काठमाडौं। पछिल्लो केही वर्षयता नेपालमा विद्युतीय भुक्तानी अर्थात डिजिटल कारोबार बढ्दो छ। डिजिटल कारोबार बढ्दै गए पनि यसको सुरक्षित प्रयोग र सदुपयोगबारे पूर्णजानकार व्यक्ति कमै पाइन्छन्।
हामीलाई लाग्न सक्छ डिजिटल बैंकिङसम्बन्धी राम्रो जानकारी भएर यसमा अभ्यस्त हुनेमध्ये बैंकर पछि कलकार पनि हुन्। तर, नेपालका चर्चित कलकारमध्येकी नायिका प्रिंयका कार्कीलाई पनि डिजिटल बैंकिङसम्बन्धी पूर्ण जानकारी थिएन।
नायिका कार्कीलाई उनकै पसलमा भएका खेलौना (गुडिया) ले सुरक्षित डिजिटल कारोबार गर्न सिकाएपछि मात्रै उनी यसबारे पूर्ण जानकार हुँदै कारोबार गर्न तयार भएकी छिन्।
नायिका कार्कीलाई आफ्नै पसलमा बेच्न राखिएको खेलौनाले सुरक्षितरूपमा डिजिटल्ली बैंकिङ कारोबार गर्नेबारे विस्तृत पाठ सिकाएको सिटिजन्स बैंकद्वारा सार्वजनिक सचेतनामूलक भिडियो सामग्रीमा देख्न सकिन्छ। बैंकले सुरक्षित ढंगले डिजिटल कारोबार गर्ने विषयमा चेतनामूलक भिडियो सार्वजनिक निर्माण गरेको छ। जसमा मुख्य पात्रका रूपमा नायिका कार्कीले अभिनय गरेकी छिन्।
उक्त भिडियोमा नायिका कार्की बच्चाहरूको खेलौना पसलको साहुनीको भूमिकामा छिन्। सिटिजन्स बैंकमा भर्खरै खाता खोलेर एटिएमलगायत अन्य डिजिटल बैंकिङ सेवा सुविधा सुरु गरेकी खेलौना पसलकी साहुनीको नाम सोबिता हो। सोबितालाई सिटिजन्स बैंकले उनको एटिएम कार्ड तयार भएको र बैंकमा लिन आउन अनुरोध गर्दै फोन गर्छ।
बैंकबाट कार्ड विभागको कर्मचारी परीक्षाले खेलौना पसलको साहुनी सोबितालाई फोन गर्छिन् र भन्छिन्, ‘सोबिता म्याम म सिटिजन्स बैंकबाट परीक्षा बोल्दैछु, तपाईंको एटिएम कार्ड तयार भएको छ, समय मिलाएर बैंकमा रिसिभ गर्न आउनुस् है।’
आफ्नो एटिएम कार्ड तयार भएको र अब आफूले पनि सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरेर सबै कारोबार डिजिटल्ली गर्छु भन्दै सोबिता निर्जीव खेलौनालाई सुनाउँदै रमाउन थाल्छिन्। तर, साहुनी सोबिता पसलमा बिक्री गर्न राखेको खेलौनाले सुरक्षित डिजिटल कारोबारबारे प्रश्न गरेपछि झसंङ्ग हुन्छिन्।
सिटिजन्स बैंकद्वारा निर्मित सुरक्षित डिजिटल बैंकिङ कारोबारसम्बन्धी भिडियोमा गुडिया र साहुनी सोविता बीच भएको संवादको सम्पादित अंश :
सोविता : तिमीले कुरा सुन्यौ, मेरो एटिएम कार्ड रेडी भयो रे!
(साहुनी सोबिता आफ्नो मोबाइलमा हेर्दै) : अब म पनि मोबाइल बैंकिङ एप डाउनलोड गर्छु, अनि त्यसपछि त सबै कारोबार डिजिटल्ली गर्न मिलिहाल्छ नि!
(एक्कासि कतैबाट आवाज आउँछ) : सबै कारोबार त डिजिटल्ली त गर्ने तर डिजिटल्ली आफ्नोे पैसाको सुरक्षा गर्न आउँछ?
छक्क पर्दै खेलौना पसलकी साहुनी सोबिता को बोल्या हँ भर्खर? भन्दै दायाबाँया हेर्छिन्।
फेरि, अज्ञात आवाज साहुनीको कानमा पर्छ ः छक्क पर्नै पर्दैन। हामीलाई यति माया गर्ने साहुनीको पैसा सुरक्षित राख्न हामीले पनि त हेल्प गर्नुपर्यो नि!
