र आगामी दिनमा सेयर बजारलाई आफ्नो कार्यक्षेत्र बनाउन इच्छुुकका लागि एकपटक पढ्नैपर्ने पुस्तकका रूपमा सेयरपुर आएको छ। उपन्यासका रूपमा आएको सेयरपुर एउटा नेपाली लगानीकर्ताको वास्तविकतामा आधारित कथा हो। उपन्यासका रूपमा सेयरपुर पढ्दा जति मजा आउँछ, त्यसमा पस्किएका विषयवस्तु र एउटा लगानीकर्ताले सेयर बजारमा कसरी कमाउँछ वा गुमाउँछ भन्ने सटिक विश्लेषणले आगामी दिनमा सेयर बजारमा कसरी कारोबार गर्दा सुरक्षित हुन सकिन्छ भन्ने विषयलाई रोचक ढंगले सेयरपुरमा प्रस्तुत गरिएको छ।
त्यतिमात्र होइन, एउटा पत्रकारले आफू कर्मक्षेत्रमा रहँदा के–कस्ता कठिनाइहरू झेल्नुुपर्छ भन्ने विषयलाई सिलसिलेवार रूपमा सेयरपुरका लेखक नारायण सापकोटाले प्रस्तुुत गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्षसमेत रहेका सापकोटाले १५ वर्षभन्दा बढी समय राजनीतिक र आर्थिक बिटमा कलम चलाउँदै सेयर बजारमा गरेको लगानीको अनुुभव सेयरपुरमा उतारेका छन्। पत्रकारितासँगै २०६० देखि नेपालको सेयर बजार र पछिल्लो समय अमेरिकी सेयर बजारमा लगानी गर्दाको अनुुभव पनि सेयरपुरमा उपन्यासका माध्यमद्वारा पस्केका छन्।
आममानिस र सरकारी अधिकारीले सेयर बजार लगानीकर्तालाई हेर्ने दृष्टिकोण, सेयर बजारको लगानी डुुब्दै जाँदा घरपरिवारलाई ढाँट्नुपर्ने बाध्यता, देशभित्रै केही काम गर्छु भन्नेलाई राज्य र समाजले गर्ने व्यवहार, शासक फेरिए पनि प्रवृत्ति नफेरिएको परिवेश, बैंकबाट ऋण लिँदा घुस दिनुपर्ने नेपालीको बाध्यतालाई सापकोटाले सेयरपुरमा उजागर गरेका छन्।
सेयर लगानीकर्ताले बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुुपर्ने संघर्षलाई उपन्यासमा लिपिबद्ध गरेर सेयर बजारलाई जुवाघर ठान्ने बौद्धिक वर्गलाई तिखो प्रहार गर्दै जनमानसमा रहेका भ्रम चिर्न भरपुर प्रयास गरेका छन्।