काठमाडौं। सामसङ मोबाइलदेखि साङयोङ गाडीसम्म आयात गर्दै आएका व्यवसायी दीपक मल्होत्रा घरजग्गा व्यवसायमा कहलिएको नाम हो।
काठमाडौं कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरी सञ्चालन गरिरहेका उनै मल्होत्राले अहिले घरजग्गा व्यवसायलाई नेपालको पहिलो पब्लिक कम्पनी बनाएका छन्।
घरजग्गाको व्यापारमा सर्वसाधारणलाई पनि अपनत्व दिलाएर मालिक बनाउनुपर्छ भन्ने उद्देश्यसाथ मल्होत्राले पहिलो पब्लिक कम्पनी `रियल इस्टेट म्यानेजमेन्ट लिमिटेड´ दर्ता गरेका हुन्।
‘मुलुकमा आर्थिक मन्दी नआएको भए दुई वर्ष अघिबाटै काम सुरु गर्ने योजना बुनेको थिएँ,’ कम्पनी अध्यक्ष मल्होत्राले भने, ‘आर्थिक गतिविधि बिस्तारै चलायमान हुन थालेसँगै अब तीव्र गतिमा काम अगाडि बढाउन लागेको छु।’
हाउजिङ, अपार्टमेन्ट र प्लटिङसहित रियल इस्टेटसँग सम्बन्धित सबै क्षेत्रको काम गर्ने गरी कम्पनी स्थापना गरेको उनले बताए।
तीन वर्ष निरन्तर नाफा कमाएर बुक बिल्डिङमार्फत प्राथमिक सेयर (आइपिओ) जारी गर्ने योजना मल्होत्राले बनाएका छन्।
१८ लगानीकर्ता रहेको कम्पनीको पुँजी ५ अर्ब रूपैयाँबराबर छ। घरजग्गा व्यवसायलाई एकीकृत गरी व्यवस्थित तवरले बिक्री वितरण गर्ने उद्देश्य राखेर कम्पनी खडा गरेको उनको भनाइ छ।
कम्पनीले विराटनगरमा सयौं रोपनी जग्गा लिने योजना अगाडि बढाए पनि घरजग्गामा छाएको मन्दीका कारण पछि हटेको उनले बताए।
‘तत्कालका लागि विराटनगरमा जग्गा किन्ने अभियान रोकिएको छ,’ अध्यक्ष मल्होत्राले भने, ‘सुरुमा भैंसेपाटीमा रहेको ५८ रोपनी जग्गाबाट सुरु गर्न लागेका छौं।’
अहिले समय बिग्रिएकाले भैंसेपाटीमा पहिलो चरणमा १८ रोपनी क्षेत्रफलको जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजना बनाएका छन्। ६८ रोपनी जग्गामध्ये पहिलो चरणमा १८ रोपनीमात्र प्लटिङ गरेर बेच्ने गरी काम सुरु भइसकेको छ।
दुई महिनाभित्र जग्गा प्लटिङ सकाएर आक्रामकरूपमा बिक्री सुरु गर्ने उनले बताए। सुरुमा हाउजिङ बनाएर बेच्ने गरी योजना बनाइए पनि पहिलो चरणमा जग्गा बिक्री गर्ने र दोस्रो चरणमा हाउजिङ बनाएर बेच्ने उनको भनाइ छ।
प्लटिङ प्रति आना ३८ देखि ४० लाख रुपैयाँसम्मको हुनेछ। तयार भएको प्लटिङमा बाटो, ढल, बिजुली र पानीसहितको सुविधा हुनेछ। १८ रोपनीमा ६४ प्लट हुने छ।
प्लटमा घर निर्माणका लागि नक्सासमेत कम्पनीले नै बनाइदिने छ। जग्गाभित्र एकरूपता ल्याउन सकेसम्म एकै डिजाइनका घर बनाउने गरी बिक्री गर्न लागिएको उनको भनाइ छ। कुनै व्यक्तिले आफ्नो घर बनाउने समय नभएको खण्डमा आफूहरूले नै बनाउनेसमेत उनले बताए।
दोस्रो चरणमा धापाखेलमा रहेको ६४ रोपनी क्षेत्रफलको जग्गामा हाउजिङ बनाउने योजना उनकाे छ। पब्लिक कम्पनीमार्फत नै त्यस क्षेत्रमा हाउजिङ बनाउने तयारीमा लागेको र नक्सा बनाउने काम भइरहेकाले केहि ढिलाइ भइरहेको उनले बताए।