काठमाडौं। अघिल्लो वर्षको तुलनामा महँगी (मुद्रास्फीति) मा कमी आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तथ्यांकअनुसार मुद्राफीति ७.५० प्रतिशत छ।
अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको देखिन्छ।
यस्तै तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ११.९२ प्रतिशतले बढेको छ।
यस्तै यस अवधिमा घ्यु तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.२५ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्ष असोजसम्म यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ। असोजमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराई ५.६६ प्रतिशत, पहाड ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष सोही महिनामा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत थियो।
यस्तै असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत छ। अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत छ। त्यस्तै निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ।
असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ५.६५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही महिनामा यस्तो सूचकांक ११.५९ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ।