काठमाडौं। गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ तीन महिनामा कूल वस्तु निर्यातमा २.३ प्रतिशतले कमी आएको छ। यस अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँबराबरको कुल वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यातमा ३५.७ प्रतिशतले कमी आएको थियो।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य देशतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, अलैंची, पोलिस्टर धागोलगायत वस्तु निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, जुट सामान, ऊनी गलैंचा, रोजिनलगायत वस्तु निर्यात घटेको छ।
यस अवधिमा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४ खर्ब ७ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयातमा १६.२ प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने देशका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य देशतर्फको आयात २२.८ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडालगायत वस्तु आयात बढेको छ भने कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एमएस बिलेटलगायत वस्तु आयात घटेको छ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।
आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगन्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेक सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
पछिल्लो तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्घि भई ३ खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत थियो।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोडबराबरको भएको थियो।