केही समयदेखि नेपालको अर्थतन्त्र गम्भीर समस्यामा छ। अर्थतन्त्रको वाह्य क्षेत्र सुधारिए पनि आन्तरिक अर्थतन्त्र नराम्ररी प्रभावित भइरहेको छ।
मागमा उच्च गिरावट, न्यून कर्जा प्रवाह, उच्च ब्याजदर, आन्तरिक उत्पादनमा ह्रास, सरकारी खर्चमा उच्च गिरावट आउँदा आन्तरिक अर्थतन्त्र समस्यामा धकेलिएको छ।
अचाक्ली मूल्य वृद्धि र त्यसैका कारण उपभोगमा ह्रास आएको छ। उपभोग खुम्चिनेबित्तिकै आयात कटौती र त्यसैका कारण सरकारी राजस्व संकलनमा समस्या उत्पन्न हुँदा समग्र अर्थतन्त्र सम्हाल्न नसक्ने अवस्थातर्फ गइरहेको छ।
देशको आर्थिक अवस्था मध्यनजर गर्ने हो भने व्यापार–व्यवसाय र आर्थिक गतिविधिमा ह्रास आइरहेको छ। बजारमा रौनकता हराएको छ। कुनै समय व्यस्त रहने व्यवसायीहरू आज हतास मनस्थितिमा छन्।
काठमाडौंका मुख्य व्यापार हुने क्षेत्र वा स्थानका अधिकांश सटर ‘बिक्रीमा’ लेखेको देखिन्छ। अर्कातर्फ, उद्योगधन्दा तथा कलकारखाना उत्पादन क्षमताको ३० देखि ४० प्रतिशतमा खुम्चिएका छन्।
व्यवसायिक क्षमताको ६० प्रतिशत उपयोग हुनै सकेको अवस्था छैन। सोही अनुपातमा कारोबारसमेत घटेको छ। सुस्ताउँदै गरेको व्यापार–व्यवसाय, उद्योगधन्दा र कलकारखानाका हालतले हाम्रा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको दर उकालो यात्रामा छ।
आर्थिक मन्दीको चपेटामा सबैभन्दा बढी व्यापारिक प्रतिष्ठानहरू परेका छन्। बैंकहरूले पहिलो त्रैमासिक अवधिमा प्रकाशित गरेको आर्थिक प्रतिवेदनमा यसको असर देखिएको छ। यसैबाट प्रष्ट हुन्छ– व्यवसायीहरू त्रसित अवस्थामा छन्। बैंकको भविष्य पनि जोखिमपूर्ण अवस्थातिर धकेलिँदै गएको छ।
भविष्यमा आइपर्ने चरम आर्थिक प्रभावको कल्पनाले मात्र पनि व्यवसायीहरू मानसिक तनावमा पर्न थालेका छन्। यसरी नै व्यापार–व्यवसायमा नकारात्मक असर पर्दै जाने, सटरहरू बन्द हुँदै जाने हो भने आगामी दिनमा बैकका हरेक कर्जा निष्क्रिय कर्जामा परिणत हुने खतरनाक परिस्थितिको सामना निकट भविष्यमा हामी सबैले गर्न तयार हुनुपर्छ।
निक्षेपकर्ताले आफनो खुन/पसिना बगाएर जम्मा गरेको पैसा ऋण लगानी भएको र त्यो ऋण निष्क्रिय कर्जामा परिणत हुँदा बैक र वित्तीय संस्थाप्रति सहकारीको जस्तै नकारात्मक अवधारणा विकास हुन थालिसकेको छ।
आजको परिवेशमा बैंकको निष्क्रिय कर्जाको स्तर वृद्धि हुनुमा यहाँ देखापरेको आर्थिक मन्दी त प्रमुख कारण हो नै। तर, यसको अर्को महत्वपूर्ण तथा ध्यानयोग्य पक्ष केही बैंक तथा वित्तीय सस्थाको संकुचित सोच र ऋणीप्रतिको हेपाहा प्रवत्तिसमेत हाबी भएको छ।
