काठमाडौं। हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ। ठूलादेखि साना पसलमा फूल, भाइ मसला, कपडा, झिलिमिली बत्ती खरिद गर्नेको घुइँचो छ।
विद्युतीय सामाग्रीका लागि प्रसिद्ध काठमाडौंको महाबौद्धलगायत स्थानमा अहिले झिलिमिली बत्ती किन्न र बेच्न भ्याइनभ्याइ छ।
उपत्यका बाहिरका अधिकांश व्यापारीले झिलिमिली बत्ती किनेर लगिसकेका छन्। अहिले काठमाडौं उपत्यका र आसपासका क्षेत्रका व्यापारीले झिलिमिली बत्ती लगेकोे जय पञ्चकन्यामाई ट्रेडर्स महाबौद्धका होलसेल व्यापारी कृष्ण रेग्मी बताउँछन्।
‘टाढाका व्यापारीले त लगिसके, अहिलेको व्यापार भनेको यहीँका व्यापारी र खुद्रा ग्राहकले धानेको छ’ उनले भने।
यस वर्ष बत्तीको व्यापार पहिलेजस्तो नभएको न्यु कालिञ्चाेक म्युजिक एन्ड एसोसरिज कलेक्सन महाबौद्धका व्यापारी कृष्णराज श्रेष्ठ बताउँछन्।
‘पहिले-पहिलेभन्दा झिलिमिली बत्तीको व्यापार ४० प्रतिशतसम्म घटेको छ। सामान स्टक रहने डरले किनेकै मूल्यमा बेचिरहेको छु,’ उनले क्यापिटल नेपालसँग भने।
आर्थिक मन्दी, युवा विदेशमा हुनु, मान्छेसँग पैसा नहुनुलगायत कारण व्यापार घटेको उनको भनाइ छ।
बजारमा सयौंथरीका लाइट भए पनि सीमितमात्र बढी बिक्री हुने गरेको व्यवसायीको भनाइ छ। हाल एलइडी लाइट, रकेट लाइट, पाइप लाइट, ओम लाइट, लोटस लाइट, बल्ब डिस्कोलाइट लगायत झिलिमिली बत्ती धेरै बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए।
‘प्रत्येक वर्ष नयाँ-नयाँ झिलिमिली बत्ती आउँछन्। केही वर्षाैंसम्म ग्राहकको रोजाइमा पर्छन् भने केही बेच्न पनि गाह्रो हुन्छ। यो वर्ष पनि विगतमा झैं ८/१० प्रकारका बत्ती अलि धेरै बिक्री भइरहेको छ,’ उनले भने।
यस्तो छ झिलिमिली बत्तीको मूल्य
एलइडी लाइट (१०० देखि ३०० एलइडी)– २ सयदेखि ५ सय रुपैयाँ (५० मिटर)
एलइडी लाइट– १ हजार ५ सय रुपैयाँ रकेट लाइट (१०० देखि ३०० एलइडी) –२ सय ५० देखि ५ सय रुपैयाँ
पाइप लाइट– ७५० देखि ८ सय रुपैयाँ
लेजर लाइट– ७ सयदेखि २ हजार रुपैयाँ
दियो लाइट– २ सय रुपैयाँ
ओम लाइट – ७ सय रुपैयाँ
लोटस लाइट–३ सय ५० रुपैयाँ
बल्ब डिस्को लाइट – १ सय ५० रुपैयाँ
पानी हाल्ने दियो लाइट– ५० रुपैयाँ (एक पिस)
माथि उल्लेखित मूल्य केही व्यापारीसँगको कुराकानीका आधारमा लेखिएको हो। पसलअनुसार मूल्य केही फरक पर्न सक्छ।