काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले सहुलियत ब्याजमा १ खर्ब २५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ। अहिले लिएको ऋणको ब्याज महँगो भएको भन्दै नेवानिले सस्तो दरमा कर्जा लिने प्रक्रिया अगाडि बढाएको हो।
निगमले वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर महँगो छ। निगमले दुई वित्तीय संस्थालाई १०.२५ देखि १०.५० प्रतिशतसम्म ब्याज तिरिरहेको छ।
नेवानि कार्यकारी अध्यक्ष युवराज अधिकारीले सहुलियत ऋण लिन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सैद्धान्तिक सहमति लिएर काम अगाडि बढाइरहेको जानकारी दिए।
पर्यटनको सहमतिपछि अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई डलर जोखिम कोष (हेजिङ फन्ड) बारे स्पष्ट पार्नसमेत पत्रचार गरेको उनले जानकारी दिए। राष्ट्र बैंकले पनि नियमानुसार स्पष्ट गरिने जवाफ दिएको उनले जानकारी दिए।
पहिलो चरणको सहमतिपछि नेवानिले अबको केही साताभित्रै सञ्चालक समितिको बैठक राखेर सहुलियत ब्याजमा ऋण दिने बैंक तथा वित्तीय संस्थाहरूको सूची (लिस्ट) तयार पार्ने कार्यकारी अध्यक्ष अधिकारीले बताए।
बैंक तथा वित्तीय संस्थाको लिस्टिङका लागि पर्यटन मन्त्रालयको पुनः सहमति लिएर अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिने र त्यसका आधारमा ऋण लिन फेरि बोलपत्र आह्वान हुने उनको भनाइ छ।
सहुलियत ऋण लिएपछि अहिले भएका ऋण तिर्ने र बाँकी रकमले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जहाज थप्ने योजना अगाडि बढाइएको छ।
नेवानिले दुईथान ‘न्यारोबडी’ र दुईथान ‘वाइडबडी‘ जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा–ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ।
अहिले भएको ऋणको ब्याज १०.२५ देखि १०.५० प्रतिशतसम्म छ। पहिला यही ब्याज ११ प्रतिशत थियो। वायुसेवालाई यो ब्याजदर महँगो हो। अर्बौं रुपैयाँको ब्याज महँगोमा तिर्दा पनि नाफा गर्न नसकेको निष्कर्ष निकाल्दै नेवानि सहुलियत ब्याजमा ऋण लिने निष्कर्षमा पुगेको अध्यक्ष अधिकारीको भनाइ छ।
कुन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन लागेको हो निगमले खुलाएको छैन। ऋण लिन सरकार जमानी बस्नुपर्ने हुन्छ। त्यसका लागि मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्ने हुन्छ। जहाज खरिद गर्न पछिल्लोपटक लिएको ऋणमा पनि सरकार जमानी बसेको छ।
अहिलेको अवस्थामा सञ्चय कोष र नागरिक लगानी कोषले ब्याजदर घटाउन सक्ने स्थिति नरहेकाले वित्तीय संस्थाहरूलाई आह्वान गर्न लागिएको उनको भनाइ छ। सञ्चय कोष र नागरिक लगानी कोषले पुरानो ऋण तिर्न नसकेको भन्दै निगमलाई जहाज किन्न थप ऋण नदिने स्पष्ट पारेका छन्।
पर्यटनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले अहिले लिएको ऋणको ब्याज अत्यधिक महँगो भएकाले त्यसलाई ‘सफ्ट लोन’ मा ल्याउनुपर्ने बताउँदै आएका छन्। केही दिनअघि संघीय संसदमा मन्त्री किराँतीले चर्को ब्याज भएकै कारण निगमले गरेको आम्दानीजति ब्याज तिर्दै सकिने भएकाले यसलाई सल्ट्याउनुपर्ने बताएका थिए। सस्तो ब्याजमा ऋण लिएर अहिले भएका ऋण फरफारक गरी नयाँ व्यावसायिक योजनामा लगाउने गरी काम भइरहेको उनको भनाइ छ।
एयरलाइन्ससँग भएको सम्पत्ति धितो राखेर लिने ऋणका लागि ग्लोबल टेन्डर आह्वान हुनेछ। जसले सबैभन्दा कम ब्याजमा ऋण दिन तयार हुन्छ, त्यो ऋण लिने योजना नेवानिको छ।
पछिल्लो समय निगमले ब्याज र किस्ता नतिरेको भन्दै सञ्चय कोष र नागरिक लगानी कोषले सरकारलाई ऋण तिरिदिन आग्रह गरिरहेको बेला सस्तो ब्याजमा ऋण खोजीमा नेवानि लागिरहेको हो।
नेवानिले यो खालको ऋण लिए नेपालमै पहिलो हुनेछ। अहिलेसम्म वैदेशिक ऋण लगानीमा परियोजना निर्माण भइरहेका छन्। ती परियोजनामा दुई देशबीच आपसी सम्झदारीमा ब्याजदर निर्धारण भइरहेको छ। तर, नेवानिले लिन लागेको ऋण भने नितान्त व्यावसायिक हुनेछ। बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा गराएर ऋण लिने चलन विदेशमा छ।
मुलुकको कन्ट्रिरेटिङ (साख) निर्धारण नभएको र डलर जोखिम बेहाेर्ने हेजिङ फन्डमा अस्पष्टता देखिएको छ। मुलुकको साख निर्धारण र हेजिङ फन्डका विषयमा प्रष्ट नहुँदा विदेशी लगानी ल्याउन समस्या परेको लगानीकर्ताले बताउँदै आएका छन्।