चरम आर्थिक मन्दीले व्यवसाय ठप्प भएर थलापरेका व्यवसायीले भाखाभित्र साँवा र ब्याज तिर्न नसक्दा केही बंैकले जसरी पनि ऋण असुल गर्ने कठोर नीति अवलम्बन गरेकाले के साना, के मझौला, के ठूला सबै ऋणी मानसिक तनाव झेलिरहेका छन्।
यसले भोलिका दिनमा व्यवसायीको उद्यमशीलतामा ह्रास आउने खतरनाक परिस्थिति सामना गर्नुपर्ने हुन्छ। परिणामस्वरूप भए÷बचेका व्यवसायी पनि व्यवसाय बन्द गरी विदेश पलायन हुने अवस्था बनेका केही घटना हामीसामु छर्लङ्गै छन्।
केही बैंकको यस्तो प्रवृत्तिले दैनिकरूपमा निष्क्रिय कर्जा अनुपात घटनुको साटो अझ बढ्दै जाने देखिन्छ। यस्तो संकटको घडीमा बैंक तथा वित्तीय निकायले परिस्थितिअनुसार संकटग्रस्त व्यवसायीलाई सहयोग गरी उत्थान गर्नेतर्फ सोच्न अपरिहार्य भइसकेको छ।
यहाँ मेरो आशय बैंकबाट ऋण लिएका ऋणीले बंैकको साँवा र ब्याज नतिर्ने भन्ने होइन। ऋण लिएपछि अनिवार्यरूपमा साँवा र ब्याज तिर्नुपर्छ। तिर्दिनँ भन्नेलाई कानुनी कठघरामा उभ्याउनेदेखि उसको सम्पत्ति बेचेर पनि असुलउपर गर्नुपर्छ।
मात्र केही बैंकका कर्मचारीको अदूरदर्शिता र अपरिपक्व सोच विकसित हुँदा बैंकिङ र व्यावसायिक क्षेत्र नै बदनाम हुन थालेको छ। खराब मानसिकता भएका कर्मचारीले ऋण र ब्याज असुलीका नाममा देशको सम्पूर्ण अर्थतन्त्र, बैंकिङ प्रणाली र यसको अभिन्न अंग व्यवसायलाई नै धराशयी बनाइरहेका उदाहरण प्रशस्त देखापरेका छन्।
बैकिङ क्षेत्रको नियमक निकायले गम्भीर परिस्थितिको गम्भीरतापूर्वक नियमन गरी कठोर कारबाही गरी व्यवसायप्रति सौहाद्र्रपूर्ण, व्यावहारिक र समय परिस्थितिअनुसार कार्य गरे/नगरेको कडाइसाथ अनुगमन गरी व्यवसाय र बैंकलाई कठिन अवस्थाबाट बाहिर ल्याउनुपर्छ।
यस्तो परिस्थितिमा केही नकारात्मक सोच भएका व्यक्तिले बंैकले गरेको गलत व्यवहारको फाइदा उठाइ अनुचित चलखेल गर्न खोजेका छन्। बजारमा हल्ला गर्ने केही खराब तत्वले शिर उठाउन थालिसकेका लक्षणसमेत देखिन थालेका छन्।
यसको प्रमुख कारण विगतमा केही बैंकले गरेका गैरजिम्मेवारपूर्ण कार्यको परिणाम नै हो। तसर्थ, यस विषयमा आर्थिक मन्दीको मारबाट हामी व्यवसायी, बैंक र सम्बन्धित सरोकारवालाको संयुक्त सहकार्य र सहप्रयासबाट मात्र आपसी हित हुनेछ।
त्यस्तै व्यवसाय प्रवद्र्धन भई बैकहरूको ऋण र ब्याजसमेत असुलीमा सहयोग पुग्ने छ। यस विषयमा हामी सबै सरोकारवालाले सजग भई एकअर्काको अस्तित्व स्वीकार गरी सहकार्य गर्नु अत्यन्त आवश्यक छ।