पोखरा। पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन्। अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो।
उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो। व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिएका हुन्। आदेशमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिनुभयो। “हामी निकै आजित भइसकेका थियौं, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौँ। आज बल्ल माग सम्बोधन भएको छ। अब कार्यावन्यनको पर्खाइमा छौँ।” प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए। “यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन, यसअघि उनीहरुलाई बाधा पुगेको थियो”, उनले भने।
यसैगरी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए। “व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छौं। तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ”, उहाँले भने। आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालिन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ। रासस