साहुनी सोबिताले बल्ल पत्ता लगाउँछिन् उक्त अज्ञात आवाज खेलौनाबाट आएको हो भनेर।
तब साहुनी सोबिता : गुडियाहरू कसरी बोल्छन्?
खेलौना गुडिया : कसरी बोलेभन्दा पनि पनि के बोलिरहेका छन् त्यो चाँही सुन्नुहोस् न!
अर्को गुडिया : हेर्नुस् साहुनी, डिजिटल मनीले पैसा कारोबार त सजिलो बनाएको छ तर सँगसँगै अझ बढी सुरक्षित पनि हुनुपर्ने बनाएको छ नि!
सोबिता : जस्तै, भन्न के खोजेको?
गुडिया : अनलाइन बैंकिङ लिनुभन्दा अगाडि यसका विषयमा सबै जानकारी लिनुपर्छ। था छ, था छ, भन्दै जान्ने पल्टिनु आफ्नै लागि घाटा हुन सक्छ।
अर्को गुडिया : अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको अधिकारिक वेबसाइटबाट मात्रै प्रयोग गर्ने र अधिकारिक एपमात्रै डाउनलोड गर्नुपर्छ।
अर्को गुडिया : अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटलाई पासवर्ड, पिन, प्याट्रन वा बायामेट्रिकले अनिवार्य लक गर्ने गर्नुपर्छ। बुझ्नु भो नि साहुनी?
गुडिया : अनलाइन बैंकिङको युआरएल सधैं टाइप गर्नुपर्छ। कहिल्यै पनि ई–मेल लिंक वा अन्य कुनै पनि हाइपरलिंक क्लिक गर्नु हुँदैन।
गुडिया : अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर अथेन्टिकेसन जस्तै टु फ्याक्टर अथेन्टिकेसन, मोबाइल नम्बर, ओटिपी, फिंगर प्रिन्ट आदिको प्रयोग गर्नुपर्छ।
सोबिता : अनि गुरुहरू...यो अनेक किसिमका नोटिफिकेसन अलर्ट चाहिँ लिने कि नलिने?
गुडिया : सबै किसिमका अलर्ट सेवा लिनुपर्छ। त्यसले तपाईंको खातामा हुने कुनै पनि किसिमको गतिविधिका सूचना तुरुन्त दिने गर्छ।
सोबिता : अ केही छ कि? कि सकियो?
गुडिया : आफ्नो बैंकको स्टेटमेन्ट समय–समयमा चेक गरिरहनुपर्छ र आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पिन कोड, सिभिसी, ओटिपी, एमपिन, ट्रान्जेक्सन पिन कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन, चाहे त्यसले बैंककै कर्मचारी नै हुँ भनेर फोन किन नगरोस्।
गुडिया : अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र बेला–बेलामा परिवर्तन गरिरहनुपर्छ। त्यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नुहुँदैन।
गुडिया : सकेसम्म सार्वजनिक वाइफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङ प्रयोग गर्नुहुँदैन। यदि गरिहाले लगआउट वा साइनआउट भए नभएको डबल चेक गर्नुपर्छ।
गुडिया : अनि अन्तिम कुरा, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अपटुडेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिए आफ्नोे बैंकलाई खबर गरिहाल्नुपर्छ र एटिएम कार्ड हराएको खण्डमा चाहिँ तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनुपर्छ।
गुडिया : यति कुरा पालना गर्यो भने आफ्नोे कारोबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिन्छ नि!
साहुनी : ल अब मैले यस्ता कुरामा एकदम ध्यान पुर्याउने भए है।
(खेलौनालाई सिरानी बनाएर पसलकै टेबलमा टाउको राखेर निदाएकी साहुनी सोबिता निद्राबाट ब्युँझिन्छिन्। खेलौनाहरूसँग आफूले गरेको संवाद सबै सपनामा रहेको सम्झिँदै सुरक्षित बैंकिङबारे मनन गर्छिन्।)
सिटिजन्स बैंकद्वारा तयार पारिएको उक्त सचेतनामूलक भिडियोमा खेलौनाले साहुनी सोबितालाई मात्रै नभएर उक्त भिडियो हेर्ने सबै दर्शकलाई सुरक्षित डिजिटल बैंकिङ कारोबार गर्न सिकाएको छ।
बैंकका कर्मचारीले कहिल्यै पनि कुनै पनि माध्यमबाट ओटिपी, ट्रान्जेक्सन पिनलगायत खातावालाको व्यक्तिगत बैंकिङ विवरण नमाग्ने भिडियोमा खेलौना बताउँछन्। यदि कसैले माग्छ भने त्यो सरासर ठगी हो भनेर बच्नुस् भनेर ती खेलौनाले सम्पूर्ण भिडियो हेर्ने दर्शकलाई सुझाएका छन्।