काठमाडौं। चरम आर्थिक संकट गुज्रिरहेको श्रीलंकाको आर्थिक अवस्था अझै उक्सिन सकेको छैन। केही समय अगाडिसम्म विश्वका अधिकांश सञ्चारमाध्यममा श्रीलंकाले बेहोरेको आर्थिक संकटका विषयले खुबै चर्चा पाउँथ्यो। तर, श्रीलंका संकटमा रुमल्लिरहे पनि त्यहाँका नागरिक भने बिन्दास देखिएका छन्।
मुलुक संकटमा भए पनि श्रीलंकीहरूले विश्व भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ। नेपालमै आएका श्रीलंकाली पर्यटक संख्या हेर्ने हो भने बढ्दो क्रममा छ।
कोरोना कालपछि सन् २०२१ यताको पर्यटक आगमन बाक्लिँदो छ। २०२२ मा विश्वव्यापीरूपमा श्रीलंका टाट पल्टिएको भनेर चर्चा हुन्थ्यो। तर, नेपाल आउने श्रीलंकालीको भने कमी देखिएको छैन।
मुलुक संकटमा भए पनि घुमन्तेहरूलाई त्यसले असर नगर्ने र निरन्तर पर्यटन गतिविधिमा संलग्न हुन्छन् भन्ने दृष्टान्त श्रीलंकाले दिएको छ। समस्याको गहिराइ बुझ्ने र आफूअनुकूल मौका मिल्नासाथ घुम्न निस्किने श्रीलंकालीको स्वभाव बनेको छ।
श्रीलंकाले ७३ वर्षपछि बेहोरेको सबैभन्दा ठूलो आर्थिक संकटबाट अझै साधारण अवस्थामा फर्किएको छैन। यो संकटले श्रीलंकाको राजनीतिक अवस्थामा पनि उथलपुथल ल्यायो।
आर्थिक संकटले सर्वसाधारण नागरिकको जीवन कष्टकर बन्दै जाँदा राज्यको नेतृत्वमा रहेका राष्ट्रपतिसमेतले देश छाडेर भाग्नुपर्यो। यसबाट पनि श्रीलंकाको आर्थिक संकट कति गहिराइमा पुगेको थियो भन्ने कुरा अनुमान लगाउन सकिन्छ। हाल श्रीलंका यही संकटको खाडल पुर्न निरन्तर प्रयत्नशील छ।
यद्यपि, यसरी श्रीलंकाको आर्थिक संकटका विषयमा चर्चा गर्दै गर्दा त्यहाँका केही सूचकले भने फरक अवस्था देखाउँछ। त्यहीमध्येको एक हो, नेपालमा श्रीलंकाली पर्यटक आगमन।
क्षेत्रफलका हिसाबमा पनि नेपालभन्दा सानो श्रीलंकाको जनसंख्या १ करोड २० लाख छ। तर, नेपालभन्दा कम जनसंख्या रहेको श्रीलंकाबाट सन् २०२३ को १० महिनामा १७ हजार बढी पर्यटक नेपाल भित्रिसकेका छन्।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार श्रीलंकाबाट नेपालमा मासिक ४ हजारहाराहारीसम्म पर्यटक आउने गरेका छन्। २०२३ अक्टोबर अर्थात गत महिनामात्रै श्रीलंकाबाट २ हजार ५ सय ७ पर्यटक नेपाल घुम्न आए। जनवरीमा ३ सय ७, फेब्रुअरी २ हजार १ सय ७५ र मार्चमा ३ हजार ८ सय ९८ श्रीलंकाली नेपाल घुम्न आएका थिए।
यस्तै अप्रिलमा ७ सय ४७, मे ४ सय ७१, जुन ३ सय १९, जुलाई ४ सय ८४, अगस्ट ३ हजार ८ सय ५८ र सेप्टेम्बरमा ३ हजार ११ श्रीलंकाली पर्यटक नेपाल आएका थिए।
त्यसपछि गत महिना अक्टोबरमा मात्रै श्रीलंकाबाट २ हजार ५ सय ७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ। यी सबै गरी १० महिनाभित्र नेपालमा कुल १७ हजार ७ सय ७७ पर्यटक आएका छन्।
सामान्यतया नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक औसत ४४ अमेरिकी डलर खर्च गर्ने गरेको पाइन्छ। यसर्थ, श्रीलंकाली पर्यटकले नेपाल घुम्दा गर्ने खर्चमा पनि यसभन्दा धेरै फरक नपर्ने पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम बताउँछन्।
‘नेपाल आउने विदेशी पर्यटकले सामान्यतया ४४ डलर खर्च गर्ने गरेका छन्। श्रीलंकाबाट आएका पर्यटकले ठ्याक्कै यति नै गर्छन् भन्ने निश्चित तथ्यांक छैन,’ गौतमले क्यापिटल नेपालसँग भने, ‘तर, औसतरूपमा श्रीलंकाका पर्यटकले गर्ने खर्चमा र अन्य मुलुकका पर्यटकले गर्ने खर्चमा ठूलो अन्तर छैन भन्ने हाम्रो अनुमान छ।’
उनले टे«किङ, हाइकिङ लगायतमा श्रीलंकाली पर्यटकको आकर्षण राम्रो रहेको बताए। ‘पछिल्लो समय नेपालमा श्रीलंकाबाट आउने पर्यटकको अवस्था राम्रो छ। यसको ग्राफ निरन्तर बढ्दै पनि गएको छ,’ गौतम भन्छन्, ‘अहिले हामीले ५० प्रतिशत अकुपेन्सीमा काम गरिरहेका छौं। केही नीतिगत कुरा र समस्या अवश्य छन्। यसलाई सुधार गरे थप पर्यटक भित्र्याउन सक्छौं।’
नेपाल पहिलेदेखि नै श्रीलंकाली पर्यटकको एक महत्वपूर्ण गन्तव्यका रूपमा रहेको देखिन्छ। २०२२ मा ४ हजार ६ सय ६ श्रीलंकाली पर्यटक नेपाल भित्रिएका थिए। यो वर्ष जनवरीमा ५४, फेब्रुअरी ७४, मार्च १ सय ७५, अप्रिल २ सय ९७, मे १ सय ९४, जुन २ सय ३, जुलाई २ सय १९ र अगस्टमा २ सय ३२ आएका थिए।
यस्तै सेप्टेम्बरमा ५ सय ७३, अक्टोबर ९ सय १, नोभेम्बर १ हजार १८ र डिसेम्बरमा ६ सय ६६ गरी ४ हजार ६ सय ६ श्रीलंकाली पर्यटक नेपाल भित्रिएको तथ्यांक पर्यटन बोर्डमा छ।
तथ्यांकअनुसार २०२१ मा ४ सय ६३ र २०२० मा १३ हजार ३ सय २८ श्रीलंकालीले नेपाल घुमेका थिए।