काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वअर्थतन्त्र समस्याग्रस्त बन्दै गएको अवस्थामा नेपालमा भने लगानीको वातावरण सिर्जना हुन थालेको बताएका छन्।
अर्थमन्त्री महतले काठमाडौंमा आयोजित दुई दिने एसियास्तरीय ‘एसियन बैंकर्स सम्मेलन’ मा नेपालको जलविद्युत क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी प्रतिबद्धता जनाएको बताएका हुन्।
‘अन्तराष्ट्रियरूपमा नै अर्थतन्त्रले एकपछि अर्को समस्या झेलिरहेका छन्, जसबाट नेपाल पनि बच्न सकेको छैन, तर यस्तो अवस्थामा पनि नेपालमा एफडिआईको प्रबल सम्भावना छ,’ सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘त्यसमा हाइड्रोपावर क्षेत्रमा लगानी सम्भावना राम्रो छ। भारतले नै १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रतिबद्धता गरेसँगै विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा ठूला परियोजनामा लगानी गर्ने प्रतिबद्धता गरिसकेको छ।’
अर्थमन्त्री महतले रुस–युक्रेन युद्ध, कसिलो मौद्रिक नीति र मुद्रास्फीतिको चपेटामा परेर नेपालको अर्थतन्त्र कमजोर बन्न पुगेको बताए। ‘उच्च ब्याजदरले ग्रोथमा संकुचनमात्रै भएको छैन, लगानीकर्ताको कन्फिडेन्ट पनि कमजोर भएको छ,’ उनले भने।
कर्जा असुलीमा समस्या हुँदा नेपालका बैंकहरूमा खराब कर्जा (एनपिएल) बढेको नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले बताए।
‘नेपाली बैकिङले कोभिडपछि कर्जा असुलीमा चुनौती भोगिरहेको छ। जसले एनपिएल बढिरहेको छ,’ गभर्नर अधिकारीले बैंकर्स संघद्वारा आयोजित एसियन बैंकर्स सम्मेलनमा भने, ‘केही समयअघिको रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुँदा नेपालमा पनि यसको प्रभाव पर्यो, कोभिडपछि विश्व बैंकिङ नै चुनौतीपूर्ण बन्दै जानु पछिल्लो समय इजरायल र हमास युद्धको प्रभाव पनि हो।’
अधिकारीका अनुसार विश्वअर्थतन्त्र खस्किँदा नेपालमा थप एनपिएल बढ्यो तर यस्तो समस्या विश्वका अन्य देशमा एनपिएल ५ प्रतिशतमाथि हुँदा नेपालको ३ प्रतिशतहाराहारी हुनु भनेको धेरै होइन।
पछिल्लो समय नेपालमा कर्जा असुलीमा समस्या आउँदा नै एनपिएल बढेको भए पनि अन्य एसियाली देशका बैंकको एनपिएल व्यवस्थापकीय अवस्थामै रहेको उनको भनाइ छ।
तै पनि नेपालमा कर्जा विस्तारले आर्थिक वृद्धिमा योगदान दिन नसकेको उनले स्वीकारे। आर्थिक वृद्धिको तुलनामा कर्जा विस्तार उच्च भएको उनले बताए।
नेपाल बैंकर्स एसोसिएनद्वारा बिहीबारबाट काठमाडौंको होटल सोल्टीमा आयोजित सम्मेलन उद्घाटन अर्थमन्त्री महतले गरे।
सम्मेलनमा एसियाली क्षेत्रको बैंकिङको वर्तमान अवस्था र आगामी बाटोलगायत विषयमा छलफल हुने संघ अध्यक्ष सुनिल केसीले जानकारी दिए।
सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ । शुक्रबार सम्पन्न हुने सम्मेलनमा २५ देशका बैंकरहरू सहभागी छन्।