काठमाडौं। गत वर्षको तुलनामा जीवन बिमकहरूले संकलन गरेको प्रथम जीवन बिमा शुल्कमा कमी आएको छ। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार २०८० असोजसम्म जीवन बिमकहरूले ६ अर्ब ७२ करोड २६ लाख रुपैयाँको प्रथम बिमा शुल्क आर्जन गरेका थिए। तर, २०७९ को सोही अवधिमा भने ७ अर्ब ९ करोड ५५ लाखको प्रथम बिमा शुल्क आर्जन गरेका थिए।
प्रथम बिमा शुल्क आर्जन यस वर्षभन्दा ५.२५ प्रतिशतले बढी हो। प्रथम जीवन बिमाशुल्क संकलन घटे पनि नवीकरण जीवन बिमा शुल्क संकलन भने उल्लेख्य बढेको छ।
प्राधिकरणको तथ्यांकअनुसार गत असोजसम्म बिमकहरूले कुल ३४ अर्ब ८ करोड २० लाखबराबर नवीकरण जीवन बिमा शुल्क संकलन गरेका छन्।
अघिल्लो वर्ष भने कुल २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँको मात्रै नवीकरण जीवन बिमा शुल्क संकलन भएको थियो। यो यस वर्षभन्दा १८.८३ प्रतिशतले कम हो।
यस्तै यस वर्ष कुल जीवन बिमा शुल्क संकलन बढेको छ भने कुल निर्जीवन बिमा शुल्क संकलन भने घटेको छ।
गत वर्ष असोजसम्म बिमकहरूले ३५ अर्ब ७७ करोड ६८ लाखको कुल जीवन बिमा शुल्क संकलन गरेका थिए। यस वर्ष असोजसम्म भने १४.०५ प्रतिशत बढी अर्थात ४० अर्ब ८० करोड ४६ लाखको कुल जीवन बिमा शुल्क आर्जन गरेका छन्।
गत वर्ष असोजसम्म बिमकहरूले १० अर्ब ८४ करोड २४ लाखको कुल निर्जीवन बिमा शुल्क संकलन गरेका थिए। त्यसको तुलनामा यस वर्षको कुल निर्जीवन बिमा शुल्क संकलन भने ३.५८ प्रतिशतले घटेको छ। तथ्यांकअनुसार गत असोजसम्म १० अर्ब ४५ करोड ४७ लाखको कुल निर्जीवन बिमा शुल्क संकलन गरेका छन्।
समग्रमा जीवन र निर्जीवन बिमकको कुल बिमा शुल्क भने गत वर्षको तुलनामा ९.९५ प्रतिशतले बढेको छ। यस वर्ष जीवन र निर्जीवन दुवै बिमकले संकलन गरेको कुल बिमा शुल्क ५१ अर्ब २५ करोड ९४ लाख रुपैयाँको छ। अघिल्लो वर्ष यही अवधिमा बिमकहरूले संकलन गरेको कुल बिमा शुल्क भने ४६ अर्ब ६१ करोड ९३ लाखको थियो।
कुल जीवन बिमालेख र कुल निर्जीवन बिमालेख संख्या घट्यो
प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको तुलनामा कुल जीवन बिमालेख र कुल निर्जीवन बिमालेख संख्या भने घटेको छ। बिमकहरूले गत वर्ष असोजसम्म १ करोड ३८ लाख ८३ हजार २ सय ५६ जीवन बिमालेख जारी गरेका थिए।
यसपालि १ करोड ३८ लाख ६७ हजार ५ सय ८१ जीवन बिमालेख जारी गरेका छन्। यो गत वर्षको तुलनामा ०.११ प्रतिशतले कम हो।
यस्तै बिमकहरूले गत वर्ष ६ लाख ८९ हजार ४ सय ६८ निर्जीवन बिमालेख जारी गरेका थिए। यस वर्ष असोजसम्म कुल ६ लाख ८४ हजार ४ सय ३६ निर्जीवन बिमालेख जारी गरेका छन्।
यो गत वर्षभन्दा ०.७३ प्रतिशतले कम हो। गत असोजसम्म १५ लाख ९ सय ८३ वैदेशिक रोजगार बिमालेख, ६७ लाख ५ हजार ४ सय ८९ म्यादी र लघु म्यादी जीवन बिमालेख जारी भएको छ।
