काठमाडौं। नेपालमा बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा वृद्धि हुँदा शोधनान्तर बचतमा थप सुधार भएको छ।
नेपालमा विदेशी मुद्रा भित्रिने क्रम बढ्दा चालू आर्थिक वर्ष तीन महिनामा शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको छ।
अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा छ।
समीक्षा अवधिमा चालू खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा चालू खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा छ।
यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक छ।
अघिल्लो वर्ष सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक थियो।
कुल विदेशी विनिमय सञ्चिति
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ पुगेका छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ।
२०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ।