काठमाडौं। नेपालमा पहिलोपटक विद्युतीय सवारीसाधन समेटिएको राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ।
ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो। अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिसाथ सञ्चालनमा ल्याइएकाले ईड्राइभ नेपाल एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।
बिहीबार नेकपा (एमाले) का प्रतिनिधिसभा सचेतक महेश बर्तौलाले रिबन काटेर तथा बागमती प्रदेश उपसभामुख अप्सरा चापागाई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झण्डा फहराएर ईड्राइभ एप र ट्याक्सी सेवा उद्घाटन गरे।
‘इलेक्ट्रिक गाडी प्रयोगले नेपालको विद्युत खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोल खरिदमा अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ,’ बर्तौलाले भने।
राष्ट्रियसभा गृहमा उद्घाटन गरेसँगै ४० नयाँ विद्युतीयय ट्याक्सीले टुँडिखेलको एक चक्कर लगाएको थियो। हाल कम्पनी आफैंले २० ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप १ सय ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।
त्यस्तै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारीसाधन पनि क्रमशः जोडिँदै जाने कम्पनीले जनाएको छ।
‘सेवाग्राही सुविधासहित सुरक्षित गन्तव्यमा पुर्याउनु ईड्राइभ नेपालको उद्देश्य हो। नेपालमा रोजगारीका नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशी विदेशिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ,’ कम्पनीका अध्यक्ष राजेश मास्केले भने।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थ प्रयोग भएका ट्याक्सी विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले बढावा दिनुपर्ने बताए।
नेपालमा १ सय गाडी भित्रिँदा ७० वटा विद्युतिय हुनु खुसको विषय रहेको भन्दै घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतीयमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव पनि दिए।
कम्पनीका अध्यक्ष मास्केले पूर्णतः विद्युतबाट चल्ने यी सवारीसाधनले ग्राहकलाई आरामदायी सेवा सुविधासहित गन्तव्य पुर्याउनेमात्र नभई विद्युत खपत, पेट्रोलियम पदार्थबाट विदेशिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणमा समेत फाइदा पुग्ने बताए।
ईड्राइभको राइड सेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरले नेपालमा बनाएको पहिलो एप पनि हो। यो एप अहिले नै प्ले स्टोर तथा एप स्टोर दुवैमा डाउनलोड गर्न सकिन्छ।
ईड्राइभको विशेषता के?
ईड्राइभ एपको भाडा अन्य सवारी सेवाभन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ।
ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणाली प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालकबीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भए सेवाग्राहीले तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन्।
त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको छ। यसले गर्दा आफ्नो सवारीसाधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसँग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ।
त्यस्तै कम्पनीले आफ्नै ुफास्ट चार्जिङ स्टेसन स्थापना गरेको छ। जसमा पार्किङ लटसहित ट्याक्सी, स्कुटर चार्ज हुनेछ।
रोजगारी
ईड्राइभ नेपाल प्रालिले महिला चालकलाई विशेष सहुलियत प्रदान गरेको छ।
त्यस्तै आफैं गाडी मालिक बन्नेका लागि पनि योजना कम्पनीसँग छ। इलेक्ट्रिक सवारी खरिद गरी सञ्चालन गर्न चाहना राखेका तर आर्थिक अवस्था कमजोर रहेकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा दिने छ। साथै, एपमा आबद्ध सवारी चालकले कमिसन प्रतिशत कममात्र बुझाउनुपर्ने छ।
इलेक्ट्रिक सेवा प्रयोग र बचत
काठमाडौं उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन्। त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ। जसले दैनिक अनुमानित ३ करोड ६ लाख रुपैयाँबराबर पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ।
पेट्रोलका यी सबै ट्याक्सी ई ट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैयाँबराबर विद्युत् खपत गर्ने छ। त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैयाँ बचत हुनेछ। यसले प्रतिमहिना ८४ करोड ६० लाख रुपैयाँ बचत हुने देखिन्छ।