यस्तै ५६ लाख ६१ हजार १ सय ९ जीवन बिमा लेख (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेख बाहेक) जारी भएको छ। प्राधिकरणको तथ्यांकअनुसार बिमा दायरामा आएको जनसंख्या गत वर्ष असोजसम्म (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमालेखसहित) ४३.६२ प्रतिशत थियो। यस वर्ष असोजसम्म आउँदा भने यो ४३.४२ प्रतिशत रहेको देखिन्छ।
असोजमा निर्जीवन बिमकद्वारा ३ अर्ब ३६ करोडको कुल बिमा शुल्क आर्जन
निर्जीवन बिमकहरूले चालू आर्थिक वर्ष २०८०/८१ असोजमा मात्रै ३ अर्ब ३६ करोडको कुल बिमा शुल्क आर्जन गरेका छन्।
तथ्यांकअनुसार निर्जीवन बिमकले २ लाख ७२ हजार ४ सय ९१ बिमा पोलिसी बिक्री गरी कुल ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँको कुल बिमा शुल्क आर्जन गरेका हुन्।
यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी ४० करोड २९ लाख र दोस्रोमा शिखर इन्स्योरेन्सले ३७ करोड ८८ लाख रूपैयाँबराबर कुल बिमा शुल्क आर्जन गरेका छन्।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३३ करोड १३ लाख, नेको इन्स्योरेन्स ३१ करोड ३९ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स ३१ करोड १५ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३० करोड ६१ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँको कुल बिमा शुल्क आर्जन गरेका छन्।
यस अवधिमा एनएलजी इन्स्योरेन्सले २४ करोड ६५ लाख, सानिमा जिआइसी इन्स्योरेन्स २२ करोड ५ लाख, ओरिएन्टल इन्स्योरेन्स १९ करोड ६० लाख, प्रभु इन्स्योरेन्स १५ करोड १५ लाख, नेपाल इन्स्योरेन्स १३ करोड ९० लाख, नेसनल इन्स्योरेन्स ७ करोड १३ लाख र राष्ट्रिय बिमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँबराबर कुल बिमा शुल्क आर्जन गरेका छन्। चालू आर्थिक वर्ष असोज महिनासम्म यी कम्पनीले १० अर्ब ४४ करोडको बिमा शुल्क आर्जन गरेका छन्।
लघु बिमकले आर्जन गरेको बिमा शुल्क
चालू आर्थिक वर्ष २०८०/८१ असोजसम्म दुई लघु निर्जीवन बिमकले ९२ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन्। यी कम्पनीले असोजसम्ममा कुल २ हजार ९ सय ७२ बिमा पोलिसी बिक्री गरी ९१ लाख ८९ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन्।
जसमा नेपाल माइक्रो इन्स्योरेन्सले १ हजार ६ सय ६७ पोलिसी बिक्री गरी ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ हजार ३ सय ५ पोलिसी बिक्री गरी ६१ लाख ४४ हजार रुपैयाँबराबर कुल बिमा शुल्क आर्जन गरेका छन्।
असोज महिनामा मात्रै भने नेपाल माइक्रो इन्स्योरेन्सले १ हजार ६ सय १ पोलिसी बिक्री गरी २७ लाख ६९ हजारको कुल बिमा शुल्क आर्जन गरेको छ।
यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले असोजमा मात्रै १ हजार २ सय ६४ बिमा पोलिसी बिक्री गरी ६० लाख २५ हजार बिमा शुल्क आर्जन गरेको